प्रकाशित मिति : बुधबार, भदौ २७, २०७५
दश किलोग्राम अबैध सुन समातेका प्रहरी नायब निरीक्षकलाई जिल्ला प्रहरी कार्यालय गोरखाले २ हजार १ सय रुपैंयाले पुरस्कृत गरेको छ।
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकास्थित प्रहरी चौकी सिर्दिबासमा कार्यरत प्रनानि तुलबहादुर सेनलाई पुरस्कृत गरिएको प्रहरी उपरीक्षक विमल बस्नेतले जानकारी दिए।
‘लोभलाचमा नपरी कर्तव्य पूरा गरेकोले सइसावलाई पुरस्कृत गरेका हौं’, एसपी बस्नेतले सेतोपाटीसँग भने, ‘उहाँ र नेपाल प्रहरीलाई हौसला प्रदान गर्न पुरस्कृत गरिएको हो।’ प्रहरी नियमावलीअनुसार १ हजार ५ सयभन्दा बढी पुरस्कार दिन नमिल्ने भए पनि आफूहरुले २ हजार १ सय पुरस्कार दिएको उनले बताए। 
चीनको तिब्बतबाट उत्तरी गोरखा हुँदै ल्याउँदै गरेको १० किलो सुन प्रहरीले गत शनिबार बरामद गरेको थियो। सुनसहित दुई जना पक्राउ परेका छन्। उक्त सुन छेकम्पारको ङुइला नाका हुँदै नेपाल भित्रिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
चुमनुब्री गापा छेकम्पारका ५८ वर्षका छिरिङ ङुइटुप लामा र २८ वर्षका लोप्साङ तेन्जे लामाको साथबाट प्रहरीले सुन बरामद गरेको थियो। ‘पक्राउ परेकाहरुलाई कारबाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन काठमाडौं पठाइएको छ’ एसपी बस्नेतले भने। उनीहरुले चिनियाँ नागरिकबाट ५० हजार रुपैंया ज्याला पाउने भएपछि सुन बोकेको बयान प्रहरीलाई दिएका थिए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij