प्रकाशित मिति : सोमवार, फाल्गुन १३, २०७५
काठमाडौं। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रानीपोखरी पुनर्निर्माण कसरी गर्ने भन्ने विषयमा अन्तिम निचोड निकालेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको संयोजकत्वमा बसेको पुरातŒवसम्बन्धी विज्ञसहितको बैठकले रानीपोखरी पुनर्निर्माणको मोडालिटीबारे टुंगो लगाएको हो ।
अब रानीपोखरी पुनर्निर्माण करिब एक फिट तलसम्म खनी घाँस हटाएर सुरु हुने भएको छ । घास हटाएसँगै त्यहाँ रहेको सबै बालुवा पनि निकालेर एक ठाउँमा माटो नमिसिने गरी जम्मा गरिने भएको छ । माटो जम्मा गरेसँगै पोखरीको कालीमाटी रहेको तहमा थप एक फिटको कालीमाटी राख्ने र माटोको तह तयार भएपछि करिब दुई फिटको बालुवा राखिने निर्णय भएको प्राधिकरणले जनाएको छ ।
लामो समयदेखि विवादित रहेको पोखरी डिलबारे पनि निर्णय भएको छ । अब विगतमा रिटेनिङ पर्खाल लगाउँदा बिग्रेको पोखरीको सतहलाई पुरानै तहअनुसार बनाइने भएको छ । त्यसपछि पोखरीको डिलको माथिल्लो भागमा ठूलो पेटी लगाइने भएको छ ।
पोखरीको डिल र फुटपाथको छेउसम्म इँटा सोलिङ एवं लाइम कंक्रिटको काम सम्पन्न गरेसँगै ठाडो इँटा बिछ्याउने कार्य गरिने र हालै बनाइएको ढुंगाको रिटेनिङ पर्खालमा माअप्पाको आवरण लगाई फुटपाथ लेभलमा लाइम कंक्रिटपछि माअप्पाको नै रेलिङ वाल बनाइने भएको छ । त्यसक्रममा फुटपाथमा इँटा सोलिङ र लाइम कंक्रिट गरी दुई इन्च बाक्लो कालो ढुंगा बिछ्याउने प्राधिकरणले निर्णय गरेको हो ।
पोखरीको पानीका लागि पूर्वतर्फ एउटा बोरिङको व्यवस्थासमेत हुने भएको छ । त्यस्तै, ठाउँ ठाउँमा अकासे पानी संकलन गर्ने संयन्त्र निर्माणसमेत हुने भएको छ । पोखरीमा पानीको मात्रा अटुट राख्न मेलम्ची पाइप लाइनसँग जोड्ने प्रावधान पनि खुला राखिने भएको छ । पोखरीको माथिल्लो सतहमा केही मात्रामा माटो राखी हरियाली पनि कायम गरिने भएको छ ।
यसैगरी, रानीपोखरीको बीचमा अवस्थित बालगोपालेश्वर मन्दिरसँग जोडिएको पुलको निर्माण गर्दा पुलको जगदेखि पानीको सतहसम्म ड्राई ड्रेस स्टोन वाल लगाउने र त्यसको बाहिरी भागमा सम्भव भएसम्म पुरानै इँटा प्रयोग गरिने निर्णय भएको छ ।
पुलको वृत–खण्ड र त्यसमाथिको भाग निर्माण गर्दा लाइमरसुर्खी मोर्टार प्रयोग गरिनेछ । पानीको सतहदेखि माथि पुलसम्म निर्माण गर्दा सम्भव भएसम्म पुरानै इँटा प्रयोग हुनेछ । पुलको फुटपाथमा कालो ढुंगाले पेभिङ गर्ने र पुलको दायाँ र बायाँतर्फ दचिअप्पा प्रयोग गरी १४ इन्चको पर्खाल निर्माण गरिने भएको छ ।
यसअघि नै रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर प्रताप मल्लकालीन ग्रन्थकुट (शिखर) शैलीमा पुनर्निर्माण गर्ने टुंगो लागिसकेको छ।
मन्त्रिपरिषद्को १४ माघमा बसेको बैठकले रानीपोखरी र बालगोपालेश्वर मन्दिरलगायत सो क्षेत्रमा रहेका पुराताŒिवक संरचनाको पुनर्निर्माणसम्बन्धी सम्पूर्ण कार्य प्राधिकरणले गर्ने गरी जिम्मेवारी दिएको थियो ।
बैठकमा पुरातŒव विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्की, वरिष्ठ स्ट्रक्चरल इन्जिनियर प्रेमनाथ मास्के, पुरातŒव विभागका स्ट्रक्चरल इन्जिनियर पुरुषोत्तम डंगोल, पुरातŒव विभागकै इन्जिनियर पूर्णबहादुर श्रेष्ठ, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीडीई धु्रव पौडेल, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पुरातŒव अधिकृत भीष्म बाँस्कोटालगायतको सहभागिता थियो । राजधानी दैनिक
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij