आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

तिरस्कार झेल्दै विदेशबाट फर्किएका महिला

  • प्रकाशित मिति : आइतवार, जेष्ठ १९, २०७६



  • बाँके। वैदेशिक रोजगारीका लागि श्रीमान्कै सहमतिमा साउदी अरब गएकी बाँके सीतापुरकी मीना थापा (नाम परिवर्तन) अहिले पारिवारिक र सामाजिक तिरस्कार झेल्न बाध्य छिन्। वैदेशिक रोजगारीमा जाँदा महिलालाई कम खर्च लाग्ने भन्दै श्रीमान्ले नै उनलाई विदेश पठाएका थिए।

    विदेशमा जेनतेन उनले राम्रै कमाई गरिन् तर, अहिले उनी श्रीमान्बाटै अपहेलित हुनुपरेको छ। परिवारको आर्थिक अवस्था कमजोर भएकै कारण सुखी जीवन र सन्तानको राम्रो शिक्षादीक्षाको सपना बोकेर उनी सल्लाहमै विदेशिएकी हुन्। अहिले श्रीमान्ले आफूलाई विभिन्न खालका लाञ्छना लगाउँदै दुःख दिने गरेको उनले बताइन्।

    साढे ३ वर्षको छोरो छाडेर कुवेत गएकी सीतापुरकै रचना शर्मा (नाम परिवर्तन)ले पनि अहिले सबैतिरबाट तिरस्कार ब्यहोर्नुपरेको छ। आठ वर्षदेखि मलेसियामा रहेका श्रीमान्ले घर खर्च पनि नपठाएपछि छोराछोरीको भविष्यप्रति चिन्तित हुँदै कुवेत पुगेकी रचना अहिले श्रीमान्, सासू र माइतीबाट समेत अपहेलित छिन्।

    उनी भन्छिन् – “घरबाट बहिष्कृत हुनुपर्दा अहिले अनुहार लुकाउने ठाउँसम्म छैन। घरमा पनि सासूससुराको अपहेलनासँगै माइतीले समेत राम्रो मान्दैनन्।” मीना र रचनाजस्ता थुप्रै महिलाले वैदेशिक रोजगारीबाट फर्किएर पारिवारिक र सामाजिक तिरस्कार बेहोरिरहेका छन्।

    गीता वली (नाम परिर्वतन)लाई पनि आफ्नो पीडा सुनाउन निकै गार्हो भयो। शुरुमै उनको गला अवरुद्व भयो, उनका आँखा रसाए। विदेशबाट फर्किए देखि उनलाई श्रीमान्ले बारम्बार घर छाड्न धम्की दिइरहेका छन्। “तँ घरबाट निस्किहाल, म तँलाई राख्दिनँ भन्दै श्रीमान्ले सधैंजसो पीडा दिने गर्छन्,” उनले भनिन् – “श्रीमान्ले राम्रो नगरे समाजले पनि नरामै्र गर्दोरहेछ।”

    विदेश पुगेपछि पनि आठ महिनासम्म तलब नपाएर दुःख पाएको स्मरण गर्दै गीताले भनिन्– “दुःखीलाई जहाँ पनि दुःख नै हुने रहेछ।” वैदेशिक रोजगारमा गएका महिलाहरु स्वदेश फकिर्एपछि सानोतिनो व्यवसाय सञ्चालन गरेर आर्थिकस्तर बढाउने सपना बुन्ने गर्छन् तर, उनीहरुलाई समाजमा अपहेलित हुनुपर्ने डर छ।

    श्रीमान्को मृत्युपछि कमजोर आर्थिक हैसियतकै कारण विदेशिएकी सीतापुरकै भावना बिक (नाम परिवर्तन)ले स्वदेश फर्किएपछि चिया पसल शुरु गरिन् तर, उनले त्यसलाई केही समयमै बन्द गर्नुपर्यो। चिया पसल गर्दा समाजले कुरा काट्न थाले। “पसलमा आउने ग्राहकसँग मस्किन्छे, आजभोलि त यसको धेरैसँग लसपस बढेको छ भन्दै कुरा काट्न थालेपछि चिया पसल बन्द गर्नुपर्यो,” भावनाले आँशु झार्दै भनिन्।

    श्रीमान्ले दोस्रो बिहे गरेपछि छोराछोरीको पालनपोषण र शिक्षाको सपना बोकेर साउदी अरब गएकी महिला पनि छन्।

    परिश्रम र समय एउटै भए पनि खाडी मुलुकमा बस्ने नेपालीले आफ्नो श्रमको उचित मूल्य पाउन नसकेको त्यहाँ जाने महिलाहरुको भनाइ छ। लामो समयसम्म काम गराउने, खान नदिने, कुटपिट गर्ने, गालीगलौच गर्ने र यौन दुव्र्यवहार गर्ने शिकायत उनीहरुको छ। यातना सहन नसकी घरेलु कामदारको रुपमा गएका केही नेपाली महिलाले आत्महत्या समेत गरेका छन्। खाडी मुलुकमा घरेलु कामदारको रुपमा जाने महिलाको सङ्ख्या बढ्दो छ। ती मुलुकबाट हिंसामा परेर फर्किने महिला पनि बढेका छन्। वैदेशिक रोजगारमा हुने भेदभाव र हिंसा न्यून गर्न सरोकारवालापक्ष बीच समन्वय हुनु जरुरी रहेको वैदेशिक रोजगारीबाट फर्किएका महिलाहरु बताउँछन्।

    “महिलाको कमाइ स्वीकार्न नसक्ने र कमाउने आफूलाई मालिक सम्झिने पुरुषवादी सोच त्याग्न जरुरी छ,” उनीहरु भन्छन्। वैदेशिक रोजगारबाट फर्किएका महिलाहरुलाई घरपरिवारमा सहज वातावरण बनाइदिन उनीहरुले सम्बद्ध निकायहरुसँग आग्रह गरेका छन्। नेपाली महिलामा पछिल्लो समयमा आत्मनिर्भर बन्नुपर्छ भन्ने सचेतना जागेको छ। तर, स्वदेशमै रोजगारीको अवसर नहुँदा हजारौं महिला वैदेशिक रोजगारीको बाटो रोज्न बाध्य छन्।

    वैदेशिक रोजगारीबाट फकिर्एका महिलालाई समाजले झन् पीडा दिने गरेको उनीहरुको भनाइ छ। रोजगारीका लागि विदेश जाने इच्छा नभए पनि पारिवारिक समस्याले गर्दा महिलाहरु विदेशिनुपर्ने बाध्यता छ। वैदेशिक रोजगारबाट फर्किएका महिलाहरुमा जति नै पीडा भए पनि एकाधबाहेक धेरैले आफ्ना भोगाइ सार्वजनिक गर्न चाहँदैनन्।

    वैदेशिक रोजगारबाट फर्किएपछि उनीहरुलाई समाज एवं घरपरिवारमा घुलमिल हुन पनि निकै समस्या छ। घरपरिवारमा हुने विभेद, श्रीमान्सँगको बढ्दो दूरी, सम्बन्ध विच्छेद, बहुविवाह, घरेलु हिंसाका कारण विदेशिन बाध्य भएका महिलाहरुमा विशेष गरेर यस्तो समस्या देखिएको छ।

    नेपाली महिलाका लागि रोजगारी प्रतिबन्ध भएका देशमा नेपालबाट जान बन्देज भए पनि भारतीय बाटो प्रयोग गरी विदेशिने गरेका छन्। धेरै महिलाले अवैधरुपमा जोखिमपूर्ण यात्रा गर्छन्। स्वदेश फर्केपछि समाजले गलत दृष्टिकोणले हेर्ने भएकै कारण उनीहरुलाई पुनःस्थापित हुन पनि समस्या छ।
    खाडी मुलुकमा श्रम र यौन शोषण

    भारतलगायत खाडीमा काम गर्न पुगेका अधिकाँश महिला यौन र श्रम शोषणमा पर्ने गरेको चेलिबेटी बेचबिखनविरुद्व क्रियाशील संस्था माइती नेपालको तथ्याङ्कले देखाउँछ। माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाका अनुसार दलालको प्रलोभनमा परी भारत र खाडी मुलुक पुगेका महिलाहरू यौन र श्रम शोषणमा परेका घटना बढ्दो छ।

    माइती नेपालले जोखिममा परेका महिलाहरुको उद्धार पनि निरन्तर गरिरहेकै छ । यौन शोषणका कारण कैयन महिला मानसिकरुपमा विक्षिप्त अवस्थामा पुगेका छन्। भारत र खाडी बाहेक पछिल्ला दिनमा दलालले नेपाली महिलालाई बङ्गलादेशमा पु¥याएर देह व्यापारमा लगाएको घटनासमेत फेला परेका छन्।

    संयोजक कोइरालाका अनुसार कुवेत, लेवनान, बहराइन र साइप्रस पुगेका थुप्रै महिला यौन शोषणमा परेको र उद्धारका लागि आग्रह गर्दै उनीहरुले निवेदन पनि दिने गरेका छन् । घरेलु कामदारका रुपमा महिलालाई विदेशमा नपठाउन आग्रह भइरहे पनि नबुझेर धेरै महिला खाडी मुलुक जाने र दुःख पाउने क्रम बढ्दो छ।

    वैदेशिक रोजगार विभागको २०७४/७५ को तथ्याङ्क अनुसार बाँकेका १३६ जना महिला वैदेशिक रोजगारीमा रहेको देखिन्छ। यो सङ्ख्या विभागबाट वैधानिकरुपमा श्रम इजाजत लिएर विदेशिएको सङ्ख्या हो। तर, यो सङ्ख्या भन्दा धेरै महिला अवैधरुपमा भारत हुँदै वैदेशिक रोजगारीका लागि तेस्रो मुलुकमा गएको अनुमान छ।

    विभागका अनुसार सबैभन्दा धेरै कतार र संयुक्त अरब इमिरेट्स (युएई) मा ३०/३० जना महिला गएका छन्। मलेसियामा २७ जना, कुवेत २०, साउदी अरब १४, पोल्याण्ड र साइप्रस ३/३ जना गएका छन् । त्यस्तै, ओमान र माल्दिभ्समा २÷२ जना तथा बहराइन, जोर्डन र हङकङमा १/१ जना रहेको विभागको तथ्याङ्क छ। रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij