आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

तीनसय महिलाको पाठेघर परीक्षण

  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ २९, २०७५



  • फलेवास, पर्वत, २९ जेठ (रासस) : पर्वतको जलजला गाउँपालिकाको माझफाँटमा सोमबार सञ्चालित पाठेघरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा ३०० भन्दा बढी महिलाको पाठेघर परीक्षण गरिएको छ ।

    ग्रामीण भेगका महिलालाई घर गाउँमै स्वास्थ्य सेवा दिने उद्देश्यले प्रदेश नं ४ को सामाजिक विकास मन्त्रालयको आयोजनामा सञ्चालित शिविरबाट ३०० भन्दा बढी लाभान्वित भएका हुन् । स्थानीय माझफाँट महिला बचत तथा ऋण सहकारी संस्थाको व्यवस्थापनमा मल्लाज स्वास्थ्यचौकीमा सञ्चालित शिविरमा महिलाको पाठेघरसम्बन्धी समस्याको पहिचान गरिनुका साथै उपचार गरिएको हो ।

    शिविरमा चेकजाँचको क्रममा डेढ दर्जनभन्दा बढी महिलालाई शल्यक्रियाका लागि रिफर गरिएको मल्लाज स्वास्थ्यचौकीले जनाएको छ ।

    उक्त शिविरमा महिलाको पाठेघरको उपचार, औषधि वितरण तथा परामर्श सेवा उपलब्ध गराइएको थियो । शिविरको उद्घाटन गर्दै जलजला–३ का वडाध्यक्ष देवेन्द्र भण्डारीले महिलामा लाग्ने रोगको कारण पत्ता लगाउनुपर्ने बताउनुभयो । स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा टीकाकुमारी गुरुङले महिलालाई रोग लुकाएर एवं लाज मानेर नबस्न आग्रह गर्नुभयो ।

    उहाँले संसारमा महिलाको मृत्यु हुनेमा पाठेघरको मुखको क्यान्सर दोस्रो ठूलो रोग रहेको भन्दै पाठेघरमा हुने क्यान्सरको समयमै उपचार गरेमा रोग निको हुने बताउनुभयो ।

    पब्लिक हेल्थ नर्स कल्पना गुरुङले महिलामा हुने पाठेघर खस्ने समस्याको पहिचान गरेर उपचार गर्ने उद्देश्यसहित शिविर आयोजना गरिएको जानकारी दिनुभयो ।

    प्रदेश नं ४ का सामाजिक विकास मन्त्री नरदेवी पुनको विशेष पहलमा सञ्चालन भएको शिविरमा जलजला गाउँपालिकाको विभिन्न वडाका महिलाले सेवा लिएका थिए । गाउँमै निःशुल्करुपमा उपचार गर्न पाएपछि विपन्न, दलित तथा जनजाति समुदायका महिला हर्षित बनेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij