आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

गन्डकपीडितले दिए भारतीय नहर थुनेर आन्दोलनमा उत्रने चेतावनी

  • प्रकाशित मिति : बिहिबार, जेष्ठ ३, २०७५



  • नवलपरासी, जेठ ३ । पश्चिम नवलपरासीको गन्डक प्रभावित समुदायले भारतले क्षतिपूर्ति नदिए भारतमा सिँचाइका लागि पानी जाने भारतीय नहर थुनेर आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

    गन्डक कमान्ड क्षेत्रभित्र वर्षेनि भइरहेको नोक्सानीको क्षतिपूर्तिको माग सुनुवाइ नभएको भन्दै गन्डकपीडितले पुनः फेरि ‘पानी रोकौं’ आन्दोलनमा उत्रने चेतावनीसमेत दिएका हुन् ।

    गन्डक सम्झौताको मर्मअनुरुप भारतले काम नगरिदिएका कारण पश्चिम नवलपरासीका साविक १३ गाविस क्षेत्रका बालीनाली सबै डुबानमा पर्ने कारणले त्यहाँका किसान नोक्सानी व्यहोर्न बाध्य छन् ।

    मागप्रति बेवास्ता गरे आफूहरु संघर्षमा उत्रन बाध्य हुने गन्डक नदी नियन्त्रण संघर्ष समिति नवलपरासीका अध्यक्ष दूधनाथ गुप्ताले बताए ।

    क्षतिपूर्ति दिलाउनका लागि २०६५ जेठमा भारतमा सिँचाइका लागि पानी जाने नहर थुनेर ‘पानी रोकौं’ आन्दोलन गरिएको थियो ।

    गन्डकपीडितको माग सम्बोधन गर्न नेपाल र भारतीय पक्षबीच २१ बुँदामा सहमति भएको थियो ।

    तर, भारतीय पक्षले ती सहमति कार्यान्वयन नगरेका कारण समस्या ज्यूँको त्यूँ यथावत् रहेका कारण गन्डक कमान्ड क्षेत्रमा पीडा बढ्दै गएको समितिका प्रवक्ता बृजराज कुशवाहाले जानकारी दिए ।

    भारतले गन्डक सम्झौताअनुसार विगत १५ वर्षको क्षतिपूर्ति दिनुपर्ने माग गरिएको छ । नेपाल पक्षको कमजोरीका कारण भारतीय पक्षले क्षतिपूर्ति दिन ढिलाइ गरिरहेको छ ।

    ‘नवलपरासीका गन्डकपीडितका लागि उपरोक्त प्रयास गर्दागर्दै १० वर्षको समय खेर गएको छ, अब धैर्यताको बाँध भत्किन लागेको छ । तसर्थ स्थगित गरिएको ‘पानी रोकौं’ आन्दोलनलाई गन्डकपीडितले पुनः थाल्नका लागि विवश भइरहेकाले जुनसुकै बेला गन्डक नहरको पानी थुन्न बाध्य हुनेछौं’–समितिका अध्यक्ष गुप्ताले भने ।

    विगत १५ वर्षको क्षतिपूर्तिबापत भारतले दुई अर्ब ९३ करोड ६० लाख ९३ हजार ८३ नेपाली रुपैयाँ दिनुपर्ने नेपाली किसानको माग–दावी रहँदै आएको छ ।

    सो रकम पाउनका लागि नेपाल सरकारको २०६६/०९/२८ को निर्णयानुसार सिँचाइ मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई २०६६/०९/२९ गते उक्त रकमका लागि पत्र पठाइसकेको र परराष्ट्र मन्त्रालयले पनि दुईपटक भारतीय दूतावासलाई पत्र लेखिसक्दा पनि केही सकारात्मक उपलब्धि हुन नसकेको प्रवक्ता कुशवाहको भनाइ छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij