प्रकाशित मिति : शनिबार, पुस २९, २०७४
डा. गोविन्द केसीले जारी १४ औं अनशन शनिबार बिहान तोडेका छन्। शुक्रबार राती सरकारसँग ५ बुँदे सम्झौता गरेका केसी बिहान १० बजे अनशन तोडेका हुन्।सर्वोच्च अदालतले चिकित्सा शास्त्र अध्ययन संस्थानको डिनमा पुन: बहाली गर्ने निर्णय गरेपछि त्यसको खारेजी र सो निर्णय गर्ने प्रधानन्यायाधिश गोपाल पराजुलीकोसमेत राजीनामा माग गर्दै केसी पुस २४ गतेदेखी अनशनमा बसेका थिए।
केसीले सिराहा नथुनिया मेचीको हातबाट जुस पिउँदै अनसन तोडेका थिए। अनशन तोडेपछि बोल्दै डा. केसीले सहमतिको पूर्ण पालना नभएसम्म खबरदारी गरिरहने बताए। उनले फागुन ८ गते सम्म प्रधान न्यायाधिश गोपाल पराजुलीले आफ्नो पदबाट राजीनामा नदिए १५ औं अनसनमा जाने घोषणा समेत गरेका छन।।
मिति २०७४।९।२८ गते नेपाल सरकारका तर्फबाट स्वास्थ्य मन्त्री दीपक बोहरा र सत्याग्रहरत डा गोविन्द केसीबीच भएको सम्झौताः
१) चिकित्सा शिक्षा अध्यादेशको दफा ५ बमोजिमको चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिन दफा २३ बमोजिमको सिफारिस समिति आजको मितिले ७ दिनभित्र गठन गर्ने ।
२) श्री सर्वोच्च अदालतको मिति २०७४।९।२३ गतेको मुद्दा नं ०७०–WO–०५७१ को उत्प्रेषण मुद्दामा आदेश हुँदा “जहाँसम्म हाल नियुक्त भएका प्रा डा जगदीश प्रसाद अग्रवालको नियुक्ति छ, सो नियुक्तिलाई गैर कानुनी हो भन्ने पुष्टि गर्ने आधार नभएको” भनी गरिएको आदेश अनुसार नै निज डिन अग्रवालको नियुक्ति वैध भएको हुँदा निजको नियुक्तिलाई नै निरन्तरता दिन त्रिभुवन विश्वविद्यालयका कुलपतिमार्फत सम्बन्धित निकायलाई निर्देशन दिने ।
३) त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को खोसिएको अधिकार फिर्ता गर्ने सम्बन्धमा यस अगाडि गरिएका सम्झौताहरु कार्यान्वयन गर्न त्रिभुवन विश्वविद्यालयका कुलपतिले यथाशीघ्र र यथोचित कदम लिने । आइओएमको अधिकार फिर्तासम्बन्धी त्रिवि नियमावली संशोधन गर्नका लागि तत्काल त्रिवि सभा (सिनेट)को विशेष बैठक बोलाउने ।
४) त्रिवि शिक्षण अस्पताल सुधार सम्बन्धी मागसम्बन्धमा त्रिवि शिक्षण अस्पतालको भौतिक पूर्वाधारको सुधार र अभिवृद्धि, जनशक्तिको उचित व्यवस्था, सर्वसाधारणलाई दिइने सेवा र सुविधामा बिस्तारका लागि आइओएम डिन कार्यालयले राख्ने बिस्तारित प्रस्तावमा नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले आवश्यक आर्थिक व्यवस्था गर्ने ।
५) डा गोविन्द केसीले आमरण अनशनको कार्यक्रम अन्त गर्ने ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij