प्रकाशित मिति : सोमवार, जेष्ठ २१, २०७५
सांसद सरिताकुमारी गिरीले कन्चनपुरमा जंगली जनावरका कारण घरबारविहीन भएर दुःख पाएका जनताका लागि क्षतिपूर्ति र जनावरका लागि उचित खानपानको व्यवस्थाको माग गरिन् ।
सांसद दिलेन्द्रप्रसाद बडूले ‘प्रधानमन्त्रीको चीन भ्रमणका कुरा आएको छ, भ्रमणमा कुन–कुन बुँदामा चीनसित छलफल गरिने हो सो विषयको जानकारी सदनलाई गराइयोस्’–भने ।
त्यसैगरी, सांसद महेन्द्रराय यादवले वर्षौंदेखि तराईमा बसिरहेका नागरिकले जन्मसिद्ध आधारमा नागरिकता पाउन सकेका छैनन् भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।
सांसद प्रेम सुवालले वैदेशिक रोजगारीका नाममा नेपाली छोरीहरुलाई दासजस्तै बेचिएका, गाउँका दूरदराजमा मानवतस्कर पल्कँदासमेत सरकारले त्यसतर्फ ध्यान दिन नसकेको आरोप लगाए ।
सांसद अञ्जना बिसन्खे र कलुदेवी विकले नेपाल छुवाछूतमुक्त राष्ट्र घोषणा भएपनि भेदभाव र छुवाछूतका नाममा दलितले ज्यान गुमाएका थुप्रै उदाहरण रहेकाप्रति संसदलाई जानकारी गराए ।
त्यसैगरी, संसदको विशेष समयमा क्रमशः सांसदहरु रामबहादुर विष्टले महँगी नियन्त्रण हुन नसकेको, सोमप्रसाद पाण्डेले पाल्पा सडक दुर्घटनामा परेका घाइतेको उचित उपचारको माग, गणेश ठग्गुनाले दार्चुला सडक निर्माणकार्य नेपाली सेनालाई दिनुपर्ने, कृष्णकुमार श्रेष्ठले अमरसिंह मार्ग निर्माण र बन्दिपुरलाई आधुनिक पर्यटकस्थलकारुपमा विकास गर्न माग गरे ।
त्यसैगरी, सांसद दुर्गा पौडेल, सरवतआरा खानम हलवाई र उमा रेग्मीले पेट्रोलियम पदार्थको मूल्य बढाइएकामा आपति जनाउँदै ‘मूल्य नियन्त्रण गर्न सरकारको ध्यान जाओस्’–भने ।
सांसद शान्ता चौधरीले दाङ, बाँके, बर्दिया, कैलाली र कन्चनपुरका कमैयामाथि भेदभाव बढेकोप्रति सरकार र संसदको ध्यानाकर्षण गराइन् । रासस
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij