प्रकाशित मिति : आइतवार, साउन ५, २०७६
काठमाडौं। अभिनेत्री शिल्पा पोखरेल र निर्माता छविराज ओझाको विवादमा नयाँ ट्वीस्ट आएको छ । अब यी दुवै जना जेल जानुपर्ने हुन सक्छ । छविले आफूलाई यातना दिएको भन्दै प्रहरीमा पुगेकी शिल्पाले न्याय मागिरहेका बेला अब उनी नै जेल पुग्ने स्थिति बनेको हो ।
निर्माता छविराज ओझाकी जेठी श्रीमती हेमा ओझाले श्रीमान छवि र शिल्पा पोखरेलबिरुद्ध प्रहरीमा बहुविवाहको उजुरी दिएकी छन् । उनले आइतबार महानगरीय प्रहरी वृत्त गौशालामा बहुविवाहको उजुरी दिएकी हुन् ।
हेमाले दिएको जाहेरीमा लेखिएको छ, ‘मसंग सम्बन्ध रहँदा रहँदै वहुविवाह गरेकोले हिजोमात्र मैले विपक्षी पति छविराज ओझा र शिल्पा पोखरेलबीच मिति २०७५ साल पौष ११ गते विवाह दर्ता गरेको नीज विपक्षीहरुको विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि फेला पारेपछि नीजहरुले वहुविवाह गरेको प्रमाणित नै भएकाले निज मेरो विपक्षी श्रीमान छविराज ओझाले घरमा श्रीमति (म) हुँदाहुँदै छोरी भन्न सुहाउने उमेरकी शिल्पा पोखरेलसंग वहुविवाह गरेको हुँदा म यो जाहेरी लिई उपस्थित भएकी छु । निज मेरा विपक्षी पति छविराज ओझा र निज शिल्पा पोखरेललाई प्रचलित कानुन बमोजिम यथासक्य चाँडो नियन्त्रणमा लिई कारवाही प्रक्रिया अघि बढाई अनुसन्धान समेत गरि निजहरुलाई कानुन बमोजिम सजाय गरि गरिपाउँ ।’
शिल्पा र छविले तीन वर्ष अगाडी गुपचुप विवाह गरेका थिए । छविको चौथो श्रीमतिको रुपमा भित्रिएकी शिल्पाले गएको महिना श्रीमान छविवाट घरेलु हिंसामा परेको भन्दै प्रहरी परिसर टेकुमा उजुरी दिएकी थिइन् । त्यहाँ दुईबीच अब कहिल्यै झगडा नगर्ने भन्दै मिलापत्र भएको थियो । तर, कागजी सहमति भएपनि शिल्पा घर नफर्किने बताएकी थिइन् ।
शिल्पाले डिभोर्सका लागि केही दिनअघि अदालतमा निवेदन दिइसकेको बताएकी छिन् । छविको जेठी श्रीमतीको उजुरीसंगै छवि र शिल्पाबिचको विवादले नयाँ मोड लिएको छ ।
वहुविवाह सम्बन्धि कानुनले वहुविवाह गर्ने श्रीमान र उनीसँगै विहे गर्ने नयाँ दुल्हनले पनि जेल जानुपर्ने व्यवस्था गरेको छ ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij