आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नजिकिदैँ देउवाविरोधी, प्रतिवाद रणनीति बनाउन देउवाले पनि भेला डाक्ने

  • प्रकाशित मिति : शनिबार, चैत्र ३, २०७४



  • कांग्रेस सभापति शेरबहादुर देउवाको कार्यशैलीबाट असन्तुष्ट रहँदै आएका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला एउटै कित्तामा उभिने प्रयासमा छन्। देउवाको कार्यशैलीबाट पार्टी अघि बढ्न नसक्ने निष्कर्षसहित उनीहरू एउटै कित्तामा आउन लागेका हुन्। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।

    पौडेल र सिटौलालाई मिलाएर संस्थापनइतर समूह बलियो बनाउने अभियानमा चन्द्र भण्डारी, गगन थापा, धनराज गुरुङ, प्रदीप पौडेललगायत युवा नेता सक्रिय भएका छन्।

    महासमिति बैठकअघि नै यी दुई समूहलाई मिलाएर पार्टीमा नीति, कार्यक्रम र नेतृत्व परिवर्तनको मुद्दालाई प्रमुख एजेन्डा बनाउने तयारीमा संस्थापनइतर समूह लागेको छ। प्रतिनिधिसभा, प्रदेश र स्थानीय तहका तीनै निर्वाचनमा पार्टीले नराम्रो पराजय भोगेपछि पौडेल र सिटौला समूहका विचार मिल्न गएको हो। केही दिनअघि संसदीय दलको नेताको निर्वाचनमा पनि यी दुई समूह एक ठाउँमा थिए। निर्वाचनअघिसम्म पौडेल र सिटौलाको सम्बन्धमा चिसोपना थियो। दुई वर्षसम्म निरन्तर देउवालाई साथ दिएका सिटौला निर्वाचनलगत्तै फरक कित्तामा उभिन पुगेका हुन्।

    पार्टीको १२ औं महाधिवेशनदेखि नै सिटौला नेतृत्वमा तेस्रो समूहको जन्म भएको थियो। १२ औं महाधिवेशनमा सिटौलाले तेस्रो धारको नेतृत्व गर्दै सभापतिमा प्रतिस्पर्धा गरेका थिए। पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत पुर्‍याउन नसक्दा बढी मत ल्याउने देउवा र पौडेलबीच पार्टी सभापतिका लागि दोस्रो चरणमा निर्वाचन भएको थियो। त्यतिबेला सिटौलाले देउवालाई सघाएका थिए। त्यहाँदेखि नै पौडेल र सिटौलाबीचको सम्बन्धमा दरार थियो।

    ‘पार्टी सभापति देउवाजीलाई हामीले दुई वर्ष ब्ल्यांक चेक दिएर सहयोग गरेका हौं तर उहाँले पार्टीलाई बलियो बनाउन सक्नुभएन,’ सिटौलाले भने, ‘अब परिवर्तनको पक्षमा लाग्ने सबैलाई गोलबद्ध गर्ने प्रयासमा छौं।’ उनले आफूपक्षीय नेता–कार्यकर्ताको भेलामा पार्टीभित्र नेतृत्वले बेथिति मात्रै भित्र्याएको आरोप लगाए। सामन्ती राजा फाले पनि नेपाली राजनीतिमा सामन्ती संस्कार नगएको भन्दै सिटौलाले आफ्नै पार्टी नेतृत्वमाथि प्रश्न उठाए। ‘पार्टीभित्र पनि सामन्ती संस्कार छ, यो संस्कार हटिसकेको छैन। कांग्रेसभित्रको हुकुमी र सामन्ती संस्कारको अन्त्य गरिनुपर्छ।’

    आगामी केन्द्रीय कार्यसमिति बैठकको पूर्वसन्ध्यामा पौडेल र सिटौला समूहले छुट्टाछुट्टै भेला र छलफलसमेत गरिरहेका छन्। सिटौलाले शुक्रबार नै आफ्नो पक्षको भेला गरेका थिए। भेलामा गगन थापा, भीमसेनदास प्रधान, प्रदीप पौडेल, उमाकान्त चौधरीसहितका नेता उपस्थित थिए। भेलाले देउवाको कार्यशैलीबाट पार्टी बलियो बन्न नसक्ने निष्कर्षसाथ परिवर्तनको पक्षमा आवाज उठाएको छ। यस्तै निष्कर्ष पौडेल पक्षको बिहीबारको भेलाले निकालेको थियो।

    पौडेल पक्षले काठमाडौंमा उपलब्ध २७ जिल्लाका जिल्ला कार्यसमितिका सभापतिहरूसहितको उपस्थितिमा भेला गरेको थियो। यी दुवै समूहको निष्कर्ष पार्टीमा सम्पूर्ण रूपमा परिवर्तन गर्नुपर्छ भन्ने हो। सिटौलाका अनुसार सम्पूर्ण रूपमा भन्नुको अर्थ नेतृत्व, नीति र कार्यक्रमको परिवर्तन हो। तत्कालै नेतृत्व परिवर्तन सम्भव नदेखिए पनि यो मुद्दालाई केन्द्रीय कार्यसमितिको चैत ९ गतेदेखि सुरु हुने बैठकमा प्रवेश गराइने छ। त्यसपछि महासमिति बैठक हुँदै महाधिवेशनसम्म पुर्‍याउने योजना छ। अब हुने महासमिति बैठकबाट विधान संशोधन गरेर पार्टीलाई संघीय ढाँचामा लैजाने तयारी छ। ‘अहिलेदेखि तयारी भएन भने आगामी १४ औं महाधिवेशनमा पनि देउवाबाट नेतृत्व गर्न कठिनाइ पर्छ,’ पौडेल निकट एक नेताले भने, ‘देउवाइतर समूह गोलबद्ध भएर आगामी महाधिवेशनसम्मै जाने तयारी हुँदैछ।’

    कांग्रेस नेता थापाले पार्टी परिवर्तनका लागि नयाँ समूह बन्ने बताए। ‘यतिबेला परम्परागत गुटहरू भत्किएको अवस्था छ,’ उनले भने, ‘अब पार्टीमा परिवर्तनको पक्ष र विपक्षमा रहनेबीच ध्रुवीकरण हुन्छ।’ सिटौला पक्षले केन्द्रीय कार्यसमितिको आगामी बैठकमा नै पार्टी सुदुढीकरणका लागि बुँदागत प्रस्ताव राख्ने तयारीसमेत गरेको छ। त्यस्तै तयारी पौडेल पक्षबाट १४ जना केन्द्रीय सदस्यहरूले गरिरहेका छन्। पौडेल पक्षबाट नवीन्द्रराज जोशीले यसअघिको बैठकमा नै पार्टी सुदृढीकरण प्रस्ताव प्रस्तुत गरिसकेका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij