आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आफ्नै मेहनतमा उभिने अपांगता भएकाहरुको इच्छा

  • प्रकाशित मिति : शनिबार, असार ३०, २०७५



  • बर्दिवास, ३० असार (रासस)- ‘भाग स ठगायल हम अपन पयर में ठार होब चाहैछि, मिहिनेत हम करब साथ अहाँक चाहैछि’ (भाग्यले ठगिएकी म आफ्नै खुट्टामा उभिन चाहन्छु, मेहनत म आफैँ गर्छु, साथ तपार्इँको चाहन्छु) ।
    न्यून दृष्टियुक्त भएर पनि मुढा र अगरबत्ती बनाउने सीप सिकेकी महोत्तरी जिल्ला गौशाला नगरपालिका–९ बिसरपुरकी २५ वर्षीया ललितासिंह दनुवारले आफ्नै नगरप्रमुख शिवनाथ महतो र नेपाल नेत्रहीन संघ पुनःस्थापन कार्यक्रम महोत्तरीका कार्यकारी निर्देशक अमृत राईसँग अनुरोध गरिन् ।

    नगरपालिकाको सहयोगमा नेपाल नेत्रहीन संघ पुनःस्थापन कार्यक्रम महोत्तरी र महोत्तरी नेत्रहीन संघ बर्दिवासले आयोजना गरेको अपांगता भएकाहरुका लागि आयोजित २१ दिने तालीमबाट भर्खरै मुढा बनाउन सिकेकी ललिताले सीप सिके पनि त्यसलाई उद्यममा प्रवद्र्धन गर्न अर्थाभाव भएकाले सो चाँजोका साथै मुढाको बजार खोजिदिन नगर प्रमुख र कार्यकारी निर्देशक राईसँग मातृभाषा मैथिलीमा आग्रह गरिन् ।

    स्वास्थ्य चेतना र अर्थाभावले छ÷सात वर्ष पहिले आँखाको ज्योति गुमाएकी ललितालाई सीप अभ्यासमा नलाँदा क्रमशः बिर्सदै गएको अनुभव छ । “हम अइस पहिने अगरबत्ती बन्बबाला तालीम सेहो लेनेछली” (मैले यसअघि अगरबत्ती बनाउने तालीम पनि लिएकी थिंएँ), ललिताले भन्नुभयो, “मुदा, तालिम के वाद ओ वनेवाक काज के निरन्तरता नई देव सकला स कतेको वात भुला गेल छि” (तर तालीमपछि निरन्तर त्यो बनाइरहने अभ्यास नगर्दा कतिपय कुरा बिर्सेजस्तो लाग्छ) ।

    सात वर्षअघि आँखाको डिलमाथि साना चिलाउने खटिरा आएर असजिलो भएको आमालाई बताउँदा छिमेकीले थोत्रा थाङ्ना डढाएको खरानी आँखामा दल्न सल्लाह दिएअनुसार गर्दा आँखाको ज्योति गुमेको थियो । “बुद्धि आ धन नई भेला स हमर आँइख गुमल” (चेतना र धन नहुँदा मेरो आँखा गुम्यो), ललिताले भन्नुभयो, “अई पीडा के भुइलक आब किछ कर चाहैछि, मदत जुटादिय ।” (यो कुरा बिर्सेर अब केही गर्न चाहन्छु, सहयोग जुटाइदिनोस् ) एउटा भाइ र एउटी बहिनीकी दिदी ललिता आर्थिक अवस्था ठीक रहेको भए आमाले छिमेकीको कुरा नसुनेर अस्पताल पु¥याउनुहुन्थ्यो होला भन्ने अनुमान गर्छिन् ।

    ललितासँगै मुढा बनाउन सिकेकी गौशाला–१२ कान्तिबजारकी १५ वर्षीया शोभा साहको भने अपांगता भएकालेस्कूटी चढेर विद्यालय जाने सपना छ । दुवै गोडा बाङ्गिएर वैशाखी काखीमा च्यापेको सहाराले हिँड्ने शोभाले अहिले आफ्नो ध्येय पढ्ने र सीप सिक्नेमा केन्द्रित रहेको बताइन् । “मेरो अवस्था हेरेर केहीले खिल्ली उडाउँछन्”, आफ्नो बस्तीकै कान्तिबजार माध्यमिक विद्यालयमा १० कक्षामा पढ्दै गरेकी शोभाले नेपाली भाषामा भनिन्, “ती खिसी गर्नेलाई अपांगता भएका पनि विशिष्ट काम गर्न सक्छन् भन्ने देखाउन निकै पढ्ने धोको छ ।”

    पढ्ने र कुनै नयाँ सीप सिक्ने अवसर आफ्ना लागि खूबै रमाइलो हुने गरेको शोभाले बताइन् । “अब मुडा बनाउन चाहिने सामान त मेरो बाबा (बुबा) ले जुटाइदिनुहुन्छ, त्यो किनिदिने मान्छे र स्कूटी चढ्ने रहर चैँ तपाईँहरुले पु¥याइदिनुपर्छ” शोभाले भनिन् । पहिलो चोटि बनाइएको दुई मुढा गौशालामै रु एक हजारमा बिक्री भएको बताउँदै शोभाले भन्नुभयो, “विद्यालयमा रहनेबाहेकको समय खर्चँदा सातामा एउटा मुडा बनाउने रहेछु, महीनामा बनेका चार वटा मुडा यस्तै भाउमा बेच्न सके मलाई चाहिने स्टेशनरी सामान आफ्नै कमाइले पु¥याउँथँे ।”

    पछिल्लो पटक यही असारमा सञ्चालित मुढा बनाउने तालीममा सहभागी २५ जनामध्ये २० न्यूनदृष्टियुक्त, दुई गोडाको अपांगता र अन्य कान नसुन्नेले राम्रो सीप सिकेको प्रशिक्षक पूर्ण परियारले बताए । अपांगता भएकाहरुले तालीमबाट सिकेको सीपलाई उद्यम र बजार प्रवद्र्धन गर्न सघाउने नगर प्रमुख महतोले बताउँदा सहभागीमा उत्साह जागेको सहभागीमध्येकै गौशाला–१० का ६० वर्षीय न्यूनदृष्टियुक्त रामलोचन मण्डल बताउँछन् । “जन्मे स आँइख नइ अइ, मुदा ककरो भार बन नई चाहैछि” (जन्मँदै मेरा आँखा थिएनन्, तर कसैको बोझ बन्न चाहन्न) मण्डलले भने, “हम पहिनहुँ स किछकिछ काज करैत आयल छि, बिया उखारके, जौडी बाटके, अई बीच मे मुडा बनावके सेहो सिखलिय, आब मिहिनेत हमसब करब, वातावरण अहाँसब बनादिय” (म पहिले पनि धानको बीउ उखाल्ने, डोरी बाट्ने गर्थेँ, भर्खरै मुडा बनाउन सिकेको छु, मेहनेत हामी आफँै गर्छौं, वातावरण तपाईँहरुले मिलाइदिनोस्) ।

    ललिता, शोभा, रामलोचनजस्तै गौशाला–१० का ४५ वर्षीय न्यूनदृष्टियुक्त महेन्द्र ठाकुर पनि मुढा बनाउने सीप सिकेपछि आफूमा निकै जाँगर बढेको बताउँछन् । “अरु सबलाङ्गले हेर्दा यिनीहरुले के गर्लान् र भन्ने त पर्दो होला” ठाकुरले नेपालीमै भन्नुभयो, “तर,हामी जस्तोसुकै अप्ठ्यारो काम पनि अभ्यास र मेहनतले पूरा गर्न सक्छौँ ।” स्थानीय तहले आफूहरुलाई खान सातु किनिदिन नभई सीप बढाउने तालीम दिएर उद्यम र बजार प्रवद्र्धनमा सहयोग गर्दा पुग्ने ठाकुरको थप भनाइ छ ।

    अपांगता भएकाहरुमा बढेको उत्साहले गौशालाका नगर प्रमुख महतो र नेपाल नेत्रहीन संघ पुनःस्थापन कार्यक्रम महोत्तरीका कार्यकारी निर्देशक राईलाई पनि हौस्याएको छ । “तालीममा देखाएको सरीकता र उहाँहरु (अपांगताभएका) ले सिक्नुभएको सीपलाई हेर्दा निकै विश्वास जागेको छ”, महतोले भने, “अब उहाँहरुको सीपलाई उद्यम र बजारमा प्रवद्र्धन गर्न आवश्यक छ ।” यसका लागि नगरपालिकाले अन्य सरोकार भएकाहरुसँग समन्वय गरेर काम गर्ने महतोको भनाइ छ ।

    नेत्रहीन संघ पुनःस्थापन कार्यक्रमका कार्यकारी निर्देशक राईले पनि अपांगता भएकाहरुलाई आर्थिक रुपले आत्मनिर्भर बनाउन आफ्नो प्रयत्न केन्द्रित हुने बताए । “म आफैँ दृष्टिविहीन हुँ”, राईले भने, “म अपांगता भएका साथीको मनोदशा र अवस्था पनि बुझ्दछु, मेरो सारा प्रयत्न उहाँहरुमै केन्द्रित मात्र हैन समर्पित छ ।” अपांगता भएकामा देखिएको उत्साह र कामप्रतिको समर्पणले यिनीहरु जस्तोसुकै काम गर्न पनि सक्षम देखिएको गौशालास्थित त्रिभुवन माविका प्रधानाध्यापक आमोदप्रसाद साहको ठम्याइ छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij