प्रकाशित मिति : बिहिबार, जेष्ठ ३१, २०७५
बनेपा, ३१ जेठ (रासस) ठेक्काको काम जिम्मा लिएर समयमा नै काम सम्पन्न नगर्ने एकजना ठेकेदारलाई जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले बुधबार पक्राउ गरेको छ ।
जिल्ला वन कार्यालय, काभ्रेपलाञ्चोक मातहत रहेको इलाका वन कार्यालय, चौबासको भवन निर्माण कार्य जिम्मा लिएर बीचमा नै अलपत्र पारेका अग्रिम निर्माण सेवाका प्रोपाइटर नवीन चौलागाईबाट काम लिएका लालप्रसाद चौलागाईलाई प्रहरीले पक्राउ गरेको हो ।
चौलागाईले २०७३ वैशाख २० गते योजना सम्झौता गरेका थिए । २०७४ वैशाख १९ सम्पन्न गर्ने गरी सम्झौता गरेको उक्त काम ६० प्रतिशत मात्रै सम्पन्न गराई काम अगाडि नबढाएका कारण आवश्यक सोधपुछका लागि बुधबार कात्तिके देउरालीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले बताउनुभयो ।
“चौलागाईलाई आवश्यक सोधपुछका लागि बुधबार पक्राउ गरिएको हो, कस्तो खालको कारबाही हुने भन्ने विषयमा आज टुंगो लाग्नेछ ।” मरासिनीले भन्नुभयो । चौलागाई अग्रिम निर्माण सेवाका प्रोपाइटर नवीन चौलागाईबाट ठेक्का लिएका पेटी ठेकेदार भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकले जिल्लामा ठेक्का सम्झौता गरी समयमा नै काम नगर्ने निर्माण कम्पनीका ठेकेदारको विवरण तयार गरी कारबाहीको प्रक्रिया अगाडि बढाइरहेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले बताउनुभयो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij