आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

रेशम चौधरीको शपथः संसदीय इतिहासमै कालो धब्बा

  • प्रकाशित मिति : शनिबार, पुस २१, २०७५



  • बैतडी जिल्लाको टिकापुर घटना अझैपनि हामीसामू ताजै छ । हिंसात्मक घटनाका घाउहरु अझै सञ्चो भएका छैनन् । रगतका भेल र धर्काहरु अझै मेटिएका छैनन् । पीडितका आँसुहरु अझै ओभाएका छैनन र त्रासादिपूर्ण हिंसात्मक घटनाको त्रासले मानिसहरु अझै तर्सिरहेका छन । सातजना सुरक्षाकर्मीसहित दुधे बालकको पनि निर्मम हत्या भएको थियो । आगजनी र लुटपाटको कुनै लेखाजोखा छैन ।

    आन्दोलनको पनि आफ्नै नियम, सिद्धान्त र नेतृत्व हुन्छ । तर दुध खाँदै गरेको बालकको किन निर्मम हत्या भयो ? के यसलाई राजनीतिक आन्दोलनसँग जोड्न मिल्छ ? दुध खाँदै गरेको बालकले कसको राजनीतिमा के फरक पारेको थियो र ? बालकको कोसँग के पूर्वाग्र हुन्छ ? कि रिसिवी हुन्छ ? आन्दोलन राजनीतिक हुनसक्छ तर यस प्रकारका निर्मम हत्या त्यो पनि दुधे बालकको कहिले पनि राजनीतिक हुन सक्दैन, यो अपराध नै हो । यसलाई राजनीतिको आवरणले ढाकछोप गर्नुहुँदैन ।

    उक्त घटनाका आरोपित मध्येका एक रेशमलाल चौधरी जो गत आमनिर्वाचनमा कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । उनै रेशम चौधरी पुर्पक्षका लागि थुनामा छन् । कानुनतः उनी निलम्बित रहेको अवस्था हो । प्रचलित कानून र अदालतको न्यायीक प्रकृयामा उनी निर्दोष सावित हुन पनि सक्छन । तर पुर्पक्षको लागि थुनामा रहेको व्यक्तिलाई पुस १९ गते संसद सचिवालय सिंहदरवारमा संसद सदस्यको शपथ गराइएको छ ।

    संसदीय इतिहासमै नभएको यस्तो घटनाप्रति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चासो पूर्वक हेरिएको छ । संसदीय इतिहासमा अर्को कालो धब्बा थपिएको छ । समाजले राजनीतिप्रति हेर्ने दृष्टि धुमिल भएको छ । नेता र राजनीतिप्रति रहेको नकारात्मक दृष्टिकोणलाई यस प्रकारको घटनाले फेरी मलजल गरेको छ । राजनीतिलाई यसले लज्जित बनाएको छ । घट्नाका पीडितहरुलाई न्याय दिलाउने र क्षतिपूर्ति प्रदान गर्ने प्रक्रिया र जिम्मेवारीबाट पछि हटेर सरकारले यो लज्जास्पद क्रियाकलाप गर्नाले संसदको सम्मानित लोगो र पदमाथि अपमान भएको महसुस भएको छ ।

    मानव अधिकारको विश्वव्यापी मान्यता, नेपालको संविधान र नेपालका कानूनहरुलाई यस कार्यले धज्जी उडाएको छ । न्यायीक क्षेत्राधिकार भित्र सरकार र संसद छिरेको छ । शक्ति पृथकीकरणको सिद्धान्तको उपहास भएको छ । टिकापुर घटनाको सम्बन्धमा भइरहेको न्यायीक प्रकृया प्रभावित हुने देखिएको छ । यस्तो प्रकारको घटनाले राजनीतिका नाउँमा अपराध लुकाउने र संरक्षण गर्ने प्रवृत्ति हावी भएको छ । आज संसारसामू फेरी लोकतन्त्र, विधिको शासन र मानवअधिकारको खिल्ली उडाइएको छ । राज्य सरकारको सर्वसाधारण जनताप्रति कुनै जिम्मेवारी देखिएन । लोकतन्त्रप्रतिको आस्थामा चोट पुगेको छ । लोकतन्त्र र विधिको शासनको धज्जी उडेसँगै सरकारको असली चरित्र पनि उदाङ्गो भएको छ ।

    अदालतले मुद्दाको किनारा नलगाउँदै कारागारबाट ल्याएर सिंहदरवारमा सपथ खुवाउने तर बानेश्वर पठाउनुपर्नेमा फेरी डिल्लीबजार नै किन ? यो के तरिका वा नाटक हो ? सरकारको औचित्य के हो ? निर्वाचन भएलगत्तै शपथ गराउन नमिल्ने तर एकवर्षपछि मिल्ने कारण के हो ? जेलमा रहेका सबैलाई छोडौं । भोली निर्वाचन जितेर आउने जतिलाई बानेश्वर र सिंहदरवार पठाऔं, नजित्नेलाई डिल्ली बजार पठाऔं । अदालत र संविधान किन चाहियो ? मैले नबुझेको कुरा सिंहदरवार आउन मिल्ने वानेश्वर आउन नमिल्ने के भयो यस्तो ? संसदको सार्वभौम र मर्यादा अब केही बाँकी रहेन ।

    यी र यस्ता किसिमका क्रियाकलाप र घट्नाक्रमले नेपालको सार्वभौमसत्ता, न्यायिक स्वतन्त्रतामाथि प्रश्न चिन्न खडा गरेको छ । रेशमलाल चौधरी एक पात्र मात्र भए तर यस्ता प्रकृतिका घट्ना र क्रियाकलापले नेपाल र नेपालीको गरिमामाथि विश्वले प्रश्न उठाउनेछ । राजनीतिक जोडघटाउ, मोर्चाबन्दीको तालमेल मिलाउन गरिएका यस्ता क्रियाकलापप्रति नागरिक स्तरबाट बुलन्द आवाज उठ्नु जरुरी देखिन्छ । संसदीय मूल्य, मान्यता र नेपालको सिंगो संसदको छवीमाथि प्रश्न उब्जिएको छ । यस्ता कु–कृयाकलापबाट सरकार सचेत रहनु जरुरी छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij