आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक अभियान

  • प्रकाशित मिति : बुधबार, भदौ १३, २०७५



  • बाँके, भदौ १३ । सडक दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जिल्लामा छड्के चेकजाँच र सचेतनामूलक अभियानलाई तीव्रता दिएको छ ।

    दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले नियमित छड्के चेकजाँच गर्नुका साथै सवारी चालकलाई ट्राफिक नियमबारे सचेत गराइरहेको छ । छड्के चेकजाँच थालेपछि कारवाही पनि ह्वात्तै बढेको छ ।

    सवारी दुर्घटना कम गर्ने तथा ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कारवाहीको दायरामा ल्याउन छड्के चेकजाँच थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक हीरेन्द्र रोकायले जानकारी दिए ।

    शहर र ग्रामीण क्षेत्र दुबैमा छड्के चेकजाँँच थालेको ट्राफिक प्रहरीले जनाएको छ । प्रायःजसो सवारी चालक अनुमति पत्र (लाइसेन्स) बिना र मादकपदार्थ सेवन गरी सवारी चलाउने ट्राफिक प्रहरीलाई छक्याउँदै चेकजाँज गर्ने भन्दा फरक रुटबाट आवातजावात गर्ने पाइएकाले उनीहरुलाई कारवाहीको दायरामा ल्याउन पनि छड्के चेकजाँच थालिएको जनाइएको छ ।

    क्षमता भन्दा धेरै यात्रु बोक्ने तथा मनपर्दी भाडा असुली गर्ने बसलाई पनि कारवाही गर्ने प्रहरी निरीक्षक रोकाको भनाइ छ । उनले भने, ‘क्षमताभन्दा बढी यात्रु रहेको सवारी देखेमा प्रहरीलाई खबर गर्नुहोस्, यसमा स्वयं यात्रु पनि सजकहुनुपर्छ ।’ बिना लाइसेन्स सवारी चलाउँदा दुर्घटना भएमा चालकलाई नै समस्या पर्ने ट्राफिक प्रहरीको भनाइ छ ।

    ‘बिना लाइसेन्स सवारी चलाउनु चालककै लागि घातक हो,’ उनले भने, ‘यदि लाइसेन्स नभएका दुर्घटनामा पर्नुभयो भने कानूनले उहाँहरुलाई नै दोषी मान्छ, बीमा कम्पनीले पनि क्षतिपूर्ति दिन मान्दैनन्, त्यसैले कानूनअनुसार जेल सजायदेखि जरिवाना तथा क्षतिपूर्तिसमेत भराउनुपर्ने हुन्छ ।’

    यस्तै दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले नेपालगञ्ज कोहलपुर सडक खण्डका विभिन्न स्थानमा सचेतनामूलक बोर्ड लगाएको छ । ‘कोहलपुर सडक खण्डको पिपरीमा बाइक स्केल्लेटन राखिएको छ,’ ट्राफिक चेकपोष्ट राझाका इन्चार्ज दिनशकुमार पण्डितले भने, ‘नेपालगञ्ज कोहलपुर सडक खण्डमा दैनिकजसो दुर्घटना बढ्दै गएका कारण बढी दुर्घटना हुने स्थानमा दुर्घटना भएको बाइक राखेर सचेतीकरण गरिएको हो ।’

    उनले अत्याधिक सडक दुर्घटना हुने अन्य ठाउँमा यस्ता जनचेतनामूलक बोर्ड राख्ने योजना रहेको पनि बताए । सबैभन्दा बढी मोटरसाइकल दुर्घटनामा पर्ने हुँदा उनीहरुका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ, यसले दुर्घटना न्यूनिकरणमा सहयोग पुग्ने विश्वास इन्चार्ज पण्डितको छ ।

    ४३ दिनमा रु १२ लाख राजश्व 

    जिल्ला ट्राफिक कार्यालय बाँकेले साउन १ गतेदेखि भदौ १२ गतेसम्ममा रु १२ लाख १५ हजार पाँच सय राजश्व सङ्कलन गरेको छ ।

    साउन महिनामा मात्रै ट्राफिक नियम विपरीत चलेका सवारी साधनमध्ये सबैभन्दा धेरै ७११ वटा मोटरसाइकल कारवाहीमा परेका छन् ।

    सोही अवधिमा ५३९ वटा ट्रक, २४१ जीप, कार, १३९ बस र ८४ वटा अन्य (अटो रिक्सालगायत) सवारी साधन कारवाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको तथ्याङ्क छ । तथ्याङ्कअनुसार साउन १ गतेदेखि हालसम्म नौ वटा गम्भीर खालका दुर्घटना भएका छन् ।

    दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । प्रहरी निरीक्षक रोकायका अनुसार गम्भीर खालका दुर्घटनाको दर पनि उच्च रहेको छ । सामान्य खालका दुर्घटना अत्यधिक रहे पनि रेकर्ड भने राखिँदैन । कारवाहीमा पर्नेमा अधिकांश १० देखि ३० वर्ष उमेर समूहका बिना लाइसेन्स तीव्र गतिमा सवारी चलाउनेको सङ्ख्या धेरै रहेको ट्राफिक प्रहरीले जनाएको छ । (रासस)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij