प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने पाँच दलबीच सहमति जुटे लगतै बस्ने मन्त्रिपरिषद् बैठकबाट राष्ट्रियसभाको निर्वाचन तथा प्रदेश प्रमुख नियुक्ति र प्रदेशको अस्थायी राजधानी तोक्ने सरकारले तयारी गरेको छ।
यसअघि निर्वाचन लगत्तै प्रदेश प्रमुख तोक्ने तयारीमा जुटेको सरकार वाम गठबन्धनका नेताहरूको विरोधपछि पछि हटेको थियो।
कानुनी रूपमै प्रदेश प्रमुख तोक्नुपर्ने बाध्यता आएपछि सरकारले सहमति प्रयास थालेको हो। कानुन अनुसार प्रदेशको निर्वाचन परिणाम प्रदेश प्रमुख र प्रतिनिधिसभाको राष्ट्रपतिलाई बुझाउनुपर्छ ।
निर्वाचन आयोगले प्रदेश प्रमुख तोक्न ताकेता गर्दै आए पछि प्रधानमन्त्री शेरबहादुर देउवाले पनि राजनीतिक सहमति खोज्न मंगलबारदेखि परामर्श थालेका थिए।
बिहान ९ बजे बालुवाटारमा बोलाइएको बैठकमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरम नेपालका शीर्ष नेता सहभागी हुनेछन्।
