प्रकाशित मिति : शुक्रबार, फाल्गुन ११, २०७४
भारतको बनारस हिन्दु युनिभर्सिटी अन्तर्गतको मेडिकल कलेजमा एमबिबिएसमा भर्ना गराईदिन्छु भन्दै शैक्षिक योग्यताको प्रमाणपत्र र लाखौ रकम लिएर ठगी गर्दै हिड्नेलाई प्रहरीले पक्राउ गरेको छ।
पर्सा विन्दबासिनी घर भई ललितपुर धोविघाट बस्दै आएका २९ वर्षिय रमेश प्रसाद चौहानलाई ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।
आफू ठगीमा परेको भन्दै बर्दियाका २१ वर्षीय अंकित गुप्ताले प्रहरीमा उजुरी दिएपछि चौहानलाई प्रहरीले फागुन ९ गते नियन्त्रणमा लिएको हो।
बागबजारस्थित कुवेरप्रसाद गुप्ताले सञ्चालन गरेको जिपीसी एजुकेशन कन्सल्टेन्सीमा कार्यरत चौहानले पुतलीसडकस्थित भिब्रेन्ट इन्टिच्यूट, नेमलगायतमा एमबिबिएस तयारी कक्षा लिने विद्यार्थीलाई फसाउने गरेको प्रहरी अनुन्धानले देखाएको छ।
अंकित गुप्तालाई चौहानले फोन गरी ३५ देखि ४० लाख भारतीय रूपिया दिए सहजै एमबिबिएसमा भर्ना गराइदिने भन्दै रकम केही रकम लिएका थिए। असोज ३ गते भर्ना प्रकृया शुरू हुने भन्दै ८ लाख रकम लिएका थिए।
पीडितले काम छिटो गरिदिनु भनेपछि चौहानले भारतको बनारस हिन्दु विश्वविद्यालय अन्तर्गत एमबिबिएस पढ्न अंकित गुप्ता छानिएको नक्कली भर्ना लेटर दिँदै बाँकी ३० लाख रूपैयाँ मागेका थिए।
प्रहरीले उनको साथबाट एक थान मोबाइल सेट, भारतको विदेश मन्त्रालय लेखिएको कागजात, विभिन्न शैक्षिक संस्थाहरुको नक्कली पत्र, शैक्षिक संस्थाहरुको नक्कली छाप र नक्कली कागजातहरु तयार पार्न प्रयोग भएको ल्यापटप बरामद गरेको छ।
मुलुकी ऐन ठगी महल अनुसार ठगी गर्ने व्यक्तिलाई कसुरको मात्रा हेरि ५ वर्षसम्म कैद र विगो भराई विगो बमोजिम जरिवाना हुने व्यवस्था छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij