आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

फास्ट ट्रयाकले भत्काउन लागेको सिकाली थुम्कोमा सेना र गाउँलेको विवाद

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन २५, २०७४



  • बुधबार दिउँसो खोकनाको तापक्रम अचानक बढेको थियो।

    सिकालीको एउटा थुम्कोमा सैनिक जर्नेल आफ्ना डफ्फासहित उभिएर स्थानीयसँग वादविवाद गरिरहेका थिए।

    त्यो थुम्को केही महिनामा भत्किँदैछ।

    थुप्रै सिनेमा दृश्यांकनसमेत गरिएको त्यो रमणीय थुम्कोसँग खोकनाको सबैभन्दा महत्वपूर्ण जात्रा र पर्व जोडिएका छन्। मुलुकभर दसैंलाई सबभन्दा ठूलो पर्व मानिँदै आएका बेला खोकनाले दसैंकै समयमा उसको सबभन्दा ठूलो ‘सिकाली पर्व’ मनाउँछ, यही थुम्कोमा।

    आफ्ना परम्परा जोडिएको थुम्को भत्काउने कुरा गाउँलेले के मान्थे?

    दक्षिणकाली जाँदा बागमती पारी देखिने त्यो सानो मन्दिरसहितको रमाइलो थुम्कोलाई पछिल्लो समय संकट आइलागेको छ। नभत्काउने हो भने काठमाडौंसँग तराई जोड्ने ‘फास्ट ट्रयाक’ मा तीव्रसँग गुड्नुपर्ने मोटर भोलि यसैमा ठोकिनेछ।

    राष्ट्रिय महत्वको प्राथमिकतामा राखिएको यो आयोजनासँग ठोकिने थुम्को जोगिन मुश्किल छ। बुधबार सिकाली चौरमै उभिएर सेना र ग्रामीणबीच चासो र चिन्ता चुलिरहेकै बेला एक जना गाउँलेले बीचैमा भने, ‘यत्रो सारा तहसनहस पार्ने योजनाका साथ अर्काको घर (खोकना) पस्नुअघि सेनाले अनुमति लिनुपर्छ कि पर्दैन?’

    जवाफमा सेनाका तर्फबाट फास्ट ट्रयाक निर्माण नेतृत्व गरिरहेका सहायक रथी भरतबहादुर खड्का शान्त भए।

    त्यो प्रश्न त्यसै उठेको थिएन।

    ‘चार दिन भयो,’ खोकनाका असोजकुमार महर्जन भनिरहेका थिए, ‘हामी गाउँले एक सेकेन्ड पनि चैनले बस्न पाएका छैनौं।’

    उनका अनुसार गत शनिबार अचानक गाउँको किनारमा सैनिक क्याम्प लगाइयो। चौधवटा अस्थायी क्याम्प तयार पारियो। बागमती छेउमा यो क्याम्प लगाइएको स्थान नै प्रस्तावित फास्ट ट्रयाक प्रस्थान विन्दु हो। गाउँलेका अनुसार क्याम्प गाडेकै दिन सेनाले ल्याएका एक्स्काभेटरबाट माटो खन्न पनि सुरु गरियो।

    ‘बाटोले अधिकरण गर्ने भनिएको जग्गाका निम्ति एकातिर गाउँलेले मुआब्जा पनि बुझेका थिएनौं,’ असोजकुमार भन्छन्, ‘त्यसमाथि यो योजनाले तहसनहस पार्ने हाम्रा साँस्कृतिक तथा पुरातात्विक सम्पदाको अवस्थाबारे अनभिज्ञ अवस्थामै सेना गाउँमा आए।’

    माटो खनिएको जानकारी पाउनेबित्तिकै गाउँलेको लश्कर त्यो स्थानमा पुग्यो। रोक्न खोजे। सेनाले उनीहरुलाई पर धपायो।

    ‘क्याम्पभन्दा सय मिटर परै बस्न हामीलाई आदेश दिइएको थियो,’ असोजकुमार भन्छन्, ‘त्यस दिनदेखि हामी गाउँले प्रत्येक बिहान अँध्यारैमा उठेर क्याम्प भएको ठाउँ जाने र दिनभर धर्ना दिने काम गर्दै आइरहेका छौं।’

    सय मिटर पर बस्दा पनि मोबाइलबाट तस्बिर खिच्ने कामधरि सैनिकले रोक्न लगाएका थिए। आफ्नो जग्गाको कुरा उठाउन खोज्ने गाउँलेलाई क्याम्पमा खटिएका सेना ‘भद्रकाली (सेनाको मुख्यालय) गएर कुरा मिलाउनुस्’ भनिरहेका थिए।

    सैनिक प्राविधिकलाई सम्झाउँदै सहायक रथी खड्का।

    अचानक गाउँमा क्याम्प लगाएका सेना र गाउँलेबीच तनाव बढिरहेकै बेला जनप्रतिनिधिले सक्रियता देखाए। हाल ललितपुर महानगरको २१ नम्बर वडामा परेको खोकनामा वडावासीको बैठक डाकियो।

    ‘मुआब्जा बढाउन थप प्रक्रिया थाल्न अघि बढ्ने कुरा भइसकेको छ,’ वडाध्यक्ष रवीन्द्र महर्जन भन्छन्, ‘त्यसैबीच सेनाको क्याम्प आएपछि उनीहरुलाई स्थानीयवासीसँग फिल्डमै लगेर देखाउन आज यसरी निम्त्याएका हौं।’

    फास्ट ट्रयाक बाटोमा खोकनाका साँस्कृतिक सम्पदा पर्ने अवस्था देखिएकाले त्यसलाई सकभर जोगाउन यस्तो भेटघाट आयोजना गरिएको वडाध्यक्ष महर्जनले बताए। गाउँलेलाई साथै लिएर सकभर कसरी नोक्सानी नियन्त्रण गर्न सकिन्छ भनेर वडा समितिले अग्रसरता लिएको उनले जानकारी दिए।

    फिल्डमै सेनाका साथ घुम्दा त्यस्ता महत्वपूर्ण स्थान छल्ने उपायबारे छलफल पनि गर्न सकिने वडाध्यक्ष महर्जनको भनाइ छ।

    टोली विभिन्न सम्पदा र पुरातात्विक महत्वका स्थान देखाउँदै हिँड्यो। यो कदमको महत्वपूर्ण पक्ष के देखिन्थ्यो थियो भने त्यस्ता सम्पदाको महत्व बताउने गाउँले र सडक निर्माण गर्दाका प्राविधिक कठिनाइबारे अडान राख्ने सैनिक प्राविधिक बहस गर्दै अघि बढिरहेका थिए।

    ‘कहाँनिर हुन्छ भनौं, कहाँनिर हुन्न भनौं,’ जनसरोकार समितिका अध्यक्ष नेपाल डंगोल भनिरहेका थिए, ‘जताबाट लगे पनि बाटोले हाम्रा महत्वपूर्ण स्थान कुल्चिएर जाने अवस्था छ।’

    माथि थुम्कोमा बसेको खोकना र तलबाट बगेको बागमतीबीच अनेक धार्मिक तथा साँस्कृतिक महत्वका स्थान छन्। नदीकै किनारमा वर्षभरि सम्पन्न गर्नुपर्ने सयौं गतिविधि छन् जसलाई भोलि बीचैमा बन्ने फास्ट ट्रयाकले अवरुद्ध पार्ने पक्का छ। तीव्र गतिमा कुदिरहेका सवारीसाधनको एकातिर गाउँ हुनेछ, अर्कोतिर परम्परा बोकेर बगिरहेको बागमती।

    तराई जोड्ने फास्ट ट्रयाकको ७६.२ किलोमिटर दुरीमध्ये करिब आठ किलोमिटर खोकना र तीन किलोमिटर बुङमती क्षेत्रले ओगट्ने गाउँलेहरु बताउँछन्। यी गाउँका अनेक परम्परा नदीसँग जोडिएको छ।

    सेनाका अनुसार खोकनामा मात्रै ७४ कित्ता जग्गा मिलाउनुपरेको छ, जसले झन्डै तीन सय रोपनी जग्गा ओगटेको छ। गाउँलेले साँस्कृतिक र पुरातात्विक महत्व अगाडि सारेका भए पनि मुख्य कुरा मुआब्जाकै रहेको जर्नेल खड्का बताउँछन्। त्यस निम्ति संसदको निर्णय गराउन आफूहरुले कुरा अगाडि बढाइसकेको उनले बताए।

    ‘मैले खल्तीबाट दिने होइन, सरकारले तिर्ने हो,’ खड्का भन्दै थिए, ‘सक्दो बढी पाउनुपर्छ भनेर पहल गरिरहेकै छु।’

    मुआब्जा पनि महत्वपूर्ण मुद्दा भएको तर साँस्कृतिक र पुरातात्विक महत्व पनि आफूहरुले छाड्नै नसक्ने पक्ष रहेको गाउँलेहरु बताउँछन्।

    ‘सिंगो उपत्यकालाई बागमती सभ्यता भनिन्छ,’ कलेजका प्राध्यापकसमेत रहेका असोजकुमार भन्छन्, ‘जबकि यहाँनिर आएर बागमती मिसिए पनि हामी कोखु सभ्यताका बासिन्दा हौं।’

    असोजकुमारले टौदहतिरबाट आएको सानो खोल्सा देखाए। सबभन्दा तल्लो भेगमा बसेको देश कोदेश र सबभन्दा तलबाट बगेको नदी कोखु।

    ‘तपाईं अहिले जहाँ उभिनुभएको छ, त्यहाँ पहिले कोदेश थियो,’ उनले भने, ‘यो काठमाडौं उपत्यकाकै पहिलो आवादीको कुरा हो।’

    त्यो बेला उपत्यकाको बसोबास तीन भागमा बाँडिएको थियो। सबभन्दा माथिको बसोबासलाई ‘थने’ भनिन्थ्यो। मध्य भागको बसोबासलाई ‘दथे’। त्यसैगरि तल्लो भागकोलाई ‘कोने’।

    सबभन्दा तल्लो भागको देश भएकाले त्यतिबेलाको देशलाई कोदेश भनिएको थियो।

    त्यो देशको इतिहास कहिले समाप्त भयो भन्ने असोजकुमारलाई पनि थाहा छैन। तर, गाउँमा चलेको श्रुती परम्पराअनुसार त्यस कोदेशको अन्त्य कुनै घरज्वाइँका कारण भएको थियो।

    जनसरोकार समितिका अध्यक्ष नेपाल डंगोल साँस्कृतिक महत्वका ठॉउ देखाउँदै।

    प्राध्यापक मृगेन्द्रलाल सिंहको शोधपत्रले पनि काठमाडौंमा सबभन्दा सुरुमा बसोबास गर्ने नपारहरु यसै स्थानमा रहेको देखाउने असोजकुमारले बताए। उनका अनुसार तीन हजार वर्षअघि दक्षिणकाली नजिकैको कटुवाल दह फुटिसकेपछिको यो पहिलो बस्ती थियो।

    ‘हामी अहिले हिँडेको भेगमा डेढ-दुई फिट खन्नेबित्तिकै पुरातात्विक महत्वका सामग्री भेटिन थाल्छन्,’ असोजकुमार भन्छन्, ‘खोकना र बागमती बीचको यो झन्डै चार सय रोपनी क्षेत्रफलमा उतिबेलाको कोदेशले ओगटेको एउटा सिंगो सहर यहाँभित्र छ।’

    खोकनाबाट सिकालीको थुम्कोतर्फ जाँदै गर्दा ढुंगाले छापेको बाटो छ।

    ‘यो १७ सय वर्ष पुरानो बाटोलाई हामी देलँ भन्छौं,’ असोजकुमारले थपे, ‘अर्थात् देश जाने बाटो।’

    अलिक पर पुगेपछि एउटा पुरानो बौद्ध चैत्य देखिन्छ। चिबा नामको त्यो चैत्यबारे खोजी गर्ने हो भने किराँतकालीन सभ्यता भेटिने असोजको दाबी छ।

    ‘राजा सुरेन्द्रविक्रम शाहका पालामा यसको जिर्णोद्धार भएपछि आजसम्म यो रुपमा छ,’ असोजकुमारले भने, ‘जिर्णोद्धार गर्ने बेलामै यो चैत्यबाट महत्वपूर्ण सामग्री अन्त लगिएको आरोप पितापुर्खाबाट हामीले सुन्दै आएका छौं।’

    असोजका अनुसार यी सारा सम्पदा र पुरातात्विक महत्वका स्थान ध्वस्त पार्ने गरी सुरुमा फास्ट ट्रयाक डिजाइन गरिएको थियो। करिब बाह्र वर्षअघि एसियाली विकास बैंकले गरेको सम्भाव्यता अध्ययन र त्यसपछि भारतीय कम्पनीले तयार पारेको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) ले त्यस्तो विनाशकारी योजना अघि बढाएको थियो।

    ‘फिल्डमा आउँदै नआई गुगल म्यापका आधारमा सडक नक्सा तयार पारिएको थियो,’ असोजकुमार भन्छन्, ‘त्यसरी कोठामा बसेर नक्सा बनाउनेले यी सबै कुराका महत्व के बुझ्थे?’

    गाउँलेहरुले त्यसको जमेर विरोध गरे।

    ‘एक महिनायता हामीले त्यो पुरानो बाटो बन्द गरेर बागमतीको किनारै किनार अर्को बाटो ल्याउन खोजेका छौं,’ सैनिक जर्नेल खड्का भन्छन्, ‘त्यसरी ल्याउँदा पनि सिकालीको थुम्को, एउटा मन्दिर र चिहान भत्काउनुपर्ने देखिएको छ।’

    कोदेशका क्षेत्र पन्छाएर यसरी नदीको किनारबाटै बाटो लैजाँदा पनि स्थानीयले मान्दै आएका स्थान पर्छन्। यस कारण सकभर क्षति कम गर्न प्राविधिकलाई साथै लिएर यो भ्रमण गरिएको जर्नेल खड्काले बताए।

    गाउँलेहरु भने यसरी योजना अघि बढिसकेपछि भन्दा सुरु गर्नुअघि नै यो भेगको साँस्कृतिक, आर्थिक, पुरातात्विक, सामाजिक लगायत पक्ष अध्ययन गरिनुपर्ने बताउँछन्।

    ‘तपाईंको अनुरोधमा हामीले चाहना राखेर पनि हुँदैन,’ जनसरोकार समितिका अध्यक्ष डंगोलले भने, ‘हामी पनि परिवन्दमा छौं। यो सिकाली ढिस्को भत्काउन अनुमति दिने हाम्रो पनि हैसियत छैन। यो गाउँकै हैसियत छैन। आफ्नो परम्परा जोडिएको ठाउँ मास्ने अधिकार कसरी हामीसँग हुन्छ? भोलि हाम्रा सन्तानले सोध्छन्। के जवाफ दिने?’

    कुरा सिकालीको थुम्कोले मात्रै पनि सकिँदैन। असोजकुमारका अनुसार मच्छिन्द्रनाथ जात्रा सुरु गर्नुअघि टौदह पुगेर निम्तो दिनुपर्ने परम्परा छ। त्यस निम्ति पनि यो बाटो रुटमै पर्छ। माथि खोकना र तल नदीबीच वर्षभरि जात्रा र परम्परा चल्छन्।

    सिकालीबाट ओर्लिनेबित्तिकै एउटा पुरानो मन्दिर देखिन्छ।

    ‘मल्लकालमा जिर्णोद्धार भएदेखि यसै रुपमा रहेको यो बिघँ मन्दिर हो,’ असोजकुमारले भने, ‘काम्न लगाउने सबै गुरुज्यूहरु वर्षमा एकपटक आउनुपर्ने मन्दिर हो यो।’

    त्यो मन्दिर पनि फास्ट ट्रयाकबाट प्रभावित हुने अवस्थामा रहेको गाउँले बताउँछन्।

    बिघँ मन्दिर।

    गाउँलेहरुले मन्दिरकै तल औंल्याएर भने– ‘त्यो चाहिँ लिच्छविकालीन ढुंगेधारा।’

    अलिक अगाडि बढेपछि गाउँभरिको अन्त्येष्टी थलो देखिन्छ।

    ‘यो घाट पनि कोदेशकै बेलादेखिको हो,’ उनीहरुले भने।

    ‘यो घाट त कसैगरी चलाएछौं भने पनि अलि पर योभन्दा राम्रो बनाइदिन्छौं,’ जर्नेलले आश्वस्त पार्न खोजे।

    गाउँले केही बोलेनन्।

    ‘उ त्यो बाटो भएर मलामी आउने परम्परा छ,’ गाउँलेले फेरि सडकको प्रस्तावित क्षेत्रतिरै औंलो देखाए।

    जर्नेल खड्का हाँस्दाहाँस्दै पनि कड्किएर बोले, ‘ए बाबा, मलामी त बाटोको छेउबाट हिँडेर आए भइहाल्छ।’

    गाउँलेहरु बागमतीको किनारै किनार अरु पनि महत्वपूर्ण स्थान देखाउँदै गए।

    – ‘यो महादुँ। कोदेशको प्रधानसेनापति बस्ने ठाउँ। वर्षको चार दिन बागमती आएर नुहाएपछि ‘छकु निखु स्वखु’ भन्ने परम्परा छ। त्यसअनुसार यहाँ शास्त्रार्थको तालिम लिनुपर्छ।’

    – ‘यो चखुं तीर्थको बाटो। कटुवाल दहबाट हिँडेर सिकालीमा आराम गर्दै बागद्वारसम्म जानेको प्राचीन बौद्ध रुट नै हो यो।’

    – ‘शाहवंशीय एक रानीलाई अन्तिम समयमा दक्षिणकाली लग्दालग्दै यहीँ निधन भएकाले अहिले पनि बर्सेनि उनको श्राद्ध हुन्छ।’

    गाउँले एकपछि अर्को स्थान देखाउँदै गए। जर्नेल खड्का नोटबुकमा लेख्दै गए।

    ‘तपाईंहरुले देखाउनुभएको सबै महत्वपूर्ण स्थान सकभर जोगाउने कोशिस गर्छौं,’ खड्काले भने, ‘तर, बाटो कताबाट लैजाने भन्ने हामी कसैले चाहेर हुँदैन। कम्प्युटरले निर्धारण गर्ने हो।’

    सरकारले एसियाली राजमार्ग मापदण्डअनुसारको फास्ट ट्रयाक बनाउने ‘म्यान्डेट’ दिएकाले बाटोका घुम्ती त्यसैअनुसार निर्धारण हुने उनले बताए।

    स्थलगत भ्रमण सकिएपछि सैनिक टोली विदा भयो।

    चिबा चैत्य।

    ‘हामी विकास विरोधी होइनौं,’ सैनिक टोली गइसकेपछि असोजकुमारले भने, ‘फास्ट ट्रयाकबाहेक पनि विभिन्न योजना ल्याएर खोकनाको अस्तित्व नै समाप्त पार्न खोजिएपछि जुर्मराएका हौं।’

    असोजकुमारका अनुसार करिब दस वर्ष पहिले खोकना भएरै विद्युत प्राधिकरणले हाइटेन्सन लाइन लैजान खोजेको थियो। त्यस निम्ति टावर लगाइसकेको थियो। त्यसरी लगिएको लाइनको मुनि मात्र होइन दायाँ-बायाँ गरेर २५ मिटरसम्म घर बनाउन नपाइने भनियो।

    ‘त्यसको क्षतिपूर्तिसमेत नदिने भएपछि हामीले एउटा टावरै ढालिदियौं र आयोजना नै रोकिदियौं,’ उनले भने, ‘अहिले पनि सरकार कताबाट मिल्छ र त्यहाँबाट तार लैजाउँला भनेर सोचिरहेको छ।’

    कुलेखानीबाट बिजुली निकालेर हरिसिद्धि लैजान खोजिएको त्यो हाइटेन्सन लाइन यसरी खोकना पर्ने गरी घुमाएर लैजानै नपर्ने उनी बताउँछन्।

    ‘यहाँका मानिस निमुखा छन्, केही बोल्दैनन् भनेर जे पनि यतैबाट लगिदिन्छन्,’ उनले भने, ‘हुँदा हुँदा बाहिरी चक्रपथदेखि लिएर बागमती कोरिडोरका कुरा पनि आइरहेको छ।’

    खोकनामा फास्ट ट्रयाकबाहेक बाहिरी चक्रपथ, बागमती कोरिडोर, स्मार्ट सिटी र हाइटेन्सन विद्युत लाइनलाई सरकारले केही समयदेखि अघि बढाउन खोजिरहेको छ। लामो समयदेखि स्थानीयले यसको विरोध गर्दै आएका छन्। यी सबै योजना खुरुखुरु मान्दै जाने हो भने एकदिन खोकनाको अस्तित्व नै समाप्त हुने असोजकुमार बताउँछन्।

    सिकाली थुम्कोको आधार। सेनाले गाडेको सेतो पिलरभन्दा ५० मिटर भित्रसम्म खन्नुपर्नेछ।

    ‘यस्तो अवस्थामा जर्नेल खड्काकै उपस्थितिमा गत साउन २६ गते हामीले यी सम्पूर्ण योजना एकीकृत रुपमा मिलाउने निर्णय गरेका थियौं,’ उनले भने, ‘खड्काले नै तयार पारेको त्यो बैठकको ड्राफ्टभन्दा बेगर फास्ट ट्रयाकको मात्र कुरा अगाडि बढेपछि सशंकित भएका हौं।’

    यसबीच खोकनामै फास्ट ट्रयाक निम्ति सडक आवश्यकताबाहेक थप जमिन अधिकरण गर्ने निर्णय खोकनावासीको उपस्थितिबिनै अर्को बैठकमा गरिएको जानकारी पाएपछि सेनामाथि विश्वास उठेको असोजकुमारले सुनाए।

    ‘यस्तो अविश्वास र उथलपुथल भइरहेका बेला चार दिनअघि सेनाले गाउँमा क्याम्प र डोजर ल्याएर तर्साउन खोजे,’ उनी भन्छन्, ‘बल प्रयोग गर्ने उपायमा गएपछि हामी गाउँलेले निरीह महशुस गरेका हौं।’

    त्यो निरीहता र आक्रोश नै केही घन्टाअघि सिकालीको थुम्कोमा व्यक्त भइरहेको थियो।

    जहाँ प्रश्नोत्तर यस्ता थिए–

    ‘हामी गाउँलेसँग कुनै सहमति नै नगरी डोजर ल्याउनुभयो। रातारात क्याम्प खडा भयो। किन?’

    जर्नेलले भने, ‘सेना आयो भन्दैमा डराउने किन? त्यो हामीले वर्षौंदेखि एयरड्रपका लागि प्रयोग गरिरहेको सेनाकै जमिन हो। त्यहाँ कसैको व्यक्तिगत जमिन परेको छ र?’

    ‘छ।’

    जर्नेल, ‘त्यसो भए कुन कित्ता हो, बताउनुस्। त्यहाँबाट क्याम्प हटाउन लगाइदिन्छु।’

    ‘त्यो खाली जमिन हो भन्दैमा नेपाली सेनाको भनेर पनि नभनिहाल्नुस्।’

    जर्नेलले भने, ‘गाउँलेसँग सहमतिमै अगाडि बढौं भनेर म अधिकतम प्रयास गरिरहेको छु। आज यसरी तपाईंहरु सामु आएँ। नत्र नेपाली सेनाले जिम्मेवारी पाएको ठाउँमा मिटिङ गर्दै हिँड्दैन। सरकारले आदेश दियो भने गोली चलाउँछ। सेनाले मिटिङ गर्दै हिँडेको सुन्नुभएको छ?’

    ‘सेनाको काम यसरी सडक बनाउने पनि त होइन। यसरी ठेक्का लिँदै हिँडेको पनि सुनेका छैनौं।’

    खोकनासँग जोडिएको काठमाडौं सभ्यता जोगाउने यो बहस चलिरहकै छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij