आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भरतपुरमा पाँच जनाभन्दा बढी जम्मा हुन नपाइने

  • प्रकाशित मिति : सोमवार, भदौ ९, २०७६



  • जिल्ला प्रशासन कार्यालय चितवनले जिल्ला प्रहरी कार्यालय चितवनको आसपासका क्षेत्रमा पाँच जनाभन्दा बढी मानिस एक ठाउँमा जम्मा भएर बस्न निषेध गरेको छ ।

    कार्यालयले आइतबार राति आदेश जारी गर्दै आज सोमबार बिहान ६ बजेदेखि उक्त नियम लागू हुने जनाएको हो ।

    प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतद्वारा जारी आदेशमा ‘पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनसम्बन्धी अनुसन्धान, अभियोजन र न्यायिक निरुपणका सिलसिलामा न्यायिक हिरासतमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलगायतको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीबाट अशान्ति हुन सक्ने देखिएको उल्लेख छ ।

    जसका कारण पाँच जनाभन्दा बढी एकै स्थानमा जम्मा हुन नपाउने आदेश जारी गरेको हो ।

    आदेशमा भनिएको छ, ‘मुद्दाको अनुसन्धान, अभियोजन र न्यायिक निरुपण गर्ने निकाय रहेको क्षेत्रमा हुल दङ्गा र अशान्ति हुनसक्ने देखिएकाले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को ३ (क) बमोजिम भदौ ९ गते बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्मका लागि यो आदेश जारी गरिएको छ ।’

    जसअनुसार वाइपास सडकतर्फको आन्तरिक राजश्व कार्यालयको चोकदेखि घरेलु कार्यालयको चोकसम्म, पूर्वपश्चिम लोकमार्गतर्फको सप्तगण्डकी अस्पताल चोकदेखि चौबीसकोठी चोकसम्म पाँच जनाभन्दा बढी मानिस जम्मा हुन पाइने छैन ।

    यसैगरी, वाइपास सडकतर्फको आन्तरिक राजश्व कार्यालयको चोकदेखि भरतपुर अस्पताल–पुरानो मेडिकल कलेज जाने चोक, नारायणी मावि चोक–कृषि ज्ञान केन्द्र हुँदै लोकमार्गतर्फको चौबीसकोठी चोकसम्म, वाइपास सडकतर्फको घरेलु कार्यालय चोकदेखि दूरसञ्चार चोक हुँदै पूर्वपश्चिम लोकमार्गतर्फको सप्तगण्डकी अस्पतालचोकसम्मको क्षेत्रमा त्यसरी जम्मा हुन निषेध गरिएको हो ।

    पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणपछि पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेको रिहाइको माग गर्दै भरतपुरमा दिनहुँ प्रदर्शन हुँदै आएको छ । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी उक्त आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा आइतबार साँझ केही प्रदर्शनकारी र प्रहरी घाइते भएका छन् ।

    झडपका क्रममा जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालासहित ११ जना प्रहरी घाइते भएका थिए ।

    सो क्रममा १० जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लामिछाने र युवराज कँडेलको आज चितवन जिल्ला अदालतमा बयान हुँदैछ ।

    साउन २० गते पुडासैनीले भिडियोमा कारण रेकर्ड गरेर आत्महत्या गरेका थिए । सोही भिडियोको आधारमा लामिछानेसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij