प्रकाशित मिति : मङ्लबार, भदौ २४, २०७६
प्रथम जननिर्वाचित प्रधानमन्त्री एवंम् नेपाली कांग्रेसका सस्थापक नेता विश्ववेश्वर प्रशाद कोइरालाको आज १ सय ६ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइदै छ । बीपीको सम्झनामा कांग्रेसले मंगलबारदेखि दोस्रो चरणको राष्ट्रिय जागरण अभियान सुरु गर्दैछ ।
नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका बीपी १९७१ साल भदौ २४ गते जन्मिएका हुन् । राणा शासनको अन्त्य र प्रजातन्त्रको स्थापनाका लागि २००३ सालमा बीपीको नेतृत्वमा नेपाली राष्ट्रिय काँग्रेस स्थापना भएको थियो ।
२०१५ सालको आम चुनावमा कांग्रेसले दुई तिहाई बहुमत पाएपछि पहिलो जननिर्वा्चित प्रधानमन्त्री बनेका बीपीले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरे। तर उनी नेतृत्वको सरकारले २ वर्ष पनि काम गर्न नपाउँदै राजा महेन्द्रले पञ्चायती ब्यवस्था लागु गरेका थिए।
बीपीको अगुवाइमाa २००७ सालको क्रान्ति सफल भएको थियो। राणा शासनको विरोध गर्दै गरिब किसानले लगाएका लुगा राणा प्रधानमन्त्री चन्द्र शमशेरलाई पठाएपछि बुवा कृष्णप्रसाद कोइराला भारत निर्वासनमा जानुपरेका थिए।
भारतमै रहँदा उनले भारतीय स्वतन्त्रता संग्राममा पनि भाग लिए। तर, भारतमा रहेर प्रजातन्त्र पुनःस्थापनाका लागि संघर्ष गर्दा राष्ट्रियता कमजोर भएको निष्कर्षसहित उनी २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएका थिए ्र
उनले अपनाएको राष्ट्रिय मेलमिलापको नीति आज पनि मुलुकको राजनीतिमा उत्तिकै सान्दर्भिक छ। क्यान्सर रोगले बीपीको विसं २०३९ साउन ६ गते निधन भएको थियो । उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याएका छन् ।
नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन्। कोइरालाका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाई’, एवं ‘बाबु, आमा र छोरा’ गरी छ उपन्यास प्रकाशित भएका छन् ।
त्यसैगरी दुई कथा संग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’, प्रकाशित छ। वरिष्ठ अधिवक्ता गणेशराज शर्मासँगको वार्तामा आधारित ‘आत्मवृत्तान्त’, सुन्दरीजल बन्दी गृहमा बस्दाको दैनिकीमा आधारित ‘जेल जर्नल’, विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिई स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै सुन्दरीजल बन्दीगृहमा लगिएपछि लेखिएको दैनिकी ‘फेरि सुन्दरीजल’ले नेपालको तत्कालीन राजनीतिक अवस्थाको यथार्थ चित्रण गरेको छ।
प्रजातान्त्रिक समाजवादका चिन्तक एवं प्रयोक्ता कोइरालाले स्वतन्त्ररुपमा चिन्तन, आयाम, परम्परा र शैली दिएर साहित्यका माध्यमबाट नेपाली वाङ्मयलाई शिखरमा पुर्याउन योगदान दिएका थिए। प्रथम जननिर्वाचित सरकारका प्रधानमन्त्री, संसद्का सभामुख एवं मन्त्रीलाई बन्दी बनाइएको सुन्दरीजल बन्दगृहलाई विसं २०६१ भदौ २४ गते बिपी संग्रहालयका रुपमा उद्घाटन गरियो। बिपीको जीवनका महत्वपूर्ण चीजबीजको संकलन गरी दर्शनीय बनाइएको संग्रहालय विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त बनेपछि पुरातत्व विभागले पुनःनिर्माण गरिरहेको छ ।
संग्रहालयमा बिपीको जीवनका महत्वपूर्ण सामग्रीका साथै विसं २००७ को क्रान्तिमा प्रयोग गरिएको ट्यांकर, कांग्रेसले विसं २०२९ जेठ ३० गते क्रान्तिलाई खर्च जुटाउन अपहरण गरेको नेपाल वायु सेवा निगमको विमान पनि राखिएको छ। बीपी जयन्तीका अवसरमा कांग्रेस, भातृ संस्था र बिपी संग्रहालयले मुलुकभर विभिन्न कार्यक्रम गर्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। संग्रहालयमा आयोजना हुने कार्यक्रममा पुर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी हुने कार्यक्रम रहेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij