प्रकाशित मिति : सोमवार, अशोज १३, २०७६
काठमाडौं। भारतले प्याजको मूल्य वृद्धि नियन्त्रण गर्न भन्दै निर्यातमा प्रतिबन्ध लगाएको छ। भारतको केन्द्र सरकारले निर्यातले गर्दा महँगी बढेको भन्दै प्रतिबन्ध लगाएको हो । भारतले प्याजमाथि प्रतिबन्ध लगाएसँगै नेपालमा प्याजको मूल्य बढ्ने संकेत देखिएको छ। नेपालमा प्याज भारतबाटै आयात हुँदै आएकोमा अब नेपालले चीनबाट पनि प्याज आयत गर्नुपर्ने अवस्था सिर्जना भएको छ।
भारतको केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्रालयले प्याजको निर्यात नीतिमा अर्को आदेश नभएसम्मका लागि प्रतिबन्ध लगाएको हो। भारतीय मिडियाहरुले सरकारको यो निर्णयले पछिल्लो समय भइरहेको प्याजको मूल्य बृद्धिमा कमी आउने बताएका छन् ।
पछिल्लो केही दिनमा भारतीय बजारमा प्रतिकेजी प्याजको मूल्य ६० देखि ८० भारुसम्म पुगेको थियो । भारतीय वाणिज्य मन्त्रालयले विदेश व्यापार महानिर्देशनालयलाई प्याजको कुनै पनि प्रकार विदेश निर्यात नगर्न निर्देशन दिएको हो ।
यस्तै भारत सरकारले प्याज बिक्री गर्नको लागि कोटा तोकेको छ । होलसेल व्यापारीको लागि बढीमा ५ सय क्विन्टल र खुद्रा व्यापारीका लागि एक सय क्विन्टल मात्रै स्टकमा राख्न पाइने व्यवस्था भारत सरकारले गरेको छ ।
भारतले नियार्तमा प्रतिवन्ध लगाएपछि नेपाली बजारमा प्याजको मूल्य बढ्न सक्ने देखिएको छ। पछिल्लो समय भारतीय बजारमा मूल्य बढ्दा नेपालमा पनि प्याजको मूल्य बढेको थियो । प्रतिबन्ध लगाएपछि भने दशैंको मुखमा प्याजनको भाउ बढ्ने संकेत देखिएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij