आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

माथिल्लो तामाकोशीमा सकस

  • प्रकाशित मिति : सोमवार, साउन ६, २०७६



  • काठमाडाैं। माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाप्रति सरकारको जति चासो छ, त्योभन्दा बढी आम नागरिकको छ। कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने करीब छ लाख सञ्चयकर्तामध्ये तीन लाखले आयोजनाको साधारण शेयर खरीद गरेका छन्।

    यस्तै तीन लाख बढी नागरिकले सर्वसाधारणको हैसियतमा आयोजनाको साधारण शेयर खरीद गरी लगानी गरेका छन्। आयोजना कहिले सकिएला र बिजुली बल्ला भन्ने आम चासो पनि उत्तिकै छ। एकै आयोजनाबाट ४५६ मेगावाट विद्युत् उत्पादन गर्ने सो आयोजना हालसम्मकै ठूलो हो।

    सरकारले आयोजनालाई राष्ट्रिय गौरवका रुपमा सूचीकृत गरी महत्व दिएको छ। नेपाल स्टक एक्सचेञ्जमा आयोजनाको मात्रै कूल १० करोड ५९ लाख कित्ता शेयर सूचीकृत छ। बिजुली उत्पादन शुरु भए पनि आफूले गरेको लगानीले उचित प्रतिफल देला भन्ने लगानीकर्ताको अपेक्षा ठूलो छ। सरकार चाहन्छ–आयोजनाको विद्युत् उत्पादन शुरु भएपछि भारतबाट विद्युत् आयात गर्नु पर्दैन। सरकारले हरेक वर्ष करीब १८ अर्ब बराबरको विद्युत् भारतबाट आयात गर्ने गरेको छ।

    आयोजना सम्पन्न भएपछि मुलुकको आर्थिक वृद्धिदरमा सकारात्मक प्रभाव पार्ने सरकारको अपेक्षा छ। आर्थिक वर्ष २०७५/७६ मा आर्थिक वृद्धिदर ८.२ प्रतिशत हुने लक्ष्य राखिएकामा सो आयोजना र मेलम्ची खानेपानी आयोजना नसकिँदा अपेक्षित लक्ष्य हासिल नभएको अर्थमन्त्रालयले जनाएको छ।

    सबैको सकारात्मक चासो र अपेक्षा रहे पनि आयोजनाको काम भने त्यत्ति सहज भने छैन। यद्यपि आयोजनाको भौतिक प्रगति ९८ प्रतिशत पुगेको छ। बाँकी रहेको दुई प्रतिशत काम सम्पन्न गर्न भने नेपाल विद्यत् प्राधिकरण र आयोजनाको प्रवद्र्धक माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीलाई गाह्रो परेको छ। साधन, स्रोत उपलब्ध छ । प्राधिकरणले आवश्यक सहजीकरण गरिरहेको छ। हरेक महीना आयोजनास्थलमा नै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माण व्यवसायी, परामर्शदाता लगायतको नियमित बैठक राखी समस्याको सहजीकरण गरेका छन्।

    दैनिकरुपमा प्राधिकरणका कार्यकारी निर्देशक एवं माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीका अध्यक्ष घिसिङले चासो राखेपनि निर्माण व्यवसायीले अझै अपेक्षित कार्यसम्पादन गरेको छैन। यद्यपि ठूलो आयोजनाको काम भने त्यत्ति सहज भने पक्कै छैन।

    ठाडो सुरुङमा पाइप जडान चुनौतीपूर्ण

    आयोजनामा नियमित खटिएका माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार तल्लो ठाडो सुरुङमा पहिलो पाइप जडान, वेल्डिङ लगायतका काम गर्न ३६५ घण्टा लागेको थियो। यस्तै चौथो पाइप जडान गर्दा समय घटेर १२८ घण्टामा झरेको छ। समय क्रमशःघट्दै जाने आयोजनाको भनाइ छ।

    कूल ३७२ मिटर लामो तल्लो ठाडो सुरुङमा पाँच मिटर लम्बाइ र २७ टन तौल भएका ७० वटा पाइप जडान गर्न बाँकी छ। माथिल्लो ठाडो सुरुङको लम्बाई ३१० मिटर रहेको छ। आइतबार स्थलगत निरीक्षणमा पुग्नुभएका कार्यकारी निर्देशक घिसिङले पाइप जडानका लागि लाग्ने समयलाई अझै घटाउन एन्ड्रिज हाइड्रोलाई निर्देशन दिए। तल्लो ठाडो सुरुङमा चार वटा पाइप जडान गरिसकेकाले अब ठेकेदार कम्पनीको आत्मविश्वास बढेकाले कामलाई तीव्रता दिने आयोजनाको विश्वास छ।

    स्वदेशी लगानीमा निर्धाणाधीन आयोजनाको दुई वटा ठाडो सुरुङ २७.५ मिटर पेनस्टक पाइप जडान गरिसकिएको प्रवक्ता डा न्यौपानेले बताए। आयोजनाको सबैभन्दा जटिल मानिएको तल्लो ठाडो सुरुङमा २० मिटर र माथिल्लो ठाडो सुरुङमा ७.५ मिटर पेनस्टक पाइप जडान गरिएको छ।

    लामो समयको प्रयासपछि अत्यन्तै जटिल र चुनौतीपूर्ण मानिएको तल्लो ठाडो सुरुङमा गत १ असार र माथिल्लोमा ९ असारदेखि पेनस्टक पाइप जडान शुरु गरिएको हो। कार्यकारी निर्देशक घिसिङले पछिल्लोपटक तय गरिएको समयतालिका भित्रै र गुणस्तरीय निर्माण सम्पन्न गर्न आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीलाई निर्देशन दिए।

    “जसरी पनि आगामी चैतको दोस्रो साताभित्रमा पहिलो युनिटबाट विद्युत् उत्पादन शुरु गर्नैपर्छ”, कार्यकारी निर्देशक घिसिङले भने। आयोजनामा कूल छ वटा युनिट छन् । त्यसमा पहिलो युनिटबाट ७६ मेगावाट विद्युत् उत्पादन हुन्छ।

    कार्यतालिका अनुसार बाँकी रहने पाँच युनिटबाट आगामी असारभित्रमा अर्थात् चालू आवको अन्त्यसम्म जसरी पनि निर्माण सम्पन्न गर्नैपर्ने तालिका छ। “निर्माण सम्पन्न हुने समय तालिकामा चासो छ, यसमा गम्भीर बन्नुहोस्, सँगै भएर निर्माण सम्पन्न गरौँ, यसले सबैलाई खुशी बनाउँछ तालिका अनुसार निर्माण सकेनौँ भने सबैलाई समस्या पर्छ”, कार्यकारी निर्देशक घिसिङले भने। जनशक्ति बढाएर दैनिक तीन चरणमा काम गर्न पनि उहाँले निर्माण व्यवसायीका प्रतिनिधिलाई निर्देशन दिए।

    ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले गत चैत ९ गते हरेक महीना आयोजनास्थलमा पुगी समस्या समाधान गर्न निर्देशन दिएका थिए। मन्त्री पुनले पछिल्लो पटक तय गरिएको तालिकाभित्रै निर्माण सम्पन्न गर्न हरेक महीना आयोजनास्थलमै उच्चस्तरीय बैठक राख्नसमेत आग्ह गरेका थिए।

    पेनस्टक पाइप आपूर्ति तथा जडानको ठेक्का पाएको भारतीय कम्पनी टेक्सम्याकोले काम गर्न ढिलाइ गरेपछि तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा इलेक्ट्रोमेकानिकल ठेकदार अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई दिइएको छ। आयोजना, टेक्सम्याको र एन्ड्रिजबीच गत २३ पुसमा आयोजनालाई थप वित्तीय भार नपर्ने गरी यो काम गर्न त्रिपक्षीय सम्झौता भएको थियो। माथिल्लो ठाडो सुरुङमा पाइप जडान भने टेक्सम्याकाले नै गरिरहेको छ।

    काम सन्तोषजनक भएन

    माथिल्लो ठाडो सुरुङमा पाइप जडानको काम सन्तोषजनक नपाइएपछि घिसिङले भारतको कलकत्तास्थित टेक्स्याकोका प्रमुख कार्यकारी अधिकृत जिसी अग्रवाललाई आयोजनास्थलबाटै फोन सम्पर्क गरी विगतमा जनाइएका प्रतिबद्धता पूरा गर्न आग्रह गरेका छन्।

    “आयोजनास्थलमा परिचालित व्यवस्थापन ज्यादै कमजोर छ, काममा पर्याप्त जनशक्ति पनि परिचालन भएको छैन। व्यवस्थापन सुधार गरी जनशक्ति थपेर काममा गति दिनुहोस्”, घिसिङको आग्रह छ।

    ‘गोरखा भूकम्प’ त्यसपछिका परकम्पन एवं बाढीपहिराले पु¥याएको क्षति तथा अवरोध, तराई–मधेश आन्दोलनका कारण निर्माण सामग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, डिजाइन परिवर्तन, हाइड्रोमेकानिकल ठेकेदारको कमजोर कार्यसम्पादन लगायतले गर्दा आयोजनाको निर्माणमा ढिलाइ भएको छ।

    आयोजनाको निर्माण आर्थिक वर्ष २०७३/७४ भित्र सकी विद्युत् उत्पादनको लक्ष्य राखिएको थियो । भूकम्पलगायतका कारणले आयोजनाको निर्माण प्रभावित भएपछि चालू आव २०७५/७६ को पुस महीनाभित्र निर्माण सक्ने गरी नयाँ एकीकृत समय तालिकाका तय गरिएको थियो। तर लट २ को ठेकदारको कमजोर कार्यसम्पादनका कारण निर्माण प्रभावित भएको माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताए। आयोजनाको विद्युत् गृह निर्माण सम्पन्न भई तयारी अवस्थामा छ भने प्रसारण लाइनको निर्माण अन्तिम चरणमा पुगेको छ। रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij