प्रकाशित मिति : बिहिबार, चैत्र १, २०७४

काठमाडौं, चैत १ । उपभोक्ता हित संरक्षण मञ्चले वस्तु तथा सेवाको कालोबजारी, एकाधिकार र कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीलाई कडा कारवाहीको माग गरेको छ ।
प्रत्येक वर्ष मार्च १५ का दिन मनाइने विश्व उपभोक्ता अधिकार दिवसका अवसरसरमा मञ्चद्वारा आज माइतीघर मण्डलामा आयोजित कार्यक्रममा उपभोक्तालाई हानि पुर्याउने वस्तुको आपूर्ति गर्ने व्यापारीलाई दण्डित गर्न आग्रह गरिएको हो ।
मञ्चका अध्यक्ष ज्योति बानियाले वस्तु तथा सेवा उत्पादक कम्पनीले उपभोक्ताको हितका लागि गुणस्तरीय उत्पादन गर्नुपर्ने कानूनी प्रावधान भए पनि मुलुकमा सरोकार पक्षले बजारमा अनुगमन तथा नियमन कार्य संवेदनशील नहुँदा दण्डहीनता मौलाएको र आमउपभोक्ता ठगिरहेकामा चिन्ता व्यक्त गरे ।
उहाँले राष्ट्रिय अर्थतन्त्रलाई प्रतिस्पर्धी बनाई व्यापारिक स्वच्छता र अनुशान कायम गरी उपभोक्ताको हित संरक्षण गर्नुपर्नेमा जोड दिए ।
मञ्चले यसवर्ष विभिन्न ५१ जिल्लामा १६१ उपभोक्ता अधिकारसंग सम्बन्धित कार्यक्रम गरी वस्तु तथा सेवाबाट ठगिएका १०७ उपभोक्तालाई उपभोक्ता संरक्षण ऐन बमोजिम गठित जिल्ला क्षतिपूर्ति समिति मार्फत कानूनी सहायता उपलब्ध गराएको छ ।
त्यसैगरी मञ्चको जाहेरीमा ठगी गर्ने ४७ वटा पेट्रोलपम्प धनी र सञ्चालकलाई छ/छ महिना कैद सजाय हुने गरी फैसला भएको जनाइएको छ ।
सन् १९६२ मा संयुक्त राज्य अमेरिकाका जोन एफ केनडीले उपभोक्ता हितका लागि सूचना, स्वच्छ सुनुवाइ र क्षतिपूर्ति दिन आन्दोलन शुरु गरेपछि अहिले विश्वका विभिन्न मुलुकमा यसले अभियानको रूप लिनुका साथै उपभोक्तासमेत लाभान्वित हुँदै आएका छन् ।
सन् १९८५ मा संयुक्त राष्ट्र संघले उपभोक्तालाई वस्तु तथा सेवा छनोटको अधिकारलगायत केही अधिकार उपलब्ध गराउनुपर्ने निर्णय गरेको बताइएको छ । रासस
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij