प्रकाशित मिति : सोमवार, चैत्र २५, २०७५
नवलपरासी । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलबाट खटिएको टोलीले आइतबार पश्चिम नवलपरासीको सुनवल नगरपालिकाबाट खोलाको ठेक्कासम्बन्धी दुई फाइल नियन्त्रणमा लिएको छ।
ठेक्काको क्रममा तोकिएको मापदण्डविपरीत काम भइरहेको भनी उजुरी परेपछि कार्यालयले अनुसन्धानको क्रममा ठेक्कासम्बन्धी फाइल नियन्त्रणमा लिएको हो।
सुनवल नगरपालिकाले यसअगावै आफ्नो क्षेत्रभित्र पर्ने पानभारखोला जर्गाह पुलदेखि उत्तर र पानभारखोला जर्गाह पुलदेखि दक्षिण गरी दुई स्थानमा नदीजन्य सामग्री निकाल्नका लागि ठेक्का लगाएको थियो।
यद्यपि सो ठेक्काका क्रममा मापदण्डविपरीत काम भएको अख्तियारको कार्यालयमा उजुरी परेपछि थप अनुसन्धनका लागि ठेक्कासम्बन्धी फाइल लिइएको अख्तियारको कार्यालय बुटवलले जनाएको छ।
टोलीले पानभारखोला जर्गाह पुलदेखि उत्तरसँग सम्बन्धित ७७ प्रति र पानभारखोला जर्गाह पुलदेखि दक्षिणसँग सम्बन्धित ८९ प्रति कागजात नियन्त्रणमा लिएको हो।
अख्तियार टोलीले खोलाक्षेत्रको समेत अनुगमन गरेको आयोग बुटवलले जनाएको छ। अख्तियार टोलीले सो ठेक्कासम्बन्धी दुई फाइल लगेको सुनवल नगरपालिकाको कार्यालयले जनाएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij