आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

चितवनको रामपुरमा इञ्जिनीयरिङ पढाइ शुरु हुने

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन २३, २०७५



  • चितवन । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले भरतपुर महानगरपालिकासँग सहकार्य गरेर आउँदो शैक्षिक सत्रबाट रामपुरमा इञ्जिनीयरिङ स्नातक पठनपाठन शुरु गर्ने भएको छ । विश्वविद्यालयले पहिले कृषि पढाएको क्षेत्रमा इञ्जिनीयरिङ विषय पढाइ गर्न लागेको हो ।

    सरकारले रामपुरमा केन्द्रीय कार्यालय हुने गरी कृषि तथा वन विज्ञान विश्वविद्यालय सञ्चालनमा ल्याएसँगै त्रिविले त्यहाँ पढाउँदै आएको कृषि क्याम्पस स्थानान्तरण गरेको थियो । दुई विश्वविद्यालयबीचको विवाद समाधानका क्रममा रामपुरमा त्रिविले इञ्जिनीयरिङ सङ्काय सञ्चालनका लागि ४० बिघा जग्गा पाउने भएको छ । सोही जग्गामा भरतपुर महानगरसँग सहकार्य गरेर इञ्जिनीयरिङ क्याम्पस खोल्न लागिएको हो ।

    त्रिविका उपकुलपति प्रा डा तीर्थ खनियाँले आउँदो शैक्षिकसत्रबाट रामपुरमा इञ्जिनीयरिङ क्याम्पस सञ्चालनमा ल्याइने बताए । सो क्षेत्रको स्थलगत निरीक्षण एवं अध्ययन भइरहेको भन्दै उनले कुनै एउटा विषयबाट भए पनि आउँदो शैक्षिकसत्रबाट पढाइ शुरु गर्ने बताए । रामपुरमा इञ्जिनीयरिङ पढाइका लागि भरतपुर महानगर सकारात्मक देखिएपछि त्रिविलाई सजिलो भएको हो । विश्वविद्यालयको इञ्जिनीयरिङ सङ्कायका डिन रामचन्द्र सापकोटाले रामपुरमा रहेको पुरानो कभर्डहलको भवनलाई मर्मतसम्भार गरी क्याम्पसको शुभारम्भ गर्ने तयारी गरिएको बताए।

    विश्वविद्यालयले नीतिगत निर्णय गरेर कामलाई अगाडि बढाउने तयारी गरिरहेको उनले बताए । रामपुरमा रहेको अरु जग्गा र संरचना कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई छोड्दै गर्दा त्रिविको इञ्जिनीयरिङ सङ्कायका लागि रु १५ करोड सरकारले दिने सहमतिसमेत भएको छ ।

    महानगरपालिका प्रमुख रेनु दाहालले विश्वविद्यालय र महानगरको बीचमा सम्झौता गरी संयुक्तरूपमा इञ्जिनीयरिङ कलेज सञ्चालन गर्ने तयारी भएको जानकारी दिए । तत्काल भौतिक संरचनाका लागि आवश्यक पर्ने बजेटका लागि पनि महानगर तयार रहेको भन्दै उन स्थानीय तहले विश्वविद्यालयसँग सहकार्य गरेर नमूना क्याम्पस सञ्चालन गर्न लागिएको बताए ।

    त्रिविको इञ्जिनीयरिङ सङ्कायमा चार आङ्गिक र १० सम्बन्धन दिएर क्याम्पस सञ्चालनमा छन् । सम्बन्धन पाएका सबै क्याम्पस राजधानीमा छन् भने आङ्गिक धरान र पोखरामा पनि छ । रामपुरमा आङ्गिक क्याम्पस सञ्चालन भएसँगै विद्यार्थी लाभान्वित हुने देखिन्छ । रामपुरमा एउटा विषयबाट शुरु गरेर सात विषयसम्म सञ्चालन गर्ने तयारी गरिएको छ । रामपुरमै कृषि क्याम्पससमेत भएकाले शुरुमा कृषि इञ्जिनीयरिङबाट पढाइ शुरु गर्ने विषयमा छलफल भइरहेको जनाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij