आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

जग्गाको कित्ताकाटमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने तयारी

  • प्रकाशित मिति : शनिबार, असार ३०, २०७५



  • बुटवल, ३० असार (रासस)- कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले जग्गाको कित्ताकाटमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने तयारी भइरहेको बताउनुभएको छ ।

    आज तिलोत्तमा नगरपालिपाकाको मणिग्राममा गाउँब्लक जग्गाको जग्गाधनी प्रमाण पूर्जा वितरण समारोहमा उहाँले भन्नुभयो, “कृषि भूमिको संरक्षण हुनेगरी कित्ताकाटमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने तयारी सरकारको छ ।”

    मन्त्री खनालले जग्गा व्यवस्थापन सम्बन्धी आवश्यक नीति बनाएर कित्ताकाटमा देखिएको गाँठो फुकाउने बताउँदै “यस सम्बन्धमा प्रधानमन्त्रीसँग पनि छलफल गरेको छु, एक महिनाभित्र यो विषयलाई हामीले टुंग्याउने छौं भन्नुभयो । ”

    गत साउन २६ मा तत्कालीन भूमिसुधारमन्त्री गोपाल दहितको मन्त्रिस्तरीय निर्णयबाट वर्षमा एक पटक वा अदालतको फैसला र अंशबन्डामा मात्र कित्ताकाट गर्न पाउने व्यवस्था कायम छ ।

    मन्त्री खनालले नीतिमा कित्ताकाट रोकिए पनि व्यवहारमा रोकिएको छैन्, बरु यसले अनेक विकृति बढाएकोछ, त्यसैले सरकारले नयाँ व्यवस्था गर्न थालेको बताउनुभयो । स्थानीय तहले भूउपयोग योजना बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै उहाँले रुपन्देहीमा खेतीयोग्य जमीनको संरक्षण गरिनुपर्ने बताउनुभयो ।

    प्रदेशसभा सदस्य दधिराम न्यौपानेले जग्गाको कित्ताकाट रोकिँदा मालपोत र नापी कार्यालयमा धेरै विकृति देखिएको उल्लेख गर्दै समस्या समाधानका लागि संघीय सरकार गम्भीर हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

    नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले कित्ताकाटमा लगाइएको रोकले ल्याएको समस्याप्रति जानकार रहेको उल्लेख गर्दै आफूहरु नीति बाहिर जान नसक्ने बताउनुभयो ।

    तिलोत्तमा नगर प्रमुख वासुदेव घिमिरेले नगरभित्रको जग्गाको वैज्ञानिक व्यवस्थापनमा नगरपालिका क्रियाशील रहेको छ भन्नुभयो ।

    तिलोत्तमाका ११२ जनाले पाए जग्गाधनी प्रमाणपूर्जा

    रुपन्देही तिलोत्तमा नगरपालिका वडा नं १५ र १७ का ११२ जनाले गाउँब्लक जग्गाको जग्गाधनी प्रमाणपूर्जा प्राप्त गरेका छन् ।

    कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल, प्रदेशसभा सदस्य दधिराम न्यौपाने, नगर प्रमुख वासुदेव घिमिरे र उप–प्रमुख जागेश्वरी चौधरीले उनीहरुलाई जग्गाधनी प्रमाणपूर्जा प्रदान गर्नुभयो ।

    नापी कार्यालय रुपन्देहीले साविक मधवलिया १ (क) को किता नं ८९ र ९८ तथा गंगोलिया ३ (ख) को कित्ता नं १३२ को गाउँब्लक जग्गाको जग्गाधनीलाई प्रमाण पूर्जा वितरण गरेको हो । यसअघि नापजाँच हुने क्रममा छुटेका स्थानीय बासिन्दाले झण्डै ५० वर्षपछि आफूले प्रयोग गरेको जग्गाको प्रमाण पूर्जा प्राप्त गरेका हुन् ।

    नापी कार्यालयका अनुसार शनिबार झण्डै पाँच बिगाहा क्षेत्रफल जग्गाको प्रमाण पूर्जा वितरण गरिएको छ । नापी कार्यालय रुपन्देहीका प्रमुख नापी अधिकृत जनकबहादुर भण्डारीले क्रमशः तिलोत्तमा नगरपालिकामा रहेका अन्य गाउँब्लक जग्गाको जग्गाधनी प्रमाण पूर्जा पनि वितरण गरिने जानकारी दिनुभयो ।

    जनप्रतिनिधिको तत्परताका कारण पछिल्लो पटक तिलोत्तमाबाट गाउँब्लकको जग्गाधनी प्रमाण पूर्जा वितरण शुरु गरिएको उहाँले बताउनुभयो । तिलोत्तमाका अन्य वडामा समेत गाउँब्लक जग्गा रहेको छ ।

    उपयोग गरेको वर्षौंपछि जग्गाधनी प्रमाण पूर्जा प्राप्त गर्दा स्थानीय बासिन्दा अत्यन्त खुशी भएका छन् । तिलोत्तमा–१७ भरौलियाकी ७० वर्षीय मालतीदेवी थरुनीले जीवनको उत्तराद्र्धमा जग्गाधनी प्रमाण पूर्जा प्राप्त गर्दा आफू निकै खुशी भएको बताइन् ।

    यस्तै तिलोत्तमा– १५ की ६० वर्षीय कोइली चौधरीले लामो समयको प्रतिक्षापछि बल्ल प्रमाण पूर्जा पाएको बताउँदै अब बल्ल जग्गाको वास्तविक धनी भएको बताइन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij