प्रकाशित मिति : सोमवार, माघ २१, २०७५
सिन्धुलीको कमलामाई नगरपालिका १ बेल्टारका खुशबहादुर श्रेष्ठले हराएको नगद चार लाख ५० हजार सहितको झोला दुइघण्टा मै फिर्ता पाएका छन् ।
राजधानीबाट घर पुगेका श्रेष्ठले पैसा सहित बोकेको झोला साटिएर अर्कै यात्रुले लगेपछि श्रेष्ठले तत्काल प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक रामेश्वरप्रसाद यादवले बीपी राजमार्गको चियाबारी नजिक चेकिङ्गमा रहेको ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरिक्षक रामेश्वर पाण्डे सहितको टोलीलाइ जानकारी गराएपछि सबै सवारी चेक गर्दा झोला सहितको रकम फेला परेको हो ।
बीपी राजमार्गको शान्तिनगर चोकमा ओर्लिएर झोला सडक किनारमै राखी राजधानी आउनका लागि सवारी साधन कुरेर बसेका दुधौली नगरपालिकाका पञ्चे तामाङले हतारमा सवारी साधनमा उक्लदा साटिएको थियो । विदेश लामो समय काम गरेर फर्किएका श्रेष्ठले जग्गा किनेको रकम बुझाउन राजधानीको बैंकबाट नगद झिकेका थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij