आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

राज्यलाई टेरौं, राज्यले हेरौं

  • प्रकाशित मिति : शुक्रबार, माघ ४, २०७५



  • काठमाडौँ — ट्याक्सी चालकहरूको टाउको दुखेकै थियो । माइक्रोवालाहरू पनि खुसी थिएनन् । मोटरसाइकलमा यात्रु ओसार्ने सेवाका लागि मध्यस्थता गर्ने टुटल र पठाओले राजधानीका यात्रुलाई के सघाउँदै थिए, सरकारको सातो गयो । उसले टुटल र पठाओलाई रोक लगाउन यात्रु ओसार्ने मोटरसाइकल पनि नियन्त्रण गर्‍यो ।
    सरकारले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ देखाएर सहयात्रा सेवालाई गैरकानुनी करार गरेको छ । सही हो, व्यवसाय गर्ने हो भने कहीँ न कहीँ दर्ता हुनुपर्छ, नियमनमा बस्नुपर्छ । उसबारे राज्यलाई जानकारी हुनुपर्छ । आफन्त बोकेको जस्तो मात्रै होइन । सार्वजनिक सवाल हो, सुरक्षाको सरोकार हो । नचिनेको मान्छेसित सेवाको किनबेचको विषय छ । त्यसकारण कुनै पनि सेवा वा व्यवसाय वैधानिक हुँदामात्र व्यवस्थित गर्न सकिन्छ । राज्यलाई टेर्ने, राज्यले हेर्ने हुनैपर्छ ।

    चरित्रका हिसाबले भने यो गैरकानुनी धन्दा होइन । राज्यको कानुनले नचिनेको मात्रै हो । यिनले सहयात्रा मिलाइदिने मध्यस्थता मात्रै गर्दै थिए । यी नवप्रविधि प्रयोग गर्ने सेवालाई धेरै वर्षअघि बनेको कानुन देखाएर बन्देज लगाउनु के निहुँ पाऊँ कनिका चपाऊँ जस्तो हो । यो सेवा ट्याक्सी चढ्नुभन्दा किफायती छ । सार्वजनिक यातायातमा कोचिनुभन्दा सजिलो छ ।

    उनीहरूको आफ्नै मोटरसाइकल छैन । जसको छ उनीहरूले खाली सिटमा आफूलाई जानुपर्ने ठाउँसम्म अरूलाई पुर्‍याएर सशुल्क सेवा दिने हो । दुई वर्ष अघिदेखि सञ्चालनमा रहेको टुटलमा १० हजार बढी चालकका रूपमा दर्ता छन् । उसले दैनिक तीनदेखि चार हजार सहयात्रा मिलाइदिने गरेको छ । यात्रुको पैसा र समयको बचत गरेका छन् । टोटलको प्रयोगकर्ता ४० प्रतिशत महिला छन् । एपले यात्रुलाई चालक छान्ने सुविधा पनि दिन्छ, महिला कि पुरुष ।

    देश र समाजको आड भरोसा पाएरै विश्वमा स्थापित कतिपय कम्पनी पहिले यसैगरी जन्मिएका थिए । संसारको सबभन्दा ठूलो होटल एयरबीएन्डबीको एउटा पनि कोठा छैन, ठूलो ट्याक्सी कम्पनी उबरको एउटा पनि ट्याक्सी छैन, सबभन्दा ठूलो मिडिया कम्पनी फेसबुकको एउटा पनि सञ्चार सामग्री छैन ।

    ऐनमा सार्वजनिक सवारी र यातायात सेवाबारे व्यवस्था गरिएको छ । टुटल र पठाओजस्ता कम्पनी यीअन्तर्गत पर्दैन । सरकारले नीतिगत अस्पष्टता भएको विषयमा नियम बनाएर नियमन गर्नुपर्थ्याे , पुरानो कानुनको कटबाँस नै प्रयोग गर्‍यो ।

    राइड सेयरिङ सेवाको भाडा दर र त्यसमा प्रयोगकर्ताको सुरक्षा र गोपनीयताका लागि सरकारले नियम बनाउन सक्छ । यस्ता कम्पनीको एप प्रयोग गर्नेहरूको व्यक्तिगत जानकारी र विवरणको गोपनीयता तथा भाडा दरसम्बन्धी मापदण्ड बनाउनुपर्छ । यसअघि पेमेन्ट गेटवेसम्बन्धी कानुन नहुँदा सरकारले मापदण्ड बनाएर नियमन गर्न थालेको छ ।

    सरकारले नवप्रवर्तनलाई नकार्ने होइन, सकार्ने हो । उद्यमशीलता प्रोत्साहन गर्ने राज्यको नीति हुनुपर्छ । नवोत्पादनलाई जोड दिने, सिर्जनशीलतालाई प्रोत्साहन गर्ने हो । यिनीहरू कसैको प्रतिस्पर्धी होलान्, सरकारको विरोधी होइनन् । बरु यिनले राज्यको जिम्मेवारीमै पर्ने सार्वजनिक यातायातलाई सघाएका छन् । यात्रुलाई विकल्प दिएका छन् । स्वरोजगारी बढाएका छन् ।

    देशभित्र पेसा व्यवसाय र उद्यम गर्नेहरू राज्यको नियमनमा हुनैपर्छ । करको दायरामा पनि आउनुपर्छ । राज्यले त्यसका लागि कदम चाल्न सही समय छ । संसद्मा केही नेपाल ऐन संशोधन विधेयक संशोधनका क्रममा छ । त्यसअन्तर्गत सवारी तथा यातायात व्यवस्था ऐन पनि छ । ‘सेयरिङ राइड’ लाई पनि समेट्न सकिन्छ ।

    सेवा दिने खुसी छन्, लिने सन्तुष्ट । यसलाई रोक्नुको साटो नियमनको बाटो खोज्नुपर्छ । कुन बाइकले कुन यात्रुलाई कहाँ चढायो/ओराल्यो, रेकर्ड रहन्छ । सार्वजनिक सवारी सुलभ र सहज नहोउन्जेल यस्तो व्यवस्था रोक्नु यात्रुलाई दबाबमा राख्नु हो ।

    सरकारले हठात् कानुन हातमा लिने होइन । पहिले सूचना दिनुपथ्र्यो । हामी यसलाई व्यवस्थित गर्न खोज्दै छौं भन्नुपर्थ्याे । त्यतिन्जेल सेवा स्थगित गर्न आग्रह गर्न सक्थ्यो । उसले सुरुमै धरपकड गर्न थाल्यो । कुनै स्वार्थ समूहको दबाबमा यसरी अर्को कसैलाई कारबाही गर्ने देखिनु अशोभनीय हो, आपत्तिजनक हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij