काठमाडौँ : पूर्व डिआइजी तथा प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद् नवराज सिलवाल आज एमाले नेता माधवकुमार नेपालसँग प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्।सरकारी कागजपत्र किर्तेको विषयमा सर्वोच्च अदालतको आदेश अनुसार प्रहरीले अनुसन्धान थालेपछि सिलवाल सम्पर्कविहीन भएका थिए।
यसअघि ललितपुर क्षेत्र नम्बर १ मा निर्वाचित सिलवालको फोटो आजै उनी निकट पत्रकारको फेसबुकमा देखिएको थियो।नेकपा एमालेको सरकार गठन र राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को अधिवेशन आह्वान लगत्तै उनी सार्वजनिक भएका हुन्।
मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपति भण्डारीले फागुन २१ गते अधिवेशन आह्वान गरेकी हुन्। निर्वाचित सांसदलाई अधिवेशन बोलाएको सूचना जारी भएपछि अधिवेशन अन्त्य नभएसम्मको अवधिभर पक्राउ गर्न नपाउने व्यवस्था रहेको छ।तर फौजदारी अभियोगमा संघीय कानुन अनुसार कुनै सदस्यलाई पक्राउ गर्न भने रोक छैन।
महानगरीय प्रहरी परिसर काठमाडौंले किर्ते अनुसन्धानमा गत बुधबार नै सरकारी वकिलको कार्यालयमा रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको थियो।परिसरमा नयाँ एसएसपी विश्वराज पोखरेल आएको दुई दिनमा नै प्रतिवेदन कार्यालयमा पेस गरिएको थियो।
प्रतिवेदन बुझाए पनि सरकरी वकिलको कार्यालयले प्रतिवेदन अपूरो भएको भन्दै मुद्दा दर्ता गर्नेबारे कुनै राय दिएको छैन। कार्यालयले राय दिन नसक्दा प्रतिवेदन अहिले सरकारी वकिलको कार्यालयमा नै थन्किएको छ।
आफूलाई प्रहरी महानिरीक्षक बनाउनु पर्ने दाबीसहित सिलवालले सर्वोच्च अदालतमा दायर गरेको रिट खारेजसँगै प्रहरी प्रधान कार्यालयले सिलवाललाई कानुन बमोजिम गोप्य रहनु पर्ने कार्यसम्पादन मूल्याङ्कन फाइल कीर्ते गरेको अभियोगमा अनुसन्धान गर्ने निर्णय गरेको थियो।
सर्वोच्व अदालतले आदेशको पूर्ण पाठमा सिलवालले नै फाइल कीर्ते गरेको देखिएको भन्दै यस विषयमा अनुसन्धान गर्न आदेश दिएको थियो।
यही फैसला अनुसार नै प्रहरीले गत पुस ५ गते कीर्ते गरेको अभियोगमा जाहेरी दर्ता भएको थियो। जाहेरी दर्ता गरेदेखि सिलवाल प्रहरीको खोजी सूचीमा छन्।
प्रहरीले उनीविरुद्ध डिफ्युजन नोटिस नै जारी गरेको छ।तर सरकार परिवर्तनसँगै उनीविरुद्धको मुद्दा अन्यौलमा परेको छ। अघिल्लो संसदमा तत्कालीन प्रतिपक्षी नेताका रुपमा ओली सिलवालको पक्षमा बोलेका मात्र थिएनन्,
सार्वजनिक कार्यक्रमहरुमा पनि सिलवालको बचाउ गरेका थिए।प्रहरी स्रोतका अनुसार ओलीले प्रहरी नेतृत्वलाई सिलवाललाई पक्राउ नगर्न निर्देशन दिइसकेका छन्।
सिलवालले देउवाले राजीनामा गरी ओलीले प्रधानमन्त्रीको शपथ लिएको दिन ट्विट गर्दै कानूनको धज्जी उडाएर आफ्नो स्वार्थपूर्ति गर्न जे पनि गर्न तैयार एउटा अधिनायकवादी पात्रको ज्यादतिबाट मुलुकले उन्मुक्ति पाएको लेखेका थिए।
केपी लोलीले बोलेपछि तरङ्ग मात्र ल्याउँदैनन् बोलेको पनि पूरा गरिछाड्छन् भन्ने गरिन्छ । सपना धेरै देख्ने र सपना पूरा गर्न एक्सनमा पनि जाने नेताको परिचय बनाएका ओलीले आइजीपी प्रकरणमा नवराज सिलवालमाथि अन्याय भएकोमा कडा अभिव्यक्ति दिइरहे ।
सिलवाल आइजीपी नबन्ने निश्चित भएपछि राजीनामा दिनु अगावै एमालेले सांसद बनाउने घोषणा समेत गरे । ओलीले बोलेपनि धेरैले विश्वास गरेका थिएनन् ।
कतिपयले समानुपातिकतर्फ नाम राख्नसक्ने अनुमान गरे ।तर, ओलीले प्रत्यक्षतर्फ प्रतिनिधिसभामा ललितपुर क्षेत्र नम्बर १ को उम्मेदवार बनाएरै छाडे ।
चुनावमा टिकट पाएपछि नवप्रवेशी सिलवाललाई जित हासिल गर्न कठिन ठानिएको थियो । उनका प्रतिष्पर्धी निवर्तमान सांसद तथा अर्थराज्यमन्त्री उदयशमशेर राणा हुनुले समेत सिलवालले जित्लान् भन्नेमा आशंका गरिएको थियो । राणाले ललितपुर क्षेत्र नम्बर १ मा विकास बजेट धेरै खन्याएका र राष्ट्रिय राजनीतिमा समेत छाएकाले हेभिवेट नेता मानिएको थियो ।
तर, धेरैको आशंकालाई मेट्दै सिलवालले छ हजार बढी मतान्तरले जित दर्ता गरे ।सिलवालले जितेपछि उनको राजनीतिक भविष्यबारे चर्चा हुन थालेको छ ।
ओलीले सिलवाललाई सांसद मात्र नभई गृहमन्त्री बनाउने घोषणा समेत गरेका थिए । ओलीको यही घोषणाले मतदातालाई प्रभावित पारेको थियो ।
भावी गृहमन्त्री ठानेर धेरै मतदाता उनीप्रति आकर्षित भए । त्यसमाथि उनीमाथि अन्याय भएको विषयले मतदातालाई प्रभावित पारेको थियो । जे बोल्यो त्यो गर्ने नेताको परिचय बनाएका ओलीले
सिलवाललाई गृहमन्त्री बनाउलान् ? प्रतिक्षाको विषय बनेको छ । एमालेमा धेरै हस्तीहरू चुनाव जितेर आएका छन् । गृहमन्त्रीको अनुभव सँगालिसकेका भीम रावल देखि आकांक्षी विष्णु पौडेल, इश्वर पोखरेल सम्मका नेताहरू छन् ।
हस्तीहरूलाई पन्छाएर ओलीले सिलवाललाई अवसर दिनेमा धेरैको आशंका छ । सिलवाललाई गृह दिएपनि राज्यमन्त्रीको जिम्मेवारी मिल्ने अनुमान समेत गरिएको छ ।
तर, बोलेपछि गरिछाड्ने ओलीले बाचा पूरा नगर्लान् भन्न सकिन्न ।देउवाले सिलवाललाई आइजीपी बन्नबाट रोकेकोमा ओलीको गहिरो असन्तुष्टि थियो ।
यस घटनाले उनलाई बिझेको थियो भन्ने सिलवाललाई सांसद सम्म बनाउन भूमिका खेलेबाट प्रष्ट हुन्छ । ओली देउवालाई देखाउनका लागि भएपनि सिलवाललाई गृहमन्त्री बनाउन सक्छन् ।
विगतमा एमालेभित्र आफ्ना विरोधी हस्ती युवा नेताहरूलाई देखाउन चुनाव हारेका महेश बस्नेतलाई मन्त्री बनाएका थिए ।कर्णबहादुर थापालाई समेत मन्त्री बनाए ।
ओलीमा ‘राजहठ’ रहेको विगतका घटनाले देखाउँछ ।यही हठले उनलाई राजनीतिको यो उचाईमा पु¥यायो । उनको हठले सिलवाललाई गृहमन्त्री सम्म बनाउन सक्छ ।
उनी गृहमन्त्री बनेमा प्रहरी मुख्यालयमा रोचक दृश्य देखिनेछ ।उनका प्रतिष्पर्धीहरू आइजीपी प्रकाश अर्याल र जयबहादुर चन्द सम्मले सलाम ठोक्नुपर्ने हुन्छ ।
ओलीको बोली व्यवहारमा परिणत भएमा त्यो दिन नआउला भन्न सकिन्न ।ओलीले नवराज सिलवाललार्इ गृहमन्त्री बनाउने चर्चासंगै आइजीपी प्रकाश अर्याल र जयबहादुर चन्दले जागिर नै छाड्नेसम्मको मनस्थितिमा पुगेको प्रहरी स्रोतले बताएको छ ।
उनीहरु दुबै जना सिलवाललाई फसाउने काममा लागेसँगै अाँफूमाथि पनि खतरा आईलाग्ने देखेर पछिल्लो समय एक्सनमा समेत लागेका थिए ।
