आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कलाकारले नै सिध्याए तीज गीतको मौलिकता

  • प्रकाशित मिति : बिहिबार, साउन २३, २०७६



  • गीत सङ्गीतले कयौँ मानिसको जीवनमा सकारात्मक परिवर्तन गर्न सक्छ । बेदना पोखेर मन हल्का बनाउन सक्न भने नयाँ जाँगर, उत्साह थप्न सक्छ । गीत संगीत समाजलाई सकारात्मक बाटो तिर लाने आम मानिसका जीवन सँग जोडिएको हुनुपर्छ । समाज प्रति बफादारी हुनुपर्छ र जवाफदेही पनि ।

    अहिले छाडा शब्द प्रयोग गरेर, जस्तो पायो त्यस्तै भागामा गीत गाउँदा तीजको मौलिकता नै हराएको जस्तो भएको छ । पछिल्लो समय तीज संस्कृति सखाप हुँदैछ । पहिले मनोरञ्जनका लागि मात्रै तीज गीत गाइँदैनथ्यो । तीज आउनुभन्दा ३ महिना अगाडि देखी गीत बजारमा आउने परम्परा, १ महिना अगाडि देखी दर खाने नाउँमा सोम रसको पानले पनि मौलिक संस्कृति र वास्तविक तीज हरायो की भन्ने बहस संस्कृति संरक्षणमा लाग्नुपर्छ भन्नेहरुले उठाउँदै आएका छन । चेलीका वेदनाका कुरा भन्दा यौन र सेक्सका कुरा गरेर तीजको महत्वनै सिध्याईंदैछ ।

    पहिले माइतीमा चेलीको बेदना पोख्ने माध्यमको रुपमा तीज गीत र उस्तै वेदनाका भाका हुन्थे । पछिल्लो चरणमा तीज मौलिकता बचाउनुपर्छ भनेर भन्दा पनि अस्वस्थ प्रतिष्पर्धामा तीजको मौलिकता सिध्याइएको छ । नयाँ चलेका कलाकार समेत त्यही होडबाजीमै छन । रङ्ग न ढङ्गका आजभोली आईरहेका भन्दा पुराना मौलिक तीज गीतनै सार्वजनिक कार्यक्रम या नाचगानमा घन्किने गरेको छ । तर पनि मौलिकतामा कलाकारले ध्यान दिएका छैनन् ।

    ‘यसपालिको तीजमा मलाई कस्तो हुने हो
    माइत जान पाउँछु की घरमै रुने हो’

    ‘तीजको रहर आयो बरिलै’

    ‘माइती हेप्ने बाटो हुन्छ बाबु तेरो भेनालाई
    जे भएनि एक चोटी त जा भो लिनलाई ‘

    ‘सबैले ल्याए चेली र बेटी तीजको दीनलाई नीर जाले हो तीजको दिनलाई
    हाम्री नी छोरी आत्तिइ होली जानुस् भो लीनलाई निर जाले हो जानुस् भो लिनलाई’

    ‘लेकै फुल्यो लालुपाते बेँसी फूल्यो टुनी बरिलै
    जन्मै दिन हेपिएको यो छोरीको जुनी बरिलै’

    ‘आँगनीमा काउली लायो कदमैको छाँयाले
    सातै डाँडा काटी आएँ आमा हजुरैको मायाले’

    ‘डाँडेमा राम्रो माँ का चराचरीले, घरैमा राम्रो छोरा छोरीले
    गोठैमा राम्रो माली भन्ने गाईले, माइतमा राम्रो दाजुभाइले’

    ‘हाम्रो बाबाले घर छान्नै जानेनन् बरिलै दाङ छोडी प्यूठान
    प्यूठानमा कामको दुःख धेरै छन बरिलै लेउ आमा घिउ खान’

    अहिले छाडा पनि यति सम्म भएका छन की ती तीजका गीतहरू परिवारसँग बसेर हेर्न सकिँदैन । रत्यौली र छाडा शब्दले तीजलाई र तीज गीत संस्कृतिलाई नै घीनलाग्दो बनाउन थालेको छ । पोहोर परार देखिनै तीजलाई छाडा बनाउन शुरु गरिएको थियो ।

    ज्याति मगरले गाएको
    रातो सारी छोडेर जिनको पाइन्ट लाइन्छ
    आफूले त यो तीजमा दर खाँदानी रक्सी खाइन्छ ।

    टीका लामिछानेले गाएको
    ठेल न बुढि ठेल

    विष्णु माझीले गाएको
    बरिलै भिनाजु पल्केर
    जवानी छल्केर

    कोमल वलीले गाएको
    जमाना सँगै फेरियो चीज
    नाचौँ हामी डिस्कोमा तीज

    टिका तारामी मगरले गाएकाे

    मेरो त पिठ्युँमा बेस्सरी चिनायो
    बैंसको चढ्यो की जुम्रो पो प-यो की…

    यसवर्षको तीज नजिकीँदै गर्दा केही दिनयता युट्युबमा पनि तीजको लहर छपक्कै छाएको छ । हरेक दिन १० देखि १५ वटासम्म तीज गीत युट्युबमा अपलोड भइरहेका छन् । कतिपय कलाकारले आफ्नै युट्युब च्यानल बनाएर पनि अपलोड गरिरहेका छन् । म्युजिक नेपाल, हाइलाइट्स नेपाल, सङ्स नेपाल, बुढासुब्वा जस्ता सङ्गीतलाई व्यवसायी बनाउँदै आएका युट्युब च्यानलमा अपलोड गरिएका र भइरहेका तीज गीतमात्रै हजारौं पुगिसके ।

    तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल द्वितीया देखि पञ्चमी सम्म ४ दिन मनाइन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ । नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् ।

    यो पर्व मुख्य रूपले नेपालभर मनाइन्छ भने भारतका कुनै कुनै प्रान्तमा मनाइन्छ । आद्य शक्ति भगवान शिवकी अर्धाङ्गिनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो वर्त राखेकी थिइन् त्यो दिन यही हरितालिका तिजको दिन थियो त्यसै दिन आजसम्म हिन्दु नारीहरूले यो पर्व मनाउँदै आएकाे विश्वास गरिन्छ ।

    हिन्दु धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरे पछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन्। पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइ सक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिईकन निराहार व्रत बसिन्। यसरी पार्वतीको कठोर व्रतको कारण शिवजी प्रकट भई ‘चिताएको कुरा पुगोस्’ भनी आशीर्वाद दिए पछि शिव पार्वतीको विवाह हुन पुग्यो। त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो। सोही तिथिदेखि हिन्दु नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ।

    आधुनिक समाजमा तीजको महत्वलाई जुनरूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो। सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात् आफ्नो श्रीमानको साथमा उसको घरमा बसी बाँकी जीवन बिताउनु पर्ने हुन्छ। यसरी आफू जन्मेको घर, मातापिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइ घरमा जीवन बिताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा अवसरको रूपमा तीज पर्वको महत्व छ।

    तीजको सांस्कृतिक र धार्मिक महत्व डस्टबिनमा फालेर महिलाहरू तीज सुरु हुनु भन्दा २, ३ महिना अगावै टोल छिमेकमा रातभरि दर खाने निहुँमा विभिन्न किसिमका स्वदेशी तथा विदेशी ब्रान्डका रक्सी र मासुमा डुबेर कसैलाई राम्ररी सुत्न दिँदैनन । भड्किला उत्ताउला किसिमका गीत सङ्गीतले नेपाली समाजलाई कहाँ पु-याउँछ र के सम्म असर पर्छ कसैले हेक्का राख्दैनन् ।

    महिलाहरू विवाह पश्चात् आफ्ना दुख पीडाहरु माइतीघरमा पोख्न पाएका हुँदैनन् तर यही चाडले माइतिघरमा वर्षको एक दिन भएपनि चेलिबेटीले आफ्नो दुखेसो पोख्ने आराम गर्ने छाहारी पाउँछन् । माइतिघर टाढा रहेका चेलीहरू कहिले तीज आउला र माइतिघर जाउला भन्ने आसमा बसेका हुन्छन् । माइतिघरका आमा बुबालाई भेट्न नपाएको तिर्सना समेत तीज पर्वले मेटाउने गर्दछ र गीतमा त्यसैको मौलिकता आउने गर्छ ।

    तीजमा महिलाहरूले माइतीघरमा गएर नाचगान गरेर मीठा मीठा परिकारहरू खान्छन् । माइतीघर जान नपाएका विवाहिता महिलाहरू आफ्नो श्रीमानको दीर्घायुको कामना गर्दै व्रत बसी नाचगान र मनोरञ्जन गर्छन् भने अविवाहिता सुयोग्य वरको आशा राखी व्रत बस्छन्। व्रतको समयमा महिलाहरूले तीजको व्रतकथा सुन्ने र समापनमा पूजा लगाई ब्राम्हणहरूलाई दान दक्षिणा गर्ने चलन रहेको छ।

    तर केही वर्ष यता तीज मनाउने जुन परम्परा चलि आइरहेको थियो त्यो भने हटेर जाने क्रम बढ्दो छ । तीज आउनु अगावै भोजभतेर गरेर नाचगान सुरु गर्ने तीजका गीतमा पनि भड्किला शब्द प्रयोग गर्ने चलन बढ्दै गएको छ। जसले गर्दा परम्परागत रुपमा स्वीकार गर्दै आएका संस्कृति चालचलन धमिलिदै छन् । गीत संगीतकाे बेथितीसँगै तीजको दिन लत्ताकपडामा गरगहना लगायतका कुरा हावी हुन थालेका छन् । जसले गर्दा कतिपय ठाउँमा निम्न वर्गका केही महिलाहरू तीजको सामूहिक नाचगानमा समेत आफूलाई अग्रसर गराउन सक्दैनन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij