प्रकाशित मिति : बिहिबार, फाल्गुन १७, २०७४
ट्राफिक प्रहरीले होलीको अवसरमा ट्राफिक नियम विपरीत चलाएका २ सय ६४ वटा सवारी साधन नियन्त्रणमा लिएको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले उपत्यकाभित्रका तीन जिल्लामध्ये सबैभन्दा बढी काठमाडौंबाट नियन्त्रणमा लिएको महाशाखाका एसएपी उमेश रंजितकारले बताए।
प्रहरीले नियन्त्रणमा लिएकामध्ये ११ वटा कागजपत्र नबोकी सवारी चलाएको, १८ वटा हेल्मेट नलगाई सवारी चलाएको, २ वटा मापसे गरि चलाएको, २९ वटा क्षमता भन्दा बढी यात्रु बोकेकोलाई नियन्त्रणमा लिइएको छ।
तीव्र गतिमा सवारी चलाउदा पाँच स्थानमा सवारी दुर्घटना भएको जसमा एक जना सामान्य घाइते भएको एसएपी रंजितकारले जानकारी दिए।होलीमा हुने दुर्घटना नियन्त्रण गर्ने प्रहरीले बिहिबार दिनभर मापसे चेकिङ गरिरहेको छ।
होलीको अवसरमा अर्काको इच्छाविपरीत जबर्जस्ती रङ दल्ने, प्लास्टिकको लोला हान्ने, फोहर छ्याप्ने ३४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरी काठमाडौंका विभिन्न स्थानबाट जबर्जस्ती रंग दल्ने तथा लोला हान्नेलाई नियन्त्रणमा लिएको हो। कालिमाटी क्षेत्रबाट २६, बानेश्वरबाट ६,कोटेश्वरबाट ७, गौशालाबाट ५, बौद्धबाट २, लैनचोर र जनसेवाबाट १/१ जनालाई नियन्त्रणमा लिएको परिसर काठमाडौंका प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए।
सेतोपाटीसँग कुरा गर्दै एसएपी पोखरेलले भने, ‘हामीले होलीलाई मर्यादित र सुरक्षित बनाउन भरपर्दो सुरक्षा व्यवस्था मिलाएका छौं। होलीलाई मर्यादित र सुरक्षित बनाउनको लागि राजधानीमा १ सय ६ वटा प्रहरी टोली, २० वटा मोबाइल टोली र थप १५ सय प्रहरी परिचालन गरिएको एसएसपी पोखरेलले बताए।
कसैले जबरजस्ती रंग दलेमा प्रहरीलाई खबर गरे तत्काल प्रहरी पुग्ने एसएसपी पोखरेलको दाबी छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij