प्रकाशित मिति : बुधबार, फाल्गुन १५, २०७५
काठमाडौं । ताप्लेजुङमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा परी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीदलगायत ६ जनाको मृत्य भएकोमा सभामुख कृष्णबहादुर महराले शोक व्यक्त गरेका छन् ।
उनले जारी गरेको शोक वक्तव्यमा मन्त्री अधिकारीसँग भएको अन्तिम भेट पनि सम्झिएका छन् । उनले भेका छन्, ‘६ दिनअघि मात्र फागुन ९ गते पर्यटन मन्त्री रविन्द्र अधिकारी र म नेपाल पत्रकार महासंघको कार्यक्रममा सहभागी हुन एउटै जहाजबाट पोखरा गएको थियौं । सो क्रममा मन्त्री अधिकारीकै आग्रहमा पोखरामा निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गर्नुका साथै कार्य प्रगतिको जानकारी पनि लिएको थिएँ । त्यतिबेला उहाँले उक्त विमानस्थल तोकिएको समयभन्दा ६ महिनाअघि नै पूरा गर्ने गरी काम अघि बढाएको बताउनुभएको थियो ।
शोक वक्तव्य
आज दिउँसो ताप्लेजुङमा भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको अकल्पनीय र आकस्मिक निधन भएको घटनाले मलाई अत्यन्तै मर्माहत बनाएको छ ।
दुःखको यस घडिमा म हेलिकोप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारी, पर्यटन उद्यमी यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्ययन प्राधिकरणका निर्देशक ध्रुवदास भोछिभया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, चालक प्रभाकर केसी र नेपाली सेनाका जमदार अर्जुन घिमिरेप्रति हार्दिक श्रद्धाञ्जली एवं शोकाकूल परिवारजन तथा सबैमा गहिरो समवेदना व्यक्त गर्दछु ।
६ दिनअघि मात्र फागुन ९ गते पर्यटन मन्त्री रविन्द्र अधिकारी र म नेपाल पत्रकार महासंघको कार्यक्रममा सहभागी हुन एउटै जहाजबाट पोखरा गएको थियौं । सो क्रममा मन्त्री अधिकारीकै आग्रहमा पोखरामा निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गर्नुका साथै कार्य प्रगतिको जानकारी पनि लिएको थिएँ । त्यतिबेला उहाँले उक्त विमानस्थल तोकिएको समयभन्दा ६ महिनाअघि नै पूरा गर्ने गरी काम अघि बढाएको बताउनुभएको थियो ।
उहाँको निधनले देशले एक जना मन्त्रीलाई मात्रै गुमाएको छैन, भविष्यमा देशकै नेतृत्व गर्न सक्ने सक्षम प्रतिभालाई गुमाएको छ । उहाँ राजनीतिक हिसाबले प्रष्ट, अध्ययनशील र दूरदृष्टि भएको युवा नेताको रुपमा हुनुहुन्थ्यो । व्यवस्थापिका संसदको विकास समितिको नेतृत्व समेत गरिसकेका अधिकारीसँग देश विकासको स्पष्ट दृष्टिकोण र केही योजनाहरु पनि थिए । उहाँको निधनले देशलाई अपूरणीय क्षति भएको छ ।
त्यसैगरी उक्त दुर्घटनामा परी यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको निधनले एक जना सफल उद्यमीलाई गुमाएका छौं । उहाँसँग केही महिना अघिमात्रै दाङमा पाइलट ट्रेनिङ सेन्टर खोल्ने र विमानस्थल नियमित सञ्चालन गर्ने विषयमा गम्भीर छलफल भएको थियो । उहाँले पाइलट टे«निङ सेन्टरका लागि पहल गर्ने पनि बताउनुभएको थियो ।
अन्त्यमा ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा परी निधन हुनुभएका मन्त्री अधिकारीसहित पर्यटन उद्यमी शेर्पा, राष्ट्रसेवक कर्मचारीहरु, हेलिकोप्टर चालकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकूल परिवारजन एवं आफन्तमा गहिरो समवेदना व्यक्त गर्दछु । स्थल तथा हवाई दुर्घटनाबाट हुने क्षति न्यूनीकरण गर्न के गर्न सकिन्छ, त्यसतर्फ गम्भीर भई आवश्यक पहलकदमी लिन म सरकारलाई विशेष आग्रह गर्दछु ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij