प्रकाशित मिति : मङ्लबार, साउन २९, २०७५
सुर्खेत, २९ साउन – कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले कर्णाली उत्कृष्ट पर्यटकीय गन्तव्य भएको बताउनुभएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा सोमबार आयोजित ‘व्यावसायिक तथा प्राविधिक शिक्षा नीति निर्माणार्थ सुझाव संकलन’ कार्यक्रममा मन्त्री रावलले कर्णाली प्रदेश जलविद्युत्, जडीबुटी, कृषिका साथै पर्या–पर्यटनका लागि महत्वपूर्ण गन्तव्य भएको बताउनुभयो । उहाँले प्राविधिक तथा व्यावसायिक शिक्षा नीति निर्माणमा जोड दिनुभयो । “शिक्षा क्षेत्र बेरोजगार उत्पादन गर्ने कारखाना भएको छ,” उहाँले भन्नुभयो, “शिक्षा गरिखाने हुनुपर्छ, ठगी खाने होइन ।”
प्राविधिक शिक्षा नीति निर्माण (सिटिईभिटी) सुझाव सङ्कलन कार्यदलका सदस्य डा सुनिलबाबु श्रेष्ठले सरकार, नीजि क्षेत्र र सहकारी साझेदारीबाट जानसके मात्र विकास हुने बताउनुभयो । उहाँले भन्नुभयो, “मुलुकमा अब जागिर दिने शिक्षाको आवश्यकता छ ।” वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले पछिल्लो समयमा भनसुन गरेर मात्र परीक्षामा पास भइन्छ भन्ने डरलाग्दो परिपाटी बसेको बताउनुभयो ।
शिक्षा समन्वय इकाई सुर्खेतका प्रमुख जीतबहादुर शाहले प्राविधिक तथा व्यावसायिक शिक्षा नीति सङ्घले तयार गर्नुपर्नेमा जोड दिनुभयो । स्थानीय आवश्यकतालाई मध्यनजर गरी नीति तयार गर्न उहाँले सुझाव दिनुभयो । सामाजिक विकास मन्त्रालयका सचिव गिरिजा शर्मा, उपसचिव भक्तबहादुर ढकाललगातले आफ्नो सुझाव दिनुभएको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij