प्रकाशित मिति : शुक्रबार, माघ १२, २०७४
ललितपुर–ललितपुरको ग्वार्कोबाट मंगलबजारतिर आउने ठुला सवारी साधनलाई प्रवेश निषेध गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको निर्देशनमा लुभु, लामाटार, इमाडोल लगायतका क्षेत्रबाट आउने गाडीलाई ग्वार्को हुँदै सातदोबाटो तर्फबाट पठाउने गरी मंगलबजारतर्फ जान निषेध गरिएको ट्राफिक इन्सपेक्टर सिताराम हाछेथुले जानकारी दिए ।
‘ग्वार्को चोकबाट माथि मंगलबजार आउने सडकको चौडाई १२ दशमलव ५ फिट मात्रै छ’ इन्सपेक्टर हाछेथुले भने, ‘ग्वार्को हुँदै सातदोबाटोतिर लाग्ने बाटो ८ लेनको बनिसकेको हुनाले सो क्षेत्रको जाम कम गर्नका लागि सवारी प्रवेश निषेध गरेका हौं ।’
ट्राफिक प्रहरी परिसर ललितपुरका अनुसार लगनखेलबाट मंगलबजार हुँदै ग्वार्को निस्किने एकतर्फी रुट भने खुल्ला गरिएको छ । बाटो विस्तार नभएको कारणले ग्वार्कोबाट कुमारीपाटी तथा मंगलबजार जाने सार्वजनिक सवारीहरु अब सातदोबाटोबाट दायाँ मोडेर जानुपर्नेछ । तर, ग्वार्को हुँदै मंगलबार निस्कने भित्री बाटोमा मोटरसाईकल र कार भने निषेध नगरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij