प्रकाशित मिति : सोमवार, जेष्ठ २७, २०७६
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गुठी सम्बन्धी विधेयकको विरोधमा राजधानीको माइतीघर मण्डलामा भएको प्रहरी धरपकडको विरोध गर्दे संसद बैठक अवरुद्ध गरेको छ। प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माइतीघर मण्डलामा भएको प्रहरी दमनको भत्र्सना गर्दै सो बारे गृहमन्त्रीको जवाफ माग गरेको हो।
भूमिसुधार मन्त्रीको जवाफपछि पनि कांग्रेस सांसदहरुले आइतबार माइतीघर मण्डलामा प्रर्दशनकारी माथि भएको धरपकडबारे गृहमन्त्रीको जवाफ माग गर्दै अवरोध गरेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरे। बैठकमा कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सरकारले शान्तिपूर्ण रुपमा भेला भएका आम नागरिक माथि वर्वरतापूर्ण आक्रमण गरेको भन्दै सो कार्यको भत्र्सना गरे।
संविधानले धर्म संस्कृति र परम्पराको संरक्षण गर्ने प्रतिवद्धता जाहेर गरेको उल्लेख गर्दै उनले गुठी सम्बन्धी विधयेकले धर्म संस्कृति परम्परा र सम्पदामाथि गम्भीर प्रहार गरेको दाबी गरे। उनले गुठीयारहरुले राजधानी काठमाडौंको माइतीघरमा सरकारको ध्यानाकर्षण लागि शान्तिपूर्ण रुपमा विरोध जुलश गर्दा प्रहरीले धरपकड गर्ने काम गरेको भन्दै उनले सो कार्यको विरोध गरे।
उनले सरकारले विदेशी धर्मप्रचारको टोपी लगाएर नेपाली धर्म र संस्कृतिमाथि प्रहार गर्ने काम गरेको आरोप लगाए। उनले भने, ‘धर्म प्रचार विश्वविद्यालयले पिएचडीको टोपी लगाइदिन्छ। धर्म प्रचारकको टोपी लगाएर नेपालको पुरातन, सनातन धर्म संस्कृतिमाथि सरकारले प्रहार गर्दछ। यो घोर आपत्तिजनक छ।’
उनले सरकारले संविधानको मर्म विपरित विधेयकहरु ल्याउने काम गरिरहेको दाबी गरे। उनले भने, ‘संविधान विपरत विधेयकहरु बारम्बार सदनमा किन प्रवेश गराउन खोजिन्छ? संविधानको गम्भीरतापूर्वक अध्ययन गरियोस्। संविधानलाई स्वामित्वमा लिएका राजनीतिक शक्तिहरुले , दलहरुले यो संविधानको पालना र रक्षा गर्नुपर्दैन? झन संविधानको पालना गर्नुपर्ने, रक्षा गर्नुपर्ने सरकार नै सविधान उलंघनमा छ। यो घोर आपत्तिजनक छ। पछिल्ला विधेयकहरु संविधानले प्रदत्त गरेका हक अधिकारलाई कुण्ठित गर्ने मनसायबाट ल्याइएको छ। यो चाही घोर आपत्तिजनक छ।’
सरकारले धर्म संस्कृति, परम्परा र गुठीको अस्तित्वलाई नै सपाप्त पार्ने ढंगले गैह् उत्तरदायी ढंगले गुठी सम्बन्धी विधेयक अगाडि बढेको भन्दै उनले घोर आपत्ति जनाए। लगत्तै सभामुखले सत्तापक्षका सांसद पम्फा भुसाललाई बोल्न समय दिएपछि कांग्रेस सांसदहरुले नियमापत्ति गरेका थिए। आफूहरुको विरोधका बाबजुत सत्तापक्षका सांसदलाई बोल्नका लागि समय दिएपछि कांग्रेस सांसदहरुले नियमापत्ति गर्दै सभामुखको कार्यशैलीको विरोध गरेका हुन्।
सांसद भुसालले पनि गुठी सम्बन्धी विधेयक र गुठीयारको प्रर्दशनमा भएको धरपकडको विरोध गरेका थिए। लगत्तै बोलेका कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले प्रमुख प्रतिपक्षीले विरोध गरिरहेका बेला सत्तापक्षका सांसदलाई बोल्न दिएकोमा गम्भीर आपत्ति जनाए।
सभामुख कृष्ण महाराले मंगलबारको प्रतिनिधिसभाको बैठक प्रारम्भ भएको जानकारी गराउने वित्तिकै कांग्रेसका सांसदहरुले उभिएर विरोध जनाएपछि सभामुखले प्रमुख सचेतक खाँडलाई बोल्नका लागि समय दिएका थिए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij