प्रकाशित मिति : आइतवार, जेष्ठ १२, २०७६
काठमाडौं । राजधानी काठमाडौंमा लगातार बम विष्फोट भएपछि गम्भीर बन्न नेपाली काँग्रेसले आग्रह गरेको छ । प्रमुख विपक्षी दल नेपाली काँग्रेसले बम विष्फोटका घटनाप्रति आफ्नो ध्यान आकृष्टि भएको भन्दै घटनालाई दुःखद् भनेको छ ।
काँग्रेसले घटनाका पीडितहरुप्रति समवेदना प्रकट गर्दै शान्ति सुरक्षा कायम राख्न सरकारसँग माग गरेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार विज्ञप्ति जारी गर्दै आतंकबाट कसैको जित नहुने बताएका छन् ।
काँग्रेसको विज्ञप्तिः
प्रेस विज्ञप्ति
हिंसा र विष्फोटप्रति गम्भीर बनौं
काठमाडौँका विभिन्न स्थानमा आज भएको बम विष्फोट र त्यसबाट भएको मानव जीवनको क्षतिप्रति नेपाली कांग्रेसको ध्यान गम्भीर ढंगले आकृष्ट भएको छ । नेपाली जनताको लामो संघर्षबाट प्राप्त आजका उपलब्धीहरुको रक्षा र विकासमा सबै थरी शक्ति ऐक्यवद्ध ढंगले अघि बढ्नुपर्ने बेला यस्ता घटना हुनुलाई नेपाली कांग्रेसले अत्यन्तै दुःखद रुपमा लिएको छ ।
बम विष्फोटमा परेर जीवन गुमाउनेहरु विद्रोही पक्षका हुन् या विपक्षका तर अमूल्य जीवन गुमेको छ र शान्ति स्थापनापछिको नेपाली समाजलाई हार्दिक ढंगले अघि लिएर जाने आम नेपालीको चाहनालाई मर्माहत बनाएको छ । नेपाली कांग्रेस लामो हिंसाबाट जर्जर भएर बल्ल शान्तिको सास फेरिरहेको नेपालमा पछिल्ला घटनाक्रमहरुबाट अन्तत कसैको विजय नहुने विषयप्रति गम्भीर बन्न राज्य र विद्रोही पक्ष दुवैलाई सचेत गराउन चाहन्छ ।
ललितपुरमा केहि महिना अघि भएको हत्या, भोजपुरमा जेठ ७ मा राज्यले गरेको ‘फेक इन्काउन्टर’ अनि आज काठमाडौँमा भएको घटनाले समग्रमा शान्तिपूर्ण संवाद भन्दा समाधानको अर्को विकल्प छैन भनेर प्रष्ट्याएको छ । नेपाली कांग्रेस हिंसाको राजनीति परित्याग गर्न विद्रोही नेकपालाई र निषेधको राजनीति परित्याग गरी समाधान खोज्न सत्तारुढ नेकपा र नेपाल सरकारलाई सार्वजनिक अपिल गर्दछ ।
घटनामा जीवन गुमाएका सबैको आत्माको चिर शान्ति कामना गर्दै नेपाली कांग्रेस सबै घाइतेहरुको सम्पूण उपचार गर्न नेपाल सरकार समक्ष आग्रह गर्दछ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij