आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेपालमै यस्ता खानी छन्, प्रयोग छैन

  • प्रकाशित मिति : शनिबार, असार ७, २०७६



  • ईश्वरचन्द्र झा, काठमाडौँ । खानी तथा भूगर्भ विभागको अन्वेषण तथा सर्वेक्षणबाट नेपालमा ६० प्रकारका खनिज पदार्थको खानी रहेको देखिएको छ । उक्त खनिज पदार्थहरूको अन्वेषण सुरु भएको करिब छ दशक बढी भएको छ तर चुनढुङ्गाबाहेकका खनिज पदार्थको औद्योगिक उत्पादन अझै हुन सकेको छैन ।

    देशलाई आवश्यक खनिज सम्पदाको विकास तथा उत्पादन गरी घरेलु उपयोग बढाएर ग्राहस्थ उत्पादनमा योगदान बढाउने प्रयासलाई मूर्तरूप दिन पछिल्ला दिनमा खनिज सम्पदाको अन्वेषणको कार्यमा भने तीव्रता दिइएको छ ।

    खानी तथा भूगर्भ विभागका अनुसार, नेपालमा मुख्यतया बहुमूल्य धातु सुन, फलाम, तामा, पत्थर, फास्फोराइड र चुनढुङ्गालगायतका खनिज सम्पदाको खानी रहेका छन् । फास्फोराइडको प्रयोग मलखाद उत्पादनका लागि गरिन्छ भने बहुमूल्य पत्थर शृङ्गारका वस्तु हुन् ।

    विभागका अनुसार, रोल्पाको लुङ्ग्रीखोलेमा सुनको खानी अन्वेषण गरिएको छ तर विस्तृतरूपमा अन्वेषण, भू–नक्साङ्कन, क्षेत्रफल निर्धारण, परीक्षणको कार्यहरू हुन सकेको छैन । जाजरकोटमा १०० वर्ग किलोमिटर क्षेत्रफलमा बहुमूल्य पत्थर अन्वेषण गरिएको छ । बैतडीमा ५० वर्ग किलोमिटर क्षेत्रफलमा फास्फोराइडको अन्वेषण गरिएको छ ।

    विभागका सूचना अधिकारी कृष्णदेव झाले तनहुँमा ३०० मिटर तामा तथा मुस्ताङ, दोल्खा, मकवानपुर र बैतडीमा बहुमूल्य तìव युरेनियमको उपस्थिति देखिएको बताउनुभयो । ती सबै खनिज सम्पदाको पहिचान, क्षेत्रफल निर्धारण र नक्साङ्कनलगायतको कार्य सँगसँगै अगाडि बढाइएको छ । विगत पाँच वर्षमा सिमेन्ट उद्योगको सङ्ख्यामा वृद्धिसँगै चुनढुङ्गाको माग बढ्दा उत्पादनले विशेष प्राथमिकता पाएको छ । अर्कोतिर अन्य खनिज सम्पदाको अन्वेषण भए पनि परीक्षणमै समय लाग्दा उत्पादनले भने प्राथमिकता पाउन सकेको छैन । अन्वेषणकै लागि खानी तथा भूगर्भ विभागमा चालू आवमा १६० संस्थाले अनुमति लिएका छन् ।

    खानी तथा भूगर्भ विभागका महानिर्देशक डा। सोमनाथ सापकोटाले नवलपरासीमा १६० वर्ग किलोमिटर क्षेत्रफलमा १० किलोमिटर लम्बाइ र २० देखि २५ मिटर मोटाइ फलामको खानी रहेको अन्वेषण गरिएको बताउनुहुन्छ । विभागका अनुसार नवलपरासीको विभिन्न क्षेत्रमा १० करोड टन भौगर्भिक खनिज पदार्थ रहेको अन्वेषणबाट प्राप्त लागेको छ ।

    अन्वेषण गरिएको उक्त फलाम खानीको औद्योगिक उत्पादनका लागि परीक्षणको चरणमा रहेको छ तर गम्भीर चासो र पहलकदमी लिइयो भने एक दशकदेखि अन्वेषण, नक्साङ्कन, क्षेत्रफल निर्धारण गरी रोक्का गरिएको फलामको दुई वर्षभित्रै औद्योगिक उत्पादन गर्नसकिने विभागले जनाएको छ ।

    समझदारीपत्रमा हस्ताक्षर
    विभागका सूचना अधिकारी कृष्णदेव झाले असार २ गते मात्रै चीनको सिचुवान प्रान्तको छेन्दुस्थित धातु तथा भौगर्भिक अन्वेषण इन्स्टिच्युटसित खनिज पदार्थको गुणवत्ता र औद्योगिक परीक्षण गर्न समझदारी पत्रमा हस्ताक्षर भएको बताउनुभयो । विभागले औद्योगिक उत्पादन परीक्षण गर्न पाँच टन खनिज उक्त इन्स्टिच्युटमा पठाउने तयारी गरिरहेको छ ।

    औद्योगिक उत्पादनका लागि खनिज पदार्थमा ३६ प्रतिशत फलामको मात्रा हुनुपर्छ । नवलपरासीमा अन्वेषण गरिएको चट्टानमा २४ देखि ५८ प्रतिशत फलामको मात्रा पाइएको छ । विभागका सूचना अधिकारी झाले आर्थिक वर्ष २०७६÷७७ सम्म अन्वेषणको सम्पूर्ण प्रक्रिया पूरा भइसक्ने उल्लेख गर्नुभयो ।

    परीक्षणका लागि पनि विदेश नै पठाउनुपर्ने र खनिज अन्वेषण तथा प्रशोधनका लागि आवश्यक स्रोत साधन र विज्ञको अभावले खनिज सम्पदा उपयोग र विकासले अपेक्षाकृत गति लिन सकेको छैन ।

    उद्योग विभागका महानिर्देशक विनोदप्रकाश सिंहले औद्योगिक परीक्षण प्रतिवेदन प्राप्त भएपछि वातावरणीय प्रभाव मूल्याङ्कन र सम्भाव्य अध्ययन गरेपछि मात्रै उद्योग स्थापनाको चरणमा जाने बताउनुहुन्छ ।

    राष्ट्रिय खनिज नीति–२०७४ ले त खनिज सम्पदाको वैज्ञानिक र अधिकत्तम उपयोगमार्फत दोहोरो अङ्कको समतामूलक आर्थिक वृद्धि कायम गर्दै अतिकम विकसित राष्ट्रबाट मध्यम आय भएको राष्ट्रमा पुग्ने लक्ष्य राखेको छ तर नीति र प्राथमिकताबीचको सन्तुलन र व्यावहारिक पक्ष नमिल्दा खनिज सम्पदाको पहिचान, नक्साङ्कन, परीक्षण र औद्योगिक उत्पादनसम्म पुगेर आफ्नै माग पनि पूर्ति गर्न एक दशक लाग्ने देखिन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij