प्रकाशित मिति : शनिबार, साउन १८, २०७६
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुमा स्वर्गीय जीवराज आश्रितप्रति हेर्ने दृष्टिकोणमा मतभेद देखिएको छ ।
जीवराज आश्रितको ७५ जन्मजयन्तीका अवसरमा शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा पार्टीले जीवराज आश्रितलाई कुसल संगठकका रुपमा मात्र चित्रण गरेको भन्दै नेकपा सचिवाल सदस्य बामदेव गौतमले असन्तुष्टि जनाए ।
कार्यक्रमको सुरुमै बोलेका नेता गौतमले आश्रित मदन भण्डारीको पनि नेता भएको तर्क गरे ।
उनले भने, ‘जीवराज आश्रित मदन भण्डारीका पनि नेता थिए । उहाँहरुको सँगै स्वर्गबास भयो । हामीले मदन भण्डारीलाई जननेताका रुपमा चित्रण गर्यौँ । तर जीवराज आश्रितलाई कुसल संगठक भनेर चित्रण गर्यौँ । यसमा मलाई चित्त बुझेको छैन । एउटा जननेता हुन अर्को संगठक मात्र ?,’ पार्टीले जीवराज आश्रितलाई मदन भण्डारीको छायाँमा राखेको भन्दै गुनासो पनि गरे ।
साथै नेता गौतमले भण्डारी र आश्रितको केही सपना आफूहरुले पुरा गरेको पनि बताए । ‘हामीले राजतन्त्र फाल्यौँ । संघीय गणतन्त्र स्थापना गरेका छौँ । संविधान निर्माण गरेको छौँ । अहिले हामी समाजवादतिर हिँडिरहेका छौँ ,’ उनले भने । नेता गौतम यतिमै रोकिएन । गणतन्त्र स्थापनालाई ठूलो उपलब्धीका रुपमा आथ्र्याएका उनले संघीयता भने मन नपरेको तर्क गरे ।
‘देशमा संघीय गणतान्त्रिक व्यवस्थामा छ । तर केहीलाई यो मन परेको छैन, मलाई पनि यो मनपरेको छैन,’ नेता गौतमले भने, ‘तर हामीले समाजवाद प्राप्तिका लागि सोच्नु पर्ने बेला आएको छ ।’ पछिल्लो समय संघीयता विरोधी स्वरहरु चर्को रुपमा उठिरहेका बेला गौतमको यो अभिव्यक्ति अर्थपूर्ण रुपमा लिन सकिन्छ ।
त्यसपछिका वक्ताहरुले संघीयताको विषयमा टिप्पणी नगरे पनि जीवराज आश्रितबारे गौतमले राखेको टिप्पणको खण्डन गरे । नेकपा स्थायी कमिटी सदस्य एवं परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले आश्रितलाई कुसल संगठक भन्नुमा कुनै अन्याय भएको तर्क गरे । यस्तै नेकपाका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले पार्टीको निर्णय अनुसार नै आश्रितलाई कुसल संगठकको परिचय दिएको बताए ।
उनले भने, ‘दासढुङ्गा घटना भएपछि बसेको पार्टीको बैठकले महासचिवमा माधव नेपाल रहने र मदन भण्डारीलाई जननेता, जीवराज आश्रितलाई कुशल संगठक भन्ने निर्णय गरेको थियोे । जीवराज आश्रित मदन भण्डारीको पनि नेता हुन् । तर समय र व्यक्तिको क्षमताले तलमाथि हुने गर्दछ । उहाँलाई कुसल संगठक भनिनुमा विमति जनाउनु पर्ने कारण छैन ।’
नेता पाण्डेले पार्टीको संगठन निर्माणमा आश्रित विशेष भूमिका रहेको दाबी गरे । ‘जीवराज आश्रितले पार्टी संगठन सरकारको संरचना अनुसार बनाउनुपर्छ भनेर ०४६ सालमा प्रस्ताव पेश गर्नु भएको थियो । त्यो पास पनि भयो । त्यसकै जगमा नेकपा यहाँसम्म आइपुगेको छ,’ उनले भने । जीवराज आश्रितले क्रान्त्रिका लागि पार्टी चालाएको भन्दै सत्ता पार्टी चलाउन अब सबै एकताबद्ध हुनपर्नेमा जोड दिए ।
पूर्व प्रधानमन्त्री एवम् नेकपा सचिवालय सदस्य झलनाथ खनालले समकालीन नेताहरुमा जीवराज आश्रितलाई सांगठनिक रुपमा विशेष खुबी भएको नेताको रुपमा अथ्र्याए । जसकारण पनि उनलाई कुसल संगठक भन्दा फरक नपर्ने तर्क उनको तर्क थियो । सांगठनिक गतिशीलत र अनुशासन कायम गराउने कुरामा आश्रितमा अद्भूत क्षमता रहेको पनि बताए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij