प्रकाशित मिति : आइतवार, बैशाख २३, २०७५
यातायात व्यवसायीहरू आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिँदै कम्पनीमा जान तयार भएका छन्। सरकारले सिन्डिकेट अन्त्य गर्ने निर्णय गरेको विरोधमा आन्दोलनमा उत्रिएका व्यवसायी र सरकारबीच आईतबार मध्यरात भएको सहमतिमा आन्दोलनका कार्यक्रम फिर्ता लिने सहमति भएको वार्तामा सहभागी एक सदस्यले सेतोपाटीलाई जानकारी दिए।
यातायात मन्त्रालयमा आइतबार राति अबेरसम्म भएको व्यवसायी र सरकारी पक्षबीचको वार्तामा व्यवसायीहरू आन्दोलनको कार्यक्रम फिर्ता लिएर कम्पनिमा जानेलगायतका सहमति भएको ती सदस्यले भने।
‘सहमति यस्तै यस्तै छ। विस्तृत विवरण हामी भोलि सोमबार दिउँसो संयुक्त पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गर्नेछौ,’ ती सदस्यले भने,‘अहिले यति बुझ्नुहोस् सहमति भएको छ।’
सरकारले सिन्डिकेट अन्त्य गर्ने निर्णय गरेसँगै विरोधका विभिन्न कार्यक्रम गर्दै आएका व्यवसायीले २१ गते सवारी चलाएनन्।
सरकारले सवारी नचलाउने व्यवसायीलाई पक्राउ गरी रूट परमिटसमेत खारेज गर्ने बताएपछि व्यवसायी लचक भएका हुन्।
उनीहरुले आगामी २७ गतेदेखि अनिश्चितकालीन यातायात हड्ताल लगायतका आन्दोलनका कार्यक्रम सार्वजनिक गरिसका थिए।
शुक्रबार र शनिबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रमान कर्माचार्य, महासचिवसहितका पदाधिकारीहरु पक्राउ परेपछि व्यवसायी सरकारसामू घुँडा टेक्न बाध्य भएका हुन्।
पक्राउ परेका व्यवसायीलाई सरकारले सिन्डिकेट नगर्ने र सरकारलाई सघाउने सर्तमा कागज गरेर रिहा गरेको थियो। त्यसपछि यातायात मन्त्री रघुबीर महासेठसहितको सहभागीतामा राति अबेरसम्म मन्त्रालयमा वार्ता भएको थियो।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij