प्रकाशित मिति : मङ्लबार, चैत्र १३, २०७४
काठमाडौं प्रहरीले नेपाल प्रहरी इतिहासमै सबैभन्दा ठूलो धनराशीको पुरस्कार दिने भएको छ। पुरस्कारको सुविधा काठमाडौंमा कार्यरत ३३ सय प्रहरीले लिन पाउने छन्।
काठमाडौंमा कार्यरत उत्कृष्ट काम गर्ने ६ जना प्रहरी कर्मचारीलाई प्रत्येक महिना नगदसहित पुरस्कृत गर्ने निर्णय काठमाडौं प्रहरीले गरेको हो।
मंगलबार महानगरीय प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गरी उत्कृष्ट काम गर्ने सिपाईदेखि डिएसपीसम्मका ६ जनालाई पुरस्कृत गर्ने घोषणा गरेको हो।
वैशाखदेखि लागू हुनेगरी प्रत्येक महिनामा राम्रो काम गर्ने प्रहरीलाई नगदसहिद पुरस्कृत गर्न लागेको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए।
पोखरेलका अनुसार डिएसपीलाई ५० हजार, प्रहरी निरीक्षकलाई ३५ हजार, सईलाई २५ हजार, असईलाई २० हजार, प्रहरी हवल्दारलाई १५ हजार र प्रहरी जवानलाई १० हजार पुरस्कार पाउने छन्।
पुरस्कार पाउन प्रत्येक महिनाको ३ गतेसम्म काठमाडौंमा कार्यरत ३३ सय प्रहरीले आफ्नो प्रगती विरण भरेर कार्यालय प्रमुखको हस्ताक्षरसहित प्रहरी परिसर टेकुलाई दिनुपर्ने छ।
उनीहरूले दिएको कार्य विवरणलाई परिसरको टोलीले कार्य मूल्याङ्कन गर्दै उत्कृष्ट काम गरेका कर्मचारीको छनोट गर्नेछ।
प्रहरीलाई प्रदान गर्ने पुरस्कृत रकमको प्रायोजन नेपाल बंगलादेश बैंकले गरेको छ। बैंकका सिईओ ज्ञानेन्द्र प्रसाद ढुंगाना र काठमाडौं प्रहरीबिच मंगलबार यसबारेमा सम्झौता भएको हो।
बैकले पुरस्कारका लागि एक वर्षमा खर्च हुने १८ लाख ६० हजार रकम मंगलबार काठमाडौं प्रहरीलाई हस्तान्तरणसमेत गरेको छ।
घोषणा गरिएको पुरस्कारले प्रहरीको दैनिक कार्यमा सुधार ल्याउने दाबी काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले गरे।
प्रहरीको आचरणमा इमान्दारिता नआसम्म शान्ति सुरक्षा कायम हुन मुस्किल हुने पोखरेलले बताए। ‘राम्रो काम गर्नेलाई पुरस्कृत गर्छु, नराम्रो गर्नेलाई जेल हाल्छु मैले पहिल्यै भनेको थिएँ, आज त्यसलाई ब्यवाहारमा उतार्दैछु,’ उनले भने, ‘राम्रो काम गर्नुस् पुरस्कार नित्नुहोस्।’
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij