आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

‘वडाअध्यक्षदेखि सांसद र मन्त्रीसम्म डाेजरसँग जाेडिनु चिन्ताकाे विषय हाे’

  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ १७, २०७६



  • काठमाडौँ — गणतन्त्र नेपालका प्रथम राष्ट्रपति रामवरण यादव चुरे अभियन्ताको रुपमा क्रियाशील छन् । पदमा रहदाँ मात्रै नभएर अहिले पनि उनी चुरे संरक्षणका लागि राज्यलाई झकझकाई रहन्छन् । चुरेका बारेमा पत्रपत्रिका र म्यागजिनमा लेखिएका लेख उनले पढ्न छुटाउदैनन् । पुस्तक, शोध, अनुसन्धान समेत उनले खाेजी–खाेजी पढ्छन् । त्यसैले पनि उनलाई भेट्नेमा राजनीतिककर्मी भन्दा संरक्षणविद्हरु बढी हुन्छन् ।
    बागडोलस्थित उनको निवासमा कान्तिपुरसँग कुरा गर्दा उनले संघीय सरकार, प्रदेश र स्थानीय सरकारले समेत यस क्षेत्रको संरक्षणमा ध्यान नदिएको गुनासो गरे। उल्टो क्रसर उद्योग, डोजर र एक्साभेटर व्यवसायीसँग जोडिएर दोहन गर्न थालेकोमा चिन्ता पोखे।यसै सेरोफेरोमा केन्द्रित रहेर प्रथम राष्ट्रपति यादवसँग कान्तिपुरका कुलचन्द्र न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश –

    राष्ट्रपति भए देखि नै चुरे संरक्षण अभियानमा तपाई कसरी जोडिनु भयो?
    स्वाथ्यको क्षेत्रमा मैले काम गरिसकेको थिए। शिक्षाको क्षेत्रमा काम गर्नुपर्छ भनेर कतिपय विद्धान मित्रहरुले सुझाव दिनुभएको थियो। तर, यसमा गहिरो अध्ययन थिएन। त्यसैले पनि वातवरणको क्षेत्रमा केही गरौं भन्ने भयो। चुरे संरक्षणका बारेमा अध्ययन गर्न थाले। संरक्षणविद्को कुरा सुन्न थाले। मुलुकको कुल भूखण्डमा १२.७८चुरे क्षेत्र छ। १७ प्रतिशत तराईमा छ। यो मिलाउँदा करिब ३० प्रतिशत हुन्छ। ३० प्रतिशत भूखण्डमा अहिले ६० प्रतिशत जनसंख्या छ। यसलाई बचाउन सकियो भने मधेस र पहाडलाई शारीरिक रुपमा पनि जोड्न सकिन्छ भन्ने मलाई लाग्यो। अनि म यस क्षेत्रको संरक्षणमा राष्ट्रपति भए देखि नै लागे।

    तपाईको यो अभियानले कस्तो प्रभाव पारेको छ जस्तो लाग्छ?
    चुरे भन्नसाथ मेरो मुटुनै फुट्छ। हामी विकास र सम्बृद्धि चाहिन्छ भन्छौ, त्यसका लागि चाहिने स्रोत र साधानलाई व्यवस्थित भने गर्दैनौं। स्रोत र साधनबाटै सम्वृद्धि हाँसिल गरिने हो। हामीसंँग विभिन्न सम्पदा जस्तो, हिमाल, पहाड, जंगल, नदी, जडिबुटी, विभिन्न प्रकारका वनस्पति छन्।

    तर, आज जंगल जर्जर भइरहेको छ। अहिले वातावरण परिवर्तन भएको छ। हामीले अपनाएको विकासको मोडलले विनासको बाटो समातेको छ। जथाभावी सिमेन्ट उद्योगहरु खोल्नु चिन्ताजनक छ। हालै म दाङमा गएको थिए। ६/७ वटा सिमेन्टका फ्याक्ट्री रहेछन्। तिनका कारण दिउँसै आकाशमा बादल छाएजस्तो देखिने रहेछ।

    मेरो जीवनकालमै तराई स्वर्ग थियो। पहाडमा हिमालको वर्षा थियो। नदीनाला थिए। जंगल थियो। बाढी पहिरो पहिला पनि आउथ्यो। त्यतिबेला कोशी र बागमतीमा बाढी आउथ्यो। सुख्खा पहिरो त भूकुम्प आएपछि पहिलोपटक सुनेको हो। हाम्रो भूखण्ड भूकम्पीय जोनमा छ। हामीले विकासको मोडल कस्तो लैजाने? संसारको मोडल कस्तो छ? सेन्टर एशिया, ल्याटिन अमेरिका, चाइना, जापान पनि पहाडी क्षेत्र भएका मुलुक हुन। त्यहाॅ कुन मोडलमा विकास भइरहेको छ, खै अध्ययन भएको?

    चुरेको संरक्षण गर्न सरकार गम्भीर छैन भन्ने खोज्नु भएको हो?
    अहिले तीन तहको सरकार निर्माण भएको छ। एउटै जिल्लामा २ हजार डोजर र एक्साभेटर चलिरहेका छन्। मुलुकभरमा एकलाख ५४ हजार डोजर र एक्साभेटर चलिरहेका छन्। क्रसर उद्योग व्यवस्थित छैनन्। वडा अध्यक्षदेखि प्रदेश सरकारका मन्त्री तथा सांसदसम्मको सम्बन्ध क्रसर उद्योग, डोजर र एक्साभेटरसँग जोडिएको भन्ने छ। यो चिन्ताको विषय हो। क्रसर उद्योगलाई व्यवस्थित गर्नुभन्दा दोहन गर्नेतिरै केन्द्रित गराइएको छ।

    गिट्टी बालुवा, वैज्ञानिक रुपमा कुन ठाउँमा खन्ने, कुन ठाउँमा नखन्ने भन्ने एकिन हुनुपर्छ। अहिलेको मोडलले हामी कहाँ गएर ल्याण्ड गर्दैछाैं?मेरै जिन्दगीमा तराई स्वर्ग थियो। पानी, जंगलको कमी थिएन। जंगलको कारणले बर्षात् हुन्थ्यो। सातदेखि पन्ध्र दिनसम्म वर्षा हुन्थ्यो। नदी गहिरो थियो। नदीको पानी च्यानलाईज भएर बंगालको खाडीमा पुग्थ्यो। भूक्षय थिएन। अन्न, फलफूल, पानी, माछा, दुध–दहीको कमी थिएन। दलहनदेखि तेलहनसम्म हाम्रै थियो। हाम्रा पुर्खा र हामीहरु बयलगाढामा चढेर मट्टीतेल र नुन ल्याउन बाहिर (भारत) जान्थ्यौं। त्यो बाहेक केही किन्नु पर्दथेन।

    तर, आज अरबौंको खाद्यान्न आयत गर्दा मुटु दुख्छ। अहिले जंगालको कटानी फास्ट वेमा चलेको छ। सामुदायिक वनको अवधारणा सफल भएकाले पहाडमा कम फँडानी छ। तर, तराईमा फँडानी बढ्दो छ। हाम्रा चालिस लाख युवाहरु अरब र मलेशियामा छन्। अन्नको भण्डार मरुभूमिमा परिणत भएको छ।

    मेरो जीवनकालमै तराईको चारकोशे जंगल समाप्त भयो। ०३७ सालमा पञ्चायतलाई जिताउन वन खुला भयो। आधा त्यस बेलै समाप्त भयो। त्यसभन्दा पहिला पञ्चायतकालमा अरु फँडानी भएको थियो।

    ०४६ सालको आन्दोलनमा पनि केही समाप्त भयो। त्यसपछि सम्हाल्दै अघि बढ्यौं। तर, ०५२ सालदेखि द्वन्द्व सुरु भयो। त्यसपछि ०६२/०६३ सम्म फेरि वन समाप्त भयो। अहिले चुरियाको जंगल समाप्त उन्मुख छ। चुरिया खनेर गइरहेको छ। बालुवा, ढुंगामाटो खनेर दोहन गरिएको छ। आफ्नो भूमि सुहाउँदो खेती गर्ने, विकासको मोडल ल्याउनु पर्ने हो। तर, हुनसकेको छैन।

    तपाई राष्ट्रपति भएदेखिनै चुरे संरक्षणको कुरा उठाउँदै आउनु भएको थियो। के—के काम भए त अहिलेसम्म?
    चुरे संरक्षण मेरो अभियाननै थियो। माधव नेपाल प्रधानमन्त्री, सुरेन्द्र पाण्डे अर्थमन्त्री र रामेश्वर खनाल अर्थसचिव भएका बेलामा ‘राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति’ गठन भयो। प्राकृतिक स्रोतको संरक्षण गरी गरिबी न्यूनीकरणमा टेवा पुर्‍याउने लक्ष्यसहित २० वर्षे गुरुयोजना पनि तयार भयो।

    गुरु योजनाको मुख्य भागमा राष्ट्रिय स्तरको चुरे संरक्षण सम्बन्धी दश र २० वर्षको दीर्घकालीन योजना ल्याइयो। पछि सुशील कोइराला प्रधानमन्त्री र महेश आचार्य वनमन्त्री हुँदा राष्ट्रपति चुरे भावर, तराई मधेस संरक्षण विकास समिति भनेर आयो। पछि प्रचण्डजीको क्याबिनेटले पारित पनि गर्‍यो। तर, कानून बन्न सकेन।

    जसका कारण अहिले लथालिंग अवस्थामा छ। यतातिर संघीय र प्रदेश सांसदहरुले चिन्ता देख्दिन। म एक्लैले चिन्ता गरेर केही हुन्न। सोमबार मात्रै कारोबार दैनिकमा सानो लेख पढे। उदयपुर, सप्तरी र सिराहको चुरे क्षेत्रबाट जनावरहरु पानी खाएर तराई पसेको खबर थियो। अहिले उदयपुरदेखि सप्तरी, सिराह, धनुषा, सर्लाही, महोत्तरीदेखि सर्लाहीसम्मको यँही स्थिति छ। निजगढको एयरपोर्ट निर्माणमै गहिरो अध्ययन भएको छैन। तराईमा अब बारा, पर्सा, रौतहट र कलैयामा मात्रै जंगल छ। यँही जंगल भएको स्थान निजगढमा अर्न्तराष्ट्रिय विमानस्थल र कैलालीको गोदावरीमा राजधानी बनाउने सरकारको योजना छ।

    यसको विकल्प छ कि छैन? म विकास विरोधी होइन, तर, अध्ययन भइरहेको छैन। वातवरण मैत्री विकासको मोडल हामीलाई चाहिएको छ। कहिले २५ लाख, कहिले १० लाख त कहिले ८ लाख रुख काट्ने विषय अहिले आइरहेका छन्। हजारौ हजार हेक्टर जंगल नष्ट हुने चर्चा भइरहेको छ। चितवनको निकुञ्ज छ। पर्सामा छ। सालाक, घोरल, हरिण, निलगाई, बदेँलहरु आफ्नो बासस्थान उजाड बन्दै जानथालेपछि तराई पसिरहेका छन्।

    राज्यले किन यसप्रति चिन्ता प्रकट नगरे जस्तो लाग्छ?
    राज्यले चुरे संरक्षणलाई प्राथमिकतामा नराख्दा मलाई पनि चिन्ता लागेको छ। जनसंख्या बढेको छ। मेरो जन्मकालमा ६० लाख जनसंख्या थियो। १५ सालको निर्वाचनमा ७७ लाख जनसंख्या भएकोमा आज पुगनपुग तीन करोड जनसंख्या पुगिसक्यो। सवा दुई करोड जनसंख्या त मेरै जीवनकालमा बढ्यो। भूमि बढ्दैन। बढ्दो जनसंख्याको अतिक्रमणमा चुरेको जंगल परेको छ। चुरेमा भएको कटानी, फँडानी र भूक्षयले तराई मरभूमि बन्दो छ। चुरिया उजाड भयो भने त्यहाँका बन्यजन्तु, बनस्पति, सम्पदा, जडिबुटी नष्ट हुन्छन्। तराई मरभूमि भएर जान्छ।

    किन प्रदेश सरकार र स्थानीय तहले त्यतातिर सोच्दैनन् होला?
    जनप्रतिनिधिको सम्बन्ध पनि क्रसर उद्योग, एक्साभेटर र डोजरसँग छ। कतिपयले आफ्नै लगानीमा क्रसर उद्योग खोलेका छन्। म काठमाडौंमा २०२० सालमा पढ्न आए। त्यतिबेला मेरो गाउॅमा टुयुबेलबाट चौविसै घण्टा ‘भकभक’ पानी आउथ्यो। त्यसरी बग्ने पानी पोखरीमा जम्मा हुन्थ्यो। सिचाईमा प्रयोग हुन्थ्यो। नुहाउने, खानेपानी शुद्ध हुन्थ्यो। काठमाडौं पढ्दापढ्दै २०२४ सालतिर डाक्टरी पढ्न म कोलकत्ता गए।

    दश वर्षमा मैले डाक्टरी गरे। त्यसपछि गाउँमा फर्के। ०४६ सालमा मन्त्री हुंँदा त्यही ट्युबेलमा पानी आउन छाडेको थियो। ०३६ सालमा धनुषाको मेरो घरमा ५० फिटमा पानी आएको थियो। राष्ट्रपति भएका बेला मेराे छोरी धनुषा गएर पाइप धसाउँदा २ सय ८० फिटमा मात्रै पानी आयो। अहिले जनकपुरमा साढे चार सय फिट खने पछि मात्रै पानी आउँछ। पानीको लेयर कहाँ देखि कहाँसम्म पुगिसक्यो? अन्दाज गर्न सकिन्छ कि चालिस वर्षमै कति गुना पानीको सतह कम भयो भनेर।

    चुरे संरक्षणका लागि विकास बन्द नै गर्नुपर्छ भन्ने हो?
    होइन। वातवरण फ्रेन्ड्ली विकास हुनुपर्छ भन्ने मेरो मान्यता हो। राजमार्ग क्षेत्रमा गएको वर्ष सात गाउँमा पानीको हाकार भयो। तल पानीका ड्रमहरु बयलगाढामा हालेर पहाडी बेल्टमा आए। मध्य पहाडमै पचास प्रतिशत पानीको मुहान सुकिसकेको छ। बाढी, सुख्खा, पहिरो र अव्यवस्थित बसोबासले पानीका मुहानहरु सुक्दै गएका छन्।

    भोटेकोशी, सुनकोशी र इन्द्रवतीमा जथाभावी ढुंगा—बालुवा निकाल्न डोजर र एक्साभेटर प्रयोग भएका छन्। राति चुरे क्षेत्रमा खनिरहेका छन्। जननेता मदन भण्डारीको नाममा राजमार्गनिर्माण भइरहेको छ। सम्मानित नेताहरुका नाममा शिक्षा, स्वास्थ्यका क्षेत्रमा पनि काम गर्न सकिन्थ्यो। नेताको नाममा चुरे हुँदै पूर्व–पश्चिम राजमार्ग किन बनाउनु पर्दथ्यो? यसले उदयपर, सिन्धुली, मकवानपुर, दाङ, सुर्खेत, डोटी र डडेलधुराको सातवटा जिल्लाको चुरे क्षेत्र ध्वस्त हुँदैछ।

    मदन भण्डारी राजमार्गको ३० किलोमिटर तलबाट मध्यपहाडी राजमार्ग निर्माण भइरहेको छ। त्यस भन्दा तल महेन्द्र राजमार्ग छ। जुन बजारमा ४ र अन्य ठाउँमा ६ लेनमा निर्माण भइरहेको छ। महेन्द्रराजमार्ग तलबाट इलेक्ट्रिक रेलवे बन्दै छ। यो एसियन हाईवेसँगै जोडिन्छ। त्यो पनि चुरे क्षेत्रबाट जान्छ। विना अध्ययन राजमार्ग बन्दै छन्। यसले बसाइँसराइँ बढाउँंछ।

    चुरेबाट १ सय ६८ नदी बग्छन्। चुरेमा हुने अतिक्रमणले तराईका रिचार्जका रुपमा रहेका नदीहरु सुकेका छन्। हिमालको अवस्था त्यस्तै छ। हिमालमा हिउँ पग्लिएर १२ फिट गहिरिएको अध्ययनको रिर्पोट छ। हिमालको बर्फी समेत पग्लेर कालो चट्टान बन्दै गएको छ। संसारको स्रोतमा एघार प्रतिशत स्रोत बाज्रिल पछि हाम्रैमा छ। तर हामीले यसको सही सदुपयोग गर्न सकेका छैनौं। आफ्नो सम्पदा बचाउनका लागि वातावरण मैत्री विकास गर्न सकेका छैनौं।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij