आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

८ ग्यास उद्योगलाई एनएस चिन्ह, ४७ वटा अझै मापदण्डविहिन

  • प्रकाशित मिति : मङ्लबार, चैत्र २७, २०७४



  • नेपाल गुणस्तर तथा नापतौल विभागले थप एक ग्यास उद्योगलाई एनएस (नेपाल स्ट्याण्डर्ड) चिन्ह प्रदान गरेको छ। विभागले सुनसरीको मारुती ग्यास उद्योगलाई एनएस चिन्ह प्रदान गरेको हो।

    यससँगै ५५ वटा उद्योगमध्ये एनएस चिन्ह पाउने उद्योगको संख्या ८ पुगेको छ।

    यसअघि विभागले धादिङका श्री कृष्ण र साईबाबा, वीरगञ्जको मनोज, काठमाडौंको नेपाल ग्यास, वीरगञ्जको एनएल ग्यास, नवलपरासीको जानकी ग्यास र काठमाडौंको मेट्रो ग्यासलाई चिन्ह प्रदान गरेको थियो।

    पछिल्लो पटक मारुती ग्याससहित यी उद्योगहरुले आवश्यक मापदण्ड लगायतका सम्पूर्ण प्रक्रिया पुरा गरेकाले एनएस चिन्ह दिइएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताए।

    ‘पछिल्लो समय सबै उद्योगले एनएस चिन्ह प्रमाणिकरणका लागि आवेदन दिएका छन्। अनुगमन पश्चात योग्य ठहरिएपछि मनोज ग्यासले पनि चिन्ह पाएको छ। अन्यको अनुगमन जारी छ’, पुडासैनीले भने।

    तर विभागको पटकपटको ताकेतापछि पनि ४७ वटा उद्योग अझै पनि सम्पूर्ण सुरक्षा मापदण्डभित्र आइसकेका छैनन्।

    विभागले ग्यास उद्योगका हकमा न्युनतम जग्गा, उद्योगमा प्रयोग भएका मेसिनको अवस्था, सिलण्डरको तौलमा एकरुपता, लिकेज हुन नदिन नियमित हाइड्रोलिक परीक्षण, भल्भहरुमा सेफ्टी ट्याग लगायतका विषयमा तोकिएको मापदण्ड पुरा गरेको देखिएमा नेपाल स्ट्याण्डर्ड चिन्ह प्रदान गर्छ।

    त्यस्तै यसबाहेक ग्यास सिलिण्डर परीक्षण गरिएको मिति खुलाउनुपर्ने, सिलिण्डर नकुचिएको तथा रङ नउडेको, सरसफाइ, उद्योगमा कार्यरत मजदुरको सुरक्षाको व्यवस्था, अप्रिय घटना हुन नदिन अपनाउनु पर्ने सावधानी, तत्काल उद्दार गर्नुपर्ने अवस्था आए त्यसप्रतिको तयारी जस्ता कुरा पुरा गरेको हुनुपर्ने बताइएको छ।

    यी मापदण्ड पुरा नगरेका उद्योगलाई जरिवाना तथा लाइसेन्स खारेज गर्नेसम्मको कारबाही गर्न सकिने कानुनी व्यवस्था रहेको छ।

    ग्यास उद्योगीले भने सरकारले तोकेको मापदण्डका सम्पूर्ण नियम पालना गर्ने क्षमतामा नरहेको भन्दै आलटाल गरिरहेका थिए। विभागले समेत अटेर गरेर बसेका ती उद्योगहरुलाई कारबाही गर्ने तर्फ कुनै चासो लिएको थिएन।

    तर केहि महिनाअघि वीरगंज स्थित मापदण्ड विपरीतको सुपर ग्यास उद्योगमा आगलागी हुँदा धनजनको क्षति भएपछि विभाग आक्रामक रुपमा प्रस्तुत भएको थियो।

    सो क्रममा विभागले विभिन्न उद्योगमा अनुगमन गरी केहिमा सिलबन्दी गरी आवश्यक मापदण्ड पुरा गरेको वा गर्ने प्रक्रियामा रहेको उल्लेख गरिएको कागजपत्र लिई उपस्थित हुन निर्देशन दिएपछि भने सबै उद्योगले चिन्हका लागि आवेदन त दिएका छन् तर क्षमता अभिवृद्धि कार्यमा गम्भीर रुपमा लागि परेको छैनन् त्यस्तै विभाग स्वंय सुस्ताएको देखिन्छ।

    तर विभाग भने सम्पूर्ण प्रक्रिया पुरा गरेर चिन्ह लिन समय लाग्ने भन्दै केहि महिनाभित्रमा सबै उद्योगलाई मापदण्डभित्र ल्याइसक्ने दाबी गर्छ।

    ‘विभागले केहि उद्योगमा एनएस चिन्ह नलिएका उद्योगमा अनुगमन गर्न थालेपछि सबैले आवेदन दिएका छन्। साना प्रक्रियागत मापदण्ड पुरा गर्नुपर्ने भएकाले केहि समय लाग्छ। तर सबैलाई मापदण्डभित्र ल्याउँछौँ’, महानिर्देशक पुडासैनीले प्रतिवद्धता जनाए।

    पुडासैनीको भनाईमा बाँकी रहेका ४७ मध्ये ११ वटा उद्योग चिन्ह प्राप्तिको अन्तिम प्रक्रियामा छन्। आवेदन दिएका र अन्तिम प्रक्रियामा रहेका उद्योगहरुमा कोशी, नोबेल, श्री राम, त्रिशुल, नमस्ते, सगरमाथा, सिदार्थ, बाबा, श्री ग्यास लगायत छन्।

    त्यस्तै अन्य ३६ ग्यास उद्योगहरुले मापण्डभित्र पर्ने गरी सुधार तथा अपग्रेडको कार्य गरिरहेको जनाउँदै चिन्हका लागि आवेदन दिएका छन्। यी उद्योगको निरीक्षण प्रारम्भिक चरणमा रहेको तथा छिटै प्रक्रियामा आइसक्ने पुडासैनीको दाबी छ।

    तर पुडासैनीले छिटै मापदण्ड भित्र ल्याइसक्ने दाबी गरिरहेता पनि राजनैतिक दबाब तथा वार्षिक विदा सकाउन अधिकांश कर्मचारी विदामा बसेकाले सम्पूर्ण अनुगमनको कार्य सेलाएको छ।

    तर हालभने विभागले कुनै अनुगमन तथा निरीक्षण गर्न सकेको छैन। पुडासैनी स्वयं अनुगमनले तिब्रता नपाएको कुरा स्वीकार गर्छन्।

    ‘हाम्रो अनुगमन केहि सेलाएको पक्कै हो। चैतमा अधिकांश कर्मचारी वार्षिक विदा सकाउन छुट्टीमा बसेका छन्। वैशाख महिनाबाट पुनः तिब्ररुपमा एक्सनमा निस्कन्छौँ’, पुडासैनीले भने।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij