प्रकाशित मिति : आइतवार, कार्तिक २५, २०७५
महेन्द्रनगर : गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखाम निवासी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा सार्वजनिक गर्न माग गर्दै कञ्चनपुरमा पुनः आन्दोलन सुरु भएको छ ।
हत्यारा सार्वजनिक गर्न माग राखेर आइतबारदेखि निर्मलाका बुवाआमा, घरपरिवारका सदस्यसहित अधिकारकर्मीहरुले जिल्ला प्रशासन कार्यालय अगाडि अनिश्चितकालिन धर्ना सुरु गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको मुलगेट बाहिर हत्यारा सार्वजनिक गर्न माग राखेर धर्ना सुरु गरिएको हो । हत्या भएको सय दिन बितिसक्दा पनि हत्यारा सार्वजनिक नगरिएको भन्दै निर्मला बुवाआमासहित अधिकारकर्मीहरुले पुनः आन्दोलन शुरु गरेका हुन् ।
‘अहिलेसम्म छोरीका हत्यारा सरकारले सार्वजनिक गरेको छैन’, ’धर्नामा बस्नु अघि बाबु यज्ञराजले भने, ‘यो धर्ना अनिश्चितकालिन हो, छोरीका हत्यारा सार्वजनिक नहुन्जेसम्म रोकिने छैन ।’
उनले चौबीसै घण्टा आफू प्रशासनको गेट बाहिर धर्ना बस्ने बताए । आइतबारदेखि सुरु भएको धर्नामा दुर्गादेवी पन्त र लक्ष्मीदेवी पन्तसमेत बसेका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij