आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बालुवाटार जग्गा प्रकरण : लाखमा किनेर करोडमा बिक्री

  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ १०, २०७६



  • काठमाडौँ — त्रिताल प्रतिवेदनले ‘भूमाफिया’ किटान गरेका शोभाकान्त ढकाल र रामकुमार सुवेदीले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा प्रतिरोपनी आठ लाख रुपैयाँ खर्च गरेर झन्डै एक करोडका दरले बेचेको भेटिएको छ ।
    ‘काठमाडौं छिर्दा छिँडीको कोठामा निर्वाह गर्ने आर्थिक हैसियतका दुवैजना केही वर्षमै कान्तिपथको ५/७ रोपनीमा फैलिएको घरजग्गा आँट्ने हैसियतमा पुगेका थिए,’ प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो उच्च स्रोतले कान्तिपुरसँग भन्यो, ‘यो बीचमा उनीहरू अनेक छल, तिकडम, राजनीतिक पहुँच र प्रभावमा खेल्न थाले र सरकारी जग्गा हत्याए ।’ दुवैजना हाल फरार छन् । उनीहरूसँग जोडिएका कतिपय सरकारी अधिकारीसमेत अख्तियारले अनुसन्धान सुरु गरेपछि फरार छन् ।
    ४९ सालमा सरकारले जफत भएको भन्ने व्याख्या गरी ललिता निवासको जग्गा केही राणा परिवारलाई फिर्ता गरेको थियो । रुक्मशमशेरहरूले जग्गा फिर्ता पाउँदा मोहीको लगतसहितको जग्गा पाएका थिए । मोहीहरूले पनि त्यही जग्गाको मोही प्रमाणपत्र माग गरिरहेका थिए । सुवर्णशमशेरका सन्तानले जग्गा फिर्ता पाएपछि त्यसमा जोडिएका मोहीलाई वञ्चित गर्नु हुँदैन भनेर तत्कालीन एमालेका केही नेता दौडधुपमा लागेको जानकारहरू बताउँछन् ।
    ‘उनीहरूले मोही संरक्षणको नारा लगाएर हिँडेका थिए, मोही दाबी गर्नेहरूले राणाहरूको भाग हामीलाई पनि चाहिन्छ भन्दै विभिन्न ठाउँमा दौडधुप बढाएका थिए,’ बालुवाटार जग्गाबारे जानकार राणा परिवारका एक सहयोगीले कान्तिपुरसँग भने, ‘लेखनदास रामकुमार सुवेदीले उनीहरूको लिखत र निवेदन तयार गर्थे ।’
    मोहीहरूलाई त्यतिबेला शोभाकान्त ढकालले बोकेका थिए । जिल्ला अदालत काठमाडौंबाट ३३० नम्बरको लेखनदासको प्रमाणपत्र लिएका रामकुमार सुवेदी डिल्लीबजार मालपोतको पीपल चौतारामा बसेर घुँडामा नेपाली कागज राखी लेखापढी गर्थे । जग्गाको अनेक खेलमा लागेका ढकाल कामविशेषले मालपोत कार्यालय पुगेका थिए । त्यहाँ सुवेदीसँग भेट भयो । केहीबेरको कुराकानीमै ढकाल सुवेदीसँग घुलमिल भए । यसबारे अनुसन्धान गरिरहेको सीआईबी स्रोतका अनुसार कहाँनिर कसरी खेल्नुपर्छ भनेर ढकालले तत्काल चाल पाइहाले अनि रामकुमारलाई साथ लिएर अघि बढे ।
    मुआब्जाबापतको रकम लिइसकेका रुक्मशमशेरहरूले सित्तैमा जग्गा पाएर दोहोरो लाभ लिएका थिए । मोही पनि जोडिएको लिखत भेटिएपछि उनीहरूमा लोभ पलायो । सामूहिक रूपमा मोही छुटाउनुपर्ने माग राखी भूमिसुधार कार्यालयमा निवेदन दिए । उनीहरूले मोही दाबी गर्नेहरूलाई त्यही जग्गामा मोहीको प्रमाणपत्र पाउनुपर्ने माग राखी भूमिसुधार कार्यालयमा सामूहिक निवेदन दिन लगाए ।
    भूमिसुधारले राणा परिवारको नाममा फिर्ता भएको जग्गामा मोही कायम हुने निर्णय गरिदियो । रुक्मशमशेरहरू त्यसविरुद्ध पुनरावेदन अदालत पाटन गए । पुनरावेदनले पनि भूमिसुधारकै निर्णय सदर गरी मोही कायम हुने फैसला गरिदियो । त्यतिबेलासम्म ढकाल र सुवेदीले मोहीहरूलाई चेपुवामा पारिसकेका थिए । राणा परिवार नजिकका एक पूर्वप्रशासकको भनाइमा ‘तिमीहरूलाई राणाले सिध्याउँछन् र नाङ्गै हुन्छौ’ भनी धम्क्याएर मुद्दा जिताएबापत आधा सम्पत्ति आफूहरूलाई दिन दबाब दिए । सीआईबी स्रोतले भन्यो, ‘मुद्दा जितेमा आधा सम्पत्ति हामीलाई दिनुपर्छ भनी गराएको कागज भेटिएको छ ।’ ३७ जना मोहीबाट उनीहरूले करिब ३० रोपनी जग्गा हत्याए ।
    कानुनी व्यवस्थाअनुसार जग्गाधनीको आधा भाग मोहीले पाउँथे । मोहीलाई करकापमा पारेका शोभाकान्त र रामकुमारहरूले मुद्दा जितेमा ‘आधा जग्गा आफूहरूलाई दिनुपर्ने’ लिखत गराएका थिए । पुनरावेदन अदालतको फैसलामा चित्त नबुझाई राणा परिवार निर्णय खारेजीको माग राखी सर्वोच्च अदालत गए । त्यसक्रममा भूलवश राणाहरूले तारिख टुटाए र सर्वोच्चमा विचाराधीन मुद्दा खारेज भयो । ललिता निवासको जग्गाबारे अनुसन्धान गरिरहेको एक स्रोतको भनाइमा ‘यति भइसकेपछि मोहीको भागमा पर्ने बाँकी जग्गासमेत उनीहरूले कौडीको भाउमा हत्याए ।’
    शोभाकान्त र रामकुमारहरूले जग्गामा मोहीको विवाद टुंगो लाग्नुअघि नै राणा परिवारसँग रोपनीको १६ लाख रुपैयाँका दरले दिएर ‘बुकिङ’ गरेका थिए । मोहीहरूसँग रोपनीको १६ लाख रुपैयाँका दरले कागज गरेका थिए, मोहीले जितेको अवस्थामा त्यसको आधा मात्रै तिरे पुग्ने भएको थियो । स्रोतको भनाइमा ‘जसले जिते पनि आफ्नै भागमा पर्ने गरी उनीहरू खेलेको देखिन्छ ।’ कांग्रेस नेता सुवर्णशमशेरका जेठा छोरा कनकशमशेर हुन् । उनका छोरा हेमाद्रीशमशेरका साढुभाइ पर्छन् अमरशमशेर जबरा । उनी नेपालको पहिलो गभर्नर हिमायलशमशेरका छोरा हुन् । ‘खासै लाइन नलिएका’ भनेर छवि बनाएका उनको सम्पर्कमा भू–माफियाको उपाधि पाएका रामकुमार सुवेदी थिए ।
    त्यसपछि चारजनाको समूह भयो । हेमाद्रीशमशेर, उनका साढुभाइ अमरशमशेर, शोभाकान्त ढकाल र रामकुमार सुवेदी मिलेर जग्गा फिर्ता पाएकाराणा परिवार र उनीहरूबाट भाग पाएका मोहीकोजग्गा उठाउने अनि धमाधम बेच्नका लागि बैना लिने काम गरे ।
    ती पूर्वप्रशासकको भनाइमा ‘बेच्नेसँग कुरा छिन्न बाँकी भएकै अवस्थामा किन्नेलाई यो जग्गा हाम्रै हो भनेर बैना उठाउने काम भयो ।’ त्यतिबेला एक चर्चित जग्गा व्यापारीले पनि बालुवाटारको जग्गा खरिदमा निकै रुचि देखाएका थिए तर पटकपटक ‘डिल’ नमिलेपछि उनलेछाडेर हिँडे ।
    उनीहरूले राणासँग रोपनीको १६ लाख अनि मोहीसँग रोपनीको ८ लाखका दरले जग्गा किने । मुद्दा मिलाएमा आधा आफ्नो भाग हुने भनेकाले मोहीले मोलको आधा रकम मात्रै हात पारे । त्यसको केही समयमै उनीहरूले विभिन्न व्यक्तिलाई त्यो जग्गा ८० लाख रुपैयाँ प्रतिरोपनीसम्ममा बेचे । यो करिब ०६० सालको कुरा हो ।
    सूर्यनाथ उपाध्याय नेतृत्वको अख्तियारले राजस्वका २२ जना अधिकृतको घरमा एकसाथ छापा मारेर गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा कारबाही अघि बढाएको थियो । २२ भाइमध्येका भनेर चिनिने एक पात्र हुन्, डोलराज शर्मा ।
    स्याङ्जाका यिनै डोलराज भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङका भित्रिया रहेको सीआईबी स्रोतले बतायो । पुर्ख्यौली स्याङ्जाकै रहेका ढकालले डोलराजमार्फत भाटभटेनीका मीनबहादुरसँग सम्बन्ध बढाए अनि मिलेमतो र साझेदारीमा जग्गा खरिदको काम भयो । त्यसक्रममा मीनबहादुरले रोपनीको एक करोडका दरले जग्गा किने । स्रोतको भनाइमा मीनबहादुरले केही कित्ता भने निकै सस्तोमा पाएका थिए ।
    बालुवाटारबाट व्यक्तिको नाममा गएको मध्ये करिब २५ रोपनी जग्गा तीन परिवारको नाममा थियो । उक्त जग्गा भूमाफिया भनेर चिनिएका ढकाल, गुरुङ र उनीहरूको परिवारका नाममा फेला परेको थियो । व्यापारी गुरुङले आफ्नो परिवार र कम्पनीको नाममा समेत जग्गा खरिद गरेका छन् । बालुवाटारको सबैजसो किक्ताको खरिदबित्रीको ट्र्याक रेकर्डमा उनीहरूको नामजोडिएको देखिन्छ ।
    बालुवाटारको जग्गा दुई चरणमा गरी व्यक्तिका नाममा हस्तान्तरण भएको कागजातबाट देखिन्छ । पहिलो चरणमा प्रजातन्त्र स्थापनालगत्तै सुवर्णशमशेरको हरण भएको जग्गा फर्काउने नाममा अधिग्रहण भएको जग्गासमेत व्यक्तिका नाममा फिर्ता भएको थियो । दोस्रोपटक प्रधानमन्क्री निवास विस्तारका त्रममा मोही व्यवस्थापन गर्ने नाममा सार्वजनिक जग्गा व्यक्तिलाई दिइएको थियो । दुवैपटकको खेलमा डा. ढकालका साथै मालपोतका लेखनदासका रूपमा काम गर्ने कानुन व्यवसायी सुवेदी प्रयोग भएको स्रोतले बतायो ।
    प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो स्रोतका अनुसार, ‘यी दुईका साथमा व्यवसायी मीनबहादुर गुरुङ पनि सामेल भए, जसमाथि पूरै राजनीतिक साथ र भरथेग थियो ।’ गुरुङको नेकपाका अध्यक्षमध्येका एक पुष्पकमल दाहालसँग नजिकको सम्बन्ध छ ।
    जग्गाधनीबाट सस्तो दरले खरिद गरेको जग्गा एक करोड रुपैयाँका दरले बेच्दा ढकाल र सुवेदीले निकै नाफा कमाइसकेका थिए । यही बीचमा भाटभटेनीबाट मीनबहादुर उदाए । मोहीको आधा जग्गा सित्तैमा लिएर बेच्दा ढकाल र सुवेदीले करिब सवा अर्ब रुपैयाँ कुम्ल्याएको अनुमान छ । त्यसपछि शोभाकान्तले कुमारी बैंकको सेयर खरिद गरे र सञ्चालकसमेत बने ।
    यिनीहरूले त्यही रकमबाट कान्तिपथमा ५ रोपनीमा फैलिएको भवन खरिद गरे । प्रहरीका अनुसार सरकारले छानबिन अघि बढाएपछि ढकाल कुमारी बैंकको सञ्चालकबाट राजीनामा दिई फरार भएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij