प्रकाशित मिति : शनिबार, असार २१, २०७६
काठमाडाैं । सडक योजनाका नाममा खेती नै मासिने गरी बझाङको खप्तड–छान्ना–६, पाटादेवलमा चलाइएका डोजर जिल्ला प्रशासन कार्यालयले बन्द गराएको छ । सिँचाइ तथा खानेपानी योजनामा समेत क्षति पुर्याएको भन्दै कार्यालयले शुक्रबार बिहान दुईवटा डोजरसहित उपभोक्ता समितिका पदाधिकारीलाई नियन्त्रणमा लिएको छ ।
लम्तडा–कालुखेती–थामलेक चक्रपथ सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष सुरेन्द्रबहादुर सिंह, उपाध्यक्ष भूमिराज जोशी, सचिव दण्डीराज जोशीलगायतलाई नियन्त्रणमा लिई डोजर नचलाउने सर्तमा छाडिएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए ।
उनका अनुसार नेकपाका प्रदेश समिति सदस्य दिलबहादुर सिंह, टोपबहादुर खडका, प्रदेश सभामुख अर्जुनबहादुर थापाका सल्लाहकार कलक खत्री तथा जिल्ला समन्वय समितिका पदाधिकारीको उपस्थितिमा पदाधिकारीलाई डोजर बन्द गर्ने लिखित कागज गराइएको पनि उनले जानकारी दिए ।
‘अब निर्माणको काम अगाडि नबढाउने, बिग्रेका खानेपानी र सिँचाइका संरचना पुनर्निर्माण गर्ने र पीडित किसानलाई क्षतिपूर्ति दिने कागज गराइएको छ,’ उनले भने, ‘सडक निर्माण तत्कालका लागि रोकेर अर्को वर्षबाट कम क्षति हुने गरी काम गर्न उहाँहरू सहमत हुनुभएको छ ।’
उपभोक्ता समिति अध्यक्ष सिंहले हतारमा काम गर्नुपरेकाले यस्तो भएको बताए । ‘जसरी पनि असार २५ भित्रै काम सक्नुपर्ने बाध्यता थियो,’ उनले भने, ‘त्यही भएर धेरै कुराको ख्याल गर्ने फुर्सद नै भएन । बिग्रेका संरचना बनाइदिन्छौं भनेकै हौं । तैपनि योजना रोक्नुपर्ने अवस्था आइलाग्यो ।’ याे सामचार आजको कान्तिपुर दैनिकमा छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij