प्रकाशित मिति : मङ्लबार, जेष्ठ २१, २०७६
मुगु । प्रधानमन्त्री केपी शर्मा ओलीको अभिभावकत्व पाएकी एक बालिका वर्षभरीको खर्च जुटाउन मुगुको उच्च हिमाली क्षेत्र पाटन गएकी छिन्। आर्थिक अवस्था कमजोर र बाबु गुमाएकी मुगुम कार्मारोङ गाउँपालिका–८ माँग्री गाउँकी ८ वर्षीया ठिन्ले साङमु लामा आफ्नो वर्षभरीको पढाई तथा अतिरिक्त खर्चको जोहो गर्न एक महिनाका लागि यार्सागुम्बा टिप्न हिमालतिर हिडेकी हुन्। यो समाचार आजको नागरिक दैनिकले प्रकाशित गरेको छ ।
२०७५ वैशाख १ गते कर्णाली रारा पर्यटन वर्षको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्न रारा पुगेका प्रधानमन्त्री ओलीले विद्यालय भर्ना अभियानको अवसर पारेर ८ वर्षीया लामालाई कक्षा १ मा भर्ना गर्दै अभिभावकत्व ग्रहण गरेका थिए। लामाको अभिभावकत्व प्रधानमन्त्री ओलीले लिएपछि उनको पठनपाठन तथा दैनिक दिनचर्यामा परिवर्तन आउने अपेक्षा उनका आफन्त र छिमेकीले लिएका थिए। तर लामाले एक कक्षामा राम्रै नतिजा ल्याएर दुई कक्षामा पुगेको एक महिनामै थप खर्च जुटाउनुपर्ने बाध्यता आएको हो।
लामाजस्तै गएको अघिल्लो बैशाख १ गते नै प्रधानमन्त्रीपत्नी राधिका शाक्यले अभिभावकत्व ग्रहण गरी भर्ना गरेकी छिरिङ छोङजुम लामा पनि पढाई तथा अतिरिक्त खर्च जुटाउन यार्सा संकलन गर्न हिमाली क्षेत्र पाटन गएकी छिन्। सानै उमेरमा बाबु वितेपछि बहिनीले दुःख सुख गरेर बाल बच्चा हुर्काइन्। तर अहिले भान्जीका उमेर समूहका प्रायस् जसो बालबालिका यार्सा टिप्न हिमालतर्फ जाने गरेको तथा उनीहरुले एक महिनामा न्युनतम एक लाखसम्म कमाई गर्ने भएकाले पनि पाटन गएको लामाका मामा ग्याल्जेन लामाले नागरिक न्यूजलाई बताए। ‘गाउँ बसौं भने खेतिपाति छैन, विद्यालय पनि यो बेला बन्द छन्। त्यतिकै गाउँमा बस्नुभन्दा हिमालमा जाँदा वर्ष भरिको पढाई र अतिरिक्त खर्च जुटाउन सकिने भएकाले बहिनीले भान्जा भान्जीलाई यार्सा टिप्नका लागि हिमालमा लिएर गएको ग्याल्जेनले बताए।
यसअघि आर्थिक समस्याका कारण पठन पाठनमा समस्या परेको भन्ने समाचार आएपछि प्रधानमन्त्री ओलीले जिल्ला प्रशासन कार्यालयमार्फत १० हजार नगद पठाएका थिए। ठिन्ले मात्रै हैनन् उनी जस्ता हजारौ बालबालिका यो बेला यार्सा टिप्न हिमालतिर गएका छन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij