प्रकाशित मिति : बुधबार, फाल्गुन २९, २०७५
काठमाडौँ। निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) को १४औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वका लागि सहमति भएको छ।
नेतृत्वका लागि टीकाराम पुरी र डिके ढुङ्गानाको समूहले मनोनयन दर्ता गरे पनि पूर्वअध्यक्षहरुको पहलमा सहमति भएको हो। पूर्वअध्यक्ष उमेश श्रेष्ठको प्रस्तावमा पुरीलाई अध्यक्ष र ढुङ्गानालाई सहअध्यक्ष हुने गरी समझदारी भएको र सो विषयलाई हलमा प्रस्तुत गरिने तयारी भएको छ।
विधानमा नभएको सहअध्यक्ष र केही पद थपघट गरेर मिलाउने तयारी गरिएको छ। सहमति पारित भएमा वरिष्ठ उपाध्यक्षमा राजेन्द्र बानियाँ र महासचिवमा कुमार घिमिरे हुनेछन्। पूर्वअध्यक्ष लक्षबहादुर केसीका अनुसार अहिले बिहान ९ बजेसम्म पूर्ण सहमति गरेर ११ः३० बजे सहमतिको घोषणा गर्ने गरी तयारी भएको छ।
कूल दुई हजार ४३८ प्रतिनिधि सहभागी सम्मेलनमा आज निर्वाचनको कार्यक्रम तय गरिएको थियो। महाधिवेशनको मङ्गलबार प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले उद्घाटन गरेका थिए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij