काठमाडौँ — राति साढे दस बजिसकेको थियो । महानगरीय प्रहरी वृत्त बानेश्वरको प्रहरी टोली मोटरसाइकलमा तीनकुनेतिर घुमिरहेको थियो । त्यही बेला प्रहरीले अनौठो आवाज सुने । त्यो आवाज अन्त कतैबाट नभएर एनआईसी एसिया बैंकको एटीएम बुथभित्रबाट आइरहेको थियो । प्रहरी त्यहाँ पुगेपछि थाह भयो, अनौठो घटना ।
२० वर्ष हारहारीका विशाल तामाङको एक हातमा हम्मर थियो। उनले रेन्ची र छड पनि बोकेका थिए। एटिएम काउन्टरभित्र हम्मर बोकेर बसेको मान्छे देखेपछि प्रहरी एकैछिन त छक्कै पर्यो। प्रहरीलाई उनको उद्देश्य बुझ्न धेरै बेर लागेन। विशालले हम्मरले बुथभित्रको सिसिटिभी फुटाएर एटिएम मेसिनको स्क्रिन पनि फुटाइसकेका थिए। एटिएम मेसिनभित्र भएको पैसा चोर्ने उद्देश्यले रामेछाप स्थायी घर भई काठमाडौं महानगरपालिका ३२ बस्ने विशालले एटिएम मेसिनमाथि प्रहार गर्दा चर्को आवाज आएको रहेछ।
अनौठो त के छ भने एटिएम मेसिन फुटाएको अरुले थाह नपाउन भनेर विशालले चलाखीपूर्वक मास्क लगाएर सुरुमै सिसिटिभी क्यामेरा फुटालेको देखिन्छ। तर प्रहरीले थाह पाएपछि उनको चलाखी फेल खायो।
एटिएम मेसिनबाट पैसा चोर्न खोज्ने विशाललाई प्रहरीले नियन्त्रणमा लिएर महानगरीय प्रहरी वृत्त बानेश्वर पुर्याएपछि पनि कुरा सकिएन। रातिको १२ बजेतिर विशालले आफू बिमारी भएको बताए। प्रहरीले उनलाई स्वास्थ्य परीक्षणका निम्ति वीर अस्पताल पुर्यायो। प्रहरी परिसर काठमाडौं डिएसपी होविन्द्र बोगटीका अनुसार बिमारी भने पनि उनको स्वास्थ्यमा गम्भीर खराबी केही देखिएन।
डिएसपी बोगटीका अनुसार विशालको विगत चोरीका घटनाहरुले भरिएको छ। कैयन पटक पक्राउ पर्दै छुट्दै आएका विशाल यसअघि कुन कुन घटनामा संग्लन थिए भनेर प्रहरीले खोजी जारी राखेको छ। बोगटीले भने, ‘बडो चलाखीपूर्वक एटिएम मेसिन फुटालेर पैसा चोर्न खोजेको देखिन्छ। उनको तरिकाबाट हामी पनि छक्कै पर्यौं।’ प्रहरीका अनुसार विशालले बयानमा प्रहरीलाई असहयोग गरिरहेका छन्। डिएसपी बोगटीका अनुसार चलाख विशालले आफ्नाबारे पनि विस्तृतमा बताइरहेका छैनन्।
प्रहरीले बुधबार बिहान मात्र एनआईसी एसिया बैंकलाई एटिएम मेसिन फुटालेको बारे सूचना दिएको थिए। लगत्तै बैंकले विशालविरुद्ध निवेदन दिएको छ।