आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

१२ गते साँझ डेढ घण्टा कहाँ हराएका थिए महरा ?: सुरक्षाकर्मीसँग महराको बयान बाझियो

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक १५, २०७६



  • काठमाडौँ । बलात्कार प्रयासमा आरोपित निवर्तमान सभामुख कृष्णबहादुर महरा गत असोज १२ गते साँझ करिब डेढ घण्टा कहाँ थिए भन्ने गम्भीर प्रश्न उब्जिएको छ ।

    सरकारी वकिलको कार्यालयमा बयान दिँदै महराले आफू त्यसदिन पीडित महिलाको कोठामा नगएको दावी गरेका छन् । तर त्यसदिन सभामुखको सरकारी निवासबाट उनीसँगै सुविधानगर, तीनकुनेसम्म आएका सुरक्षाकर्मीले भने आफूहरुलाई उक्त क्षेत्रको भित्री गल्लीमा लगेर महरा एउटा घरमा प्रवेश गरेको र करिब डेढ घण्टापछि फर्किएको बयान दिएका छन् ।

    महराको बयान : ‘हार्ड ड्रिङ्स’ सेवन गर्दिनँ, फोन नउठेपछि घरभित्र छिरिनँ

    महराको सुरक्षार्थ त्यसदिन खटिएका नेपाली सेनाका जमदार काजीराम राना मगरले महरा तीनकुने क्षेत्रको एउटा घरमा डेढ घण्टा बसेको जनाएका छन् ।

    महराको सुरक्षार्थ प्रायःजसो क्याप्टेन आयुषमान आचार्य जाने गरेकोमा मंसिर ४ देखि १४ गतेसम्म उनी बिदामा रहेकाले त्यसदिन महराको सुरक्षार्थ आफू खटिएको जमदार काजीरामले बयानमा उल्लेख गरेका छन् । असोज १२ गते अन्दाजी बिहान १० बजेतिर महरासहित संसद भवन नयाँ बानेश्वरमा आएर त्यहाँको काम सकेर सिंहदरवार र त्यसपछि दिउँसो ४ बजेतिर सभामुख निवासमा फिर्ता आएको उनको भनाइ छ ।

    महराले पनि बयानमा त्यसदिन ३÷४ बजेको समयमा आफू सिंहदरवारस्थित कार्यालय गएको र पीडित भनिएकी महिलासँग भेट भएको स्वीकार गरेका छन् । महरा र उनका अंगरक्षक काजीमानले दिएको बयानमा सभामुखको सरकारी निवासमा फर्किएको समय र विवरण पनि मिल्दोजुल्दो छ ।

    महरा र उनका अंगरक्षक काजीरामले सभामुख निवासबाट साँझ निस्किएको र तीनकुने क्षेत्रमा आएको विवरण पनि बयानमा मिल्दोजुल्दो नै दिएका छन् ।

    दुवैको बयानमा के बाझियो ?

    महराले त्यसदिन राति करिब ७ बजे आफू पीडित महिलाको कोठा रहेको क्षेत्रमा पुगेको स्वीकार गरे पनि उनको कोठामा नगएको दावी गरेका छन् । सो क्षेत्रमा पुगेर आफूले पटक–पटक उनलाई फोन गर्दा पनि सम्पर्क हुन नसकेपछि आफू निवासमा फर्किएको विवरण महराले सरकारी वकिलसमक्ष दिएको बयानमा उल्लेख छ ।

    तर महराका अंगरक्षकले भने आफूहरुलाई छाडेर महरा करिब डेढ घण्टा बसेर एउटा घरको गेटबाट निस्किएको र त्यसपछि महरासहित आफूहरु सभामुखको सरकारी निवास फर्किएको बताएका छन् ।

    श्रीमतीले फुटाइदिएकी थिइन् महराको मोबाइल !
    यस्ता छन् महराविरुद्धको अभियोग पुष्टि गर्न प्रस्तुत सबुद प्रमाण र १५२ थान कागजात

    साँझ अन्दाजी १८ः३० बजेतिर महराले ‘एकछिन बाहिर जानु प¥यो मसँग हिड्नुहोस्’ भनेपछि आफूहरु सिल्भर रङको स्कारपियो गाडीमा सभामुख निवासबाट बाहिरिएको महराका अंगरक्षक काजीरामको भनाइ छ । ‘त्यहाँबाट निस्किदा हामी सबै सादा पोशाकमा थियौं । मैले र नेपाल प्रहरीका हवल्दार विष्णुबहादुर थापाले पेस्तोल बोकेका थियौं,’ बयानमा काजीरामले भनेका छन्, ‘हामी गैरीधारा, नक्साल, ज्ञानेश्वर, रातोपुल, गौशाला, एयरपोर्ट, हुँदै तिनकुने चोकमा पुगी उक्त चोकबाट भित्रीबाटो हुँदै भित्रतिर गएका हौं ।’

    भित्र गइसकेपछि केही पर पुगेपछि महराले गाडी रोक्न लगाएको काजीरामको भनाइ छ । उनले महरा र आफू गाडीबाट ओर्लिएको जनाउँदै अगाडि भनेका छन्, ‘गाडीबाट म ओर्लिएर सँगै जान खोज्दा मलाई तपाई जान पर्दैन, म आधा घण्टापछि आउँछु, तपाई यतै बस्नु भनेकाले म बाहिर नै बसेको हुँ ।’

    महरा र आफू ओर्लिएपछि चालकले गाडी केही पर लगेर फर्काएर आफू भएको स्थानमा ल्याएको पनि काजीरामले बयानमा उल्लेख गरेका छन् । ‘गाडी केही पर लगी फर्काएर म भएको स्थानमा ल्याई पीडित बस्ने घरको गेटभन्दा केही पर लगी रोकी म समेत प्रहरी हवल्दार विष्णुबहादुर थापा, सशस्त्र प्रहरी हवल्दार श्यामहरि आचार्य गाडीमा बसेर पर्खिरहेका थियौं,’ उनले बयानमा भनेका छन्, ‘त्यसको करिब डेढ घण्टापछि महरा गेटबाट बाहिर निस्केपछि गाडी निज भएको स्थानमा लगी रोकेकाले निज गाडीमा बसेका हुन् ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij