प्रकाशित मिति : सोमवार, जेष्ठ १३, २०७६
काठमाडौं– प्रमुख प्रतिपक्षी कांग्रेसले मुलुकमा पछिल्लो समय बढ्दै गएका बम विस्फोट र हत्या हिंसाका घटना तथा जनधनको क्षतिप्रति गम्भीर हुन सरकारलाई आग्रह गरेको छ । कांग्रेसले आइतबार विज्ञप्ति जारी गरी हिंसाको राजनीति परित्याग गर्न नेक्रवित्रम चन्द समूहलाई र निषेधको राजनीति परित्याग गरी समाधान खोज्न सत्तारूढ नेकपा र नेपाल सरकारलाई अपिल गरेको छ ।
कांग्रेसले विज्ञप्तिमा राजधानीका विभिन्न स्थानमा आइतबार भएको बम विस्फोट र त्यसबाट भएको मानव जीवनको क्षतिप्रति पार्टीको ध्यान गम्भीर ढंगले आकृष्ट भएको उल्लेख गर्दै त्यसप्रति दुःख प्रकट गरेको छ । ‘लामो संघर्षबाट प्राप्त उपलब्धिको रक्षा र विकासमा सबै थरी शक्ति ऐक्यबद्ध ढंगले अघि बढ्नुपर्ने बेला यस्ता घटना हुनुलाई कांग्रेसले अत्यन्तै दुःखद रूपमा लिएको छ,’ कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
‘बम विस्फोटमा परेर अमूल्य जीवन गुमेको छ । यसले शान्ति स्थापनापछिको नेपाली समाजलाई हार्दिक ढंगले अघि लिएर जाने आमनेपालीको चाहनालाई मर्माहत बनाएको छ,’ कांग्रेसले विज्ञप्तिमा भनेको छ, ‘लामो हिंसाबाट जर्जर भएर बल्ल शान्तिको सास फेरिरहेको मुलुकमा पछिल्ला घटनाक्रमबाट कसैको विजय हुँदैन ।’
कांग्रेसले विज्ञप्तिमा ललितपुरमा केही महिनाअघि भएको हत्या, भोजपुरमा जेठ ७ मा राज्यले गरेको ‘फेक इन्काउन्टर’ र राजधानीमा आइतबार भएको घटनाले समग्रमा शान्तिपूर्ण संवादभन्दा समाधानको अर्को विकल्प छैन भनेर प्रस्ट्याएको समेत उल्लेख गरेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij