प्रकाशित मिति : आइतवार, भदौ २९, २०७६
राँझा। भन्सार छलेर नेपाल आयात गरिएका खसी इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको छ। कोहलपुरबाट पूर्वतर्फ जाँदै गरेको ना७ख ८९९८ नंको ट्रकमा गएराति करीब १२ः०० बजे कोहलपुर नगरपालिका वडा नं १२ चप्परगौडीस्थित जाँच केन्द्रमा जाँच गर्ने क्रममा ६४ खसी फेला परेका इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए।
उनका अनुसार नियन्त्रणमा लिइएका आठ हजारका दरले पाँच लाख १२ हजार बराबरका छन्। आवश्यक अनुसन्धानपश्चात् ट्रक चालक कृष्णप्रसाद पराजुलीसहित बरामद् खसीसहित भन्सार कार्यालय नेपालगञ्ज पठाइएको छ।
नेपालगञ्ज नाकाबाट भारतीय खसीबोकाको आयातमा रोक लगाएसँगै ग्रामीण क्षेत्रका नाकाबाट तस्करी बढेको छ। सरकारले भारतबाट स्वास्थ्य प्रमाणपत्र नलिइ ल्याइएका पशुपक्षी, पशु उत्पादन सामग्री तथा पशुजन्य पदार्थको क्वारेन्टाइन नगर्ने नीति कार्यान्वयन गरेपछि खसीबोका तस्करी हुन थालेको छ।
नेपालगञ्जस्थित पशु क्वारेन्टाइन चेकपोष्टले ‘क्वारेन्टाइन नगर्ने’ भएपछि व्यापारीले छोटी नाकाबाट खसीबोका तस्करी गरेर नेपालगञ्ज ल्याउने गरेको पाइएको छ।
अवैधरुपमा नेपाल ल्याइएको खसीबोका प्रहरीले दैनिकजसो पक्राउ गर्ने गरेको छ। दुई हप्ताअघि पनि भारतबाट तस्करी गरेर ल्याउँदै गरेका ३९ खसीबोका सूचनाका आधारमा खटिएको प्रहरी टोलीले राप्तीसोनारी गाउँपालिका वडा नं ४ बैजापुरबाट रु तीन लाख २० हजार बराबरका ३९ खसीबोका नियन्त्रणमा लिएको थियो।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij