प्रकाशित मिति : आइतवार, भदौ २२, २०७६
काठमाडौं। प्रतिनिधिसभाको आइतबारको बैठकले सांसदहरुको समिति परिवर्तन सम्बन्धि प्रस्ताव गर्दै केही सांसदहरुको संसदीय समिति परिवर्तन गरिएको छ।
यही मध्ये एक काँग्रेस सांसद संजय गौतमलाई कानुन कानुन न्याय तथा मानव अधिकार समितिबाट विकास समितिमा पठाइएको छ। उनको स्थानमा काँग्रेस सभापति शेरबहादुर देउवा आएका छन्।
गौतमलाई सो समितिबाट परिवर्तन गरिनुमा एनसेल प्रकरण रहेको चर्चा चलेको छ। बर्दियामा रहेका सांसद गौतमले डिसी नेपालसँगको फोन सम्पर्कमा भने, ‘मलाई पार्टीले पहिला कानुन समितिमा पठायो, अब विकास समितिमा पठाएको छ, जहाँ भए पनि काम गर्ने हो, म कार्यकर्ता न हुँ।’
स्रोतका अनुसार सांसद गौतमको संसदीय परिवर्तन गर्ने विषयमा उनीसँग कुनै छलफल भएको थिएन। सांसद गौतमले पहिला छलफल भएको थियोकी भन्ने डिसी नेपालको प्रश्नमा भने, ‘यसमा मेरो केही प्रतिक्रिया छैन ।’
यो विषयमा काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणसँग सम्पर्क गर्ने डिसी नेपालको प्रयास सफल हुन सकेन।
गौतमले यही भदौ २० गते बसेको कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा एनसेललाई लाभ मिल्ने गरी सर्वोच्च अदालतले गरेको फैसलाबारे संसदीय समितिले अध्ययन गर्नुपर्ने प्रस्ताव गरेका थिए। उनकै प्रस्तावका आधारमा समितिले अध्ययन गर्ने निर्णय लिएको थियो।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij